बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सांसदको अडियो प्रकरण र नेपाली राजनीति

सांसदको अडियो प्रकरण र नेपाली राजनीति


  • Dhorpatan News
  • चैत्र २८ २०७९, मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठ घुस काण्डमा मुछिएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भएसँगै समानुपातिकतर्फबाट सांसद बनेका कास्कीका यी नेता चर्चामा छन् । उनको सांसद पद धरापमा परेको छ भने पैसा मागेको घटना सार्वजनिक हुँदा वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) नेतृत्वमाथि नै औंला उठाइएको छ ।

ढाकाकुमारले अडियोमा पार्टी नेतृत्वले पैसा मागेको र भनेजति पैसा दिए आफू स्वास्थ्यमन्त्री हुने बताएका छन् । उनको आरोप पार्टी नेतृत्वले स्वीकारेको त छैन तर यो प्रकरणले नेपाली राजनीतिको विद्र्ुप पाटोको पुनः पटाक्षेप गरेको छ । चिनियाँ व्यापारीबाट रकम मागिएकोदेखि ७० करोड घुस मागिएका काण्डहरु जनताले पुनः स्मरण गरेका छन् ।

रास्वपाले उनीसँग २४ घण्टे स्पष्टीकरण सोध्नुलाई तथा संसदमा यो प्रकरणले प्रवेश पाउनु स्वभाविक प्रक्रिया हो । सांसदहरुले यो प्रकरणको छानबिन हुनुपर्ने माग गरेका छन् । संसदमा उठेको विषयको निरुपण हुनुपर्छ । झारा टार्ने काम गरिनुहुँदैन । संसदमा यो प्रकरण उठान भइरहँदा यसअघि भएका यस्तै काण्ड तथा नेपाली राजनीतिमा फैलिएको विकृतिबारे गम्भीर बन्नैपर्छ । राजनीति विकृत बन्दै गएकोमा जनता निराश भएका छन् । भ्रष्टाचार र विकृतिका घटनाहरु बाहिर आउँदा यो वा त्यो बहाना बनाउँदै त्यस्ता व्यक्तिलाई उन्मुक्ति दिँदा जनतामा आक्रोश पैदा भएको छ ।

त्यही आक्रोशलाई आशामा रुपान्तरण गर्ने सर्तसहित राजनीतिमा आएको रास्वपा पनि अछुतो नहुँदाको अवस्थाले जनतामा झन निराशा थपेको छ । वैकल्पिक शक्ति बन्ने लक्ष्यसहित मैदानमा उत्रिएको पार्टीले भनाइ र गराइमा एकरुपता ल्याउनुपर्छ । अन्य दललाई खबरदारी गर्नेले पहिले आफू राम्रो भएको प्रमाणित गर्नुपर्छ । रास्वपामाथि अहिले प्रश्नहरु बर्सिएका छन् । त्यसको टालटुले उत्तर दिएर पुग्दैन ।

उसले अनुसन्धानका लागि सबै ढोकाहरु खुला राख्नुपर्छ । गलत गर्नेलाई कारबाही गर्नुपर्छ र नेतृत्व गलत प्रमाणित भए नेतृत्वबाटै च्यूत हुने हिम्मत राख्नुपर्छ । यो प्रकरणलाई सामान्य तरिकाले निरुपण गरियो भने देशमा भ्रष्टाचार मौलाउने, दण्डहीनता बढ्ने र विकृतिले राज गर्ने निश्चित छ । अतः यो प्रकरणलाई अख्तियार, सरकार,सदन र रास्वपा स्वयंले पनि गम्भीरतापूर्वक लिनुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->