बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जैमिनीको नूतन अभियान

जैमिनीको नूतन अभियान


  • Dhorpatan News
  • चैत्र २३ २०७९, बिहिबार

गुरुकुलकालीन समयमा सिकाइ घोकन्ते हुन्थ्यो । यद्यपि, गुरुकुलमा रहेका शिष्यहरुले आवश्यक पर्ने दक्षता भने प्रयोगात्मक रुपले नै हासिल गर्थे । समय परिवर्तन भएको छ । शिक्षण पद्धतिमा आमूल परिवर्तन भएको छ । सूचना प्रविधिको विकासले शिक्षण विधिलाई सरल बनाइदिएको छ । सिकाइका नयाँ तरिकाहरु प्रयोगमा आएका छन् ।

नेपाल सरकारले प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्न खोजेको देखिएको छ तर यसको गति यति धीमा छ कि, सरकारी विद्यालयहरु अहिले पनि परम्परागत शिक्षण प्रणालीमै अडिएका छन् । नेपाल सरकारले २०६६/०६७ को बजेट वक्तव्यमा हरेक विद्यालयमा इन्टरनेटको सुविधा पु¥याउने घोषणा गरेको थियो । शैक्षिक विकासका दीर्घकालीन योजना, विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा विद्यालय क्षेत्र विकास योजना, शिक्षामा सूचना प्रविधि गुरुयोजना २०७०, ब्रोडव्याण्ड नीति २०७१, सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ ले शिक्षामा प्रविधिको प्रयोगलाई महत्व दिएका छन् । विद्यालयमा कम्प्युटर खरिदको लागि बजेट विनियोजन पनि गरिएकै थियो । तर, व्यवहारमा भने प्रविधिको प्रयोगबाट हामी चुकिरहेका छौँ । कतिपय ठाउँमा आवश्यक भौतिक संरचना र सामग्रीको अभाव एवं शिक्षकमा इच्छाशक्ति नहुँदा सोचेजस्तो सफलता प्राप्त नभएको हो ।

शिक्षणमा सूचना प्रविधिको प्रयोग हुनु भनेको गुरुलाई ज्ञानको हस्तान्तरणकर्ताका साथै ज्ञान आर्जन गर्न सहयोग गर्ने सहजकर्ताको भूमिका प्रदान गर्नु हो । विद्यार्थी स्वयंलाई सिकाइको प्रमुख व्यक्तित्व बनाउन सूचना प्रविधिले सहयोग नै पु¥याउँछ । तर, यो कार्य सरल छैन । पहिलो कुरा, शिक्षकहरुसँग प्रविधि उपयोगको लागि स्रोत र साधनकै अभाव छ भने दोस्रो उनीहरु स्वयंलाई पनि प्रविधि प्रयोगमा पोख्त बनाउन सकिएको छैन । विद्यालयमा भएका कम्प्युटरहरु ज्ञान आर्जनभन्दा मनोरञ्जनको लागि प्रयोग हुँदै आएका छन् । कोभिड–१९ बाट सिर्जित लकडाउनको बेला प्रविधिको प्रयोगमा व्यापकता आए पनि त्यसले विद्यार्थीहरुलाई गलत बाटो देखाएको पनि पाइएको छ । विद्यार्थीहरु यौन हिंसाको शिकार हुने तथा स्वयं अश्लिलता एवं सामाजिक सञ्जालको गलत लतमा लागेको पाइएको छ ।

शिक्षणमा प्रविधिको प्रयोग बढाउन शिक्षकहरुलाई दक्ष बनाउनु जरुरी छ । यसका लागि उनीहरुलाई स्रोत र साधनले पूर्ण बनाउनु पहिलो सर्त हो भने दक्षता अभिवृद्धि झन अपरिहार्य तत्व हो । अहिले माध्यमिक शिक्षाको दायित्व स्थानीय तहमा सरेको छ । केही पालिकाहरुले मातहतका विद्यालयहरुलाई गुणस्तरीय बनाउने प्रयत्नको थालनी पनि गरेका छन् । यही अभियानमा बागलुङको जैमिनी नगरपालिका जोडिएको छ । पालिकाले शिक्षकलाई आवश्यक पर्ने शैक्षिक सामग्री खरिदमा ऋण उपलब्ध गराउने निर्णय गरेको छ । ल्यापटपजस्ता सामग्री खरिदको लागि ऋण उपलब्ध गराउने निर्णय गरेको छ । न्यून ब्याजदरमा दिइने ऋण शिक्षकै तलबबाट बिस्तारै भुक्तानी लिइने पनि पालिकाको योजना छ । पालिकाले गरेको निर्णय स्वागतयोग्य छ । यो योजनाको सफल कार्यान्वयन देशमै नमूना बन्नेमा पनि द्धिविधा छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->