बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्लाष्टिक र सिसाजन्य बस्तुको उपयोग घटाऊँ

प्लाष्टिक र सिसाजन्य बस्तुको उपयोग घटाऊँ


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७९, आइतबार

नेपाली सेनाको एक टोली जेठो हिमाल अन्नपूर्ण सरसफाइ अभियानमा जुटेको छ । आरोहणको क्रममा हिमाली क्षेत्रमा फालिने फोहर तह लगाउन सो टोली अन्नपूर्ण पुगेको हो । सन् १९५० बाट अन्नपूर्ण आरोहरण सुरु भएको हो ।

त्यस यता, सयौं आरोहीहरु अन्नपूर्ण क्षेत्र पुगेका छन् । प्रयोगमा आइसकेका अक्सिजन,डोरी, जुत्तालगायतका सामग्रीहरु त्यतै मिल्काउँदा हिमाल ‘डम्पिङ साइट’बनेको छ । हिमाली क्षेत्रमा बढ्दो प्रदुषणले जलवायू परिवर्तनलाई सघाएको छ । मौषम र प्रकृतिको चक्रीय प्रणाली बिग्रिएको छ । फोहर व्यवस्थापन संसारकै लागि चुनौती बनेको छ ।

फोहरको पुनः प्रयोग, उचित व्यवस्थापन एवं प्लाष्टिक र सिसाजन्य बस्तुहरुको कम प्रयोग अहिलेको आवश्यकता हो । तर, दिनानुदिन प्रयोग बढ्दो छ । प्लाष्टिक र सिसाजन्य बस्तु सडेर जाँदैन । अहिले हाम्रा गाउँ–सहरहरु प्लाष्टिक र सिसा अनि नसड्ने बस्तुहरुले कुरुप बनेका छन् । पर्यटकीय गतिविधि बढी हुने हिमाली क्षेत्र पनि यो समस्याबाट अछुतो छैन ।

पदयात्रा पर्यटनको लागि ख्यातिप्राप्त अन्नपूर्ण क्षेत्र फोहरको समस्याबाट बढी पीडित छ । केही समयअघिसम्म अन्नपूर्ण क्षेत्रमा थुप्रिएका सिसाका बोत्तल र फोहर खच्चड लगाएर बेंसीतिर झारिन्थ्यो । मदिराका बोत्तलहरु पुनः प्रयोगमा पनि ल्याइन्थ्यो । तर, पछिल्लो समय बियर र मदिराका बोत्तलहरु पुनः प्रयोग गर्न छाडिएको छ । उत्पादन र उपभोग बढेको छ । जसले गर्दा सुन्दर गाउँहरु सिसाका बोत्तलको डम्पिङ साइट बनेका छन् । यो समस्या सल्टाउनको लागि सिसाका बोत्तलहरुको पुनः प्रयोग गरिनुपर्छ । बियर उत्पादक कम्पनीहरुलाई सिसाका बोत्तलहरु पुनः प्रयोग गराउन बाध्य पारिनुपर्छ ।

हिमाली क्षेत्रको पर्यावरण संरक्षण हाम्रो दायित्व हो । सिसाका बोत्तलले पालिका नै कुरुप भएपछि मुस्ताङको घरपझोङ गाउँपालिकाले बियरका बोत्तलहरु निषेध गरेको छ । घरपझोङले बियरका बोत्तलहरु व्यवस्थापन गर्ने प्रयास नगरेको हैन । तर, ती बोत्तलहरु पुनः प्रयोगमा ल्याउने अवस्था नदेखेपछि बाध्य भएर बोत्तल नै निषेध गर्नुपरेको पालिकाको भनाइ छ ।

पालिकाले जे गरेको छ, ठीक गरेको छ । पालिकाको यो निर्णयले बियर उत्पादक कम्पनीहरुलाई दवाव परेको छ भने प्रदुषणबाट बस्ती बचाउनुपर्छ भन्ने सन्देश पनि प्रवाहित भएको छ । हिमाल पारिको जिल्लाबाट सुरु भएको यो अभियान देशव्यापी बनोस् । गाउँगाउँमा बियर र मदिराका बोत्तलहरु यत्रतत्र फाल्ने प्रवृत्ति निरुत्साहित होस् । प्लाष्टिक र सिसाजन्य बस्तुहरु पर्यावरणका लागि घातक छन् । यी बस्तुहरुको उपयोग घटाउन निषेधात्मकसहित सचेतनामूलक कार्यक्रम पनि सँगै अगाडि बढाउनेतर्फ पनि अब ध्यान दिऔँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->