गएको मंसिर २५ गते एमाले नेता खगराज अधिकारी नेतृत्वमा गठन भएको गण्डकी सरकार धर्खराएको छ । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यो सरकारको दिनगन्ती सुरु भएको हो । संविधान अनुसार मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र अर्थात् वैशाख १० गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । वर्तमान सत्ता गठबन्धनसँग अहिलेकै अवस्था रहेसम्म आवश्यक बहुमत पुग्दैन ।
बहुमत सिद्ध नहुँदा सत्ता छाड्नु स्वभाविक हो । मानशिक रुपमा वर्तमान मुख्यमन्त्री अधिकारी त्यसको लागि तयार नै देखिएका छन् । सरकार रहिञ्जेलसम्म नियमित काम सम्पादन हुनैपर्छ । सरकार प्रमुखको रुपमा मुख्यमन्त्रीबाट सम्पादित कार्यहरुलाई त्यही रुपमा बुझ्नुपर्छ । तर, सत्ता छाड्दै छु भन्ने जानकारी हुँदाहुँदै अवाञ्छित तरिकाले लाभ लिने कामलाई भने सही मान्न सकिँदैन । संघीय मन्त्री भइसकेका तथा संसदीय राजनीतिमा खारिएका मुख्यमन्त्री खगराजले सत्ता छाड्ने मनसुवा देखाइसकेका छन् । सत्ता छाडे पनि उनी गण्डकी प्रदेशसभामा सशक्त प्रतिपक्षको रुपमा हुने नै छन् । सरकार जुन पार्टीका नेताको बने पनि २२ सांसदसहित प्रमुख प्रतिपक्ष दलको नेतालाई विश्वासमा लिनुपर्छ भन्ने भुल्न हुँदैन ।
पछिल्लो समय संघ तथा प्रदेश सरकारहरु अंक गणितीय चक्रब्यूहमा परेका छन् । संघीय राजनीतिको बाछिटाले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । अघिल्लो कार्यकालदेखि सुरु भएको यो प्रवृत्ति अन्त्य हुने छाँट छैन । एउटैको बहुमत नहुँदा सहमतिमै सरकार बनाउने हो, सहमतिमै सदन चलाउने हो । यो सत्यलाई सबै दलहरुले स्वीकार्नुपर्छ । जनताका आकांक्षा र प्रदेशका आवश्यकताका योजनाहरुमा तेरो–मेरोको भावना राख्नु हुँदैन । हिजोको जस्तो मेरो गोरुको बाह्रै टक्का भन्ने प्रवृत्तिले प्रदेश सरकार र संसदलाई प्रभावकारी बनाउँदैन । अतः सहमतिको विकल्प छैन । सहमतिको लागि प्रतिपक्षभन्दा सत्तापक्ष नै बढी लचिलो हुनुपर्छ ।
प्रतिपक्षले दोषको लागि दोष देखाउने काम छाड्नुपर्छ । सरकारलाई खबरदारी गर्ने र आवश्यक पर्दा नेतृत्वको लागि तयार रहनु प्रतिपक्षको धर्म हो । त्यो भूमिका प्रभावकारी बनाउनेतर्फ एमालेले तयारी थाल्नुपर्छ । नेतृत्व लिन तम्सेको कांग्रेस र सत्ता साझेदार माओवादीले विपक्षलाई विश्वासमा लिने पहलकदमीमा ढिला गर्नु हुँदेन । दन्तबझान गर्दै लोक हसाउने, जनताको मन दुखाउने र प्रदेश संरचनालाई नै बदनाम गराउने कार्यबाट सत्ता र प्रतिपक्ष टाढै बस्नुपर्छ । यही कृत्यले मात्र संघीयताको जरा बलियो हुन्छ ।
