पृथ्वी राजमार्गको स्तरोन्नतिको काम चलिरहेको छ । खासगरी मुग्लिनदेखि पोखरासम्मको करिब ८४ किलोमिटर सडकलाई ४ लेनको बनाउने जिम्मेवारी दुई चिनियाँ कम्पनीले पाएका छन् । मुग्लिनदेखि तनहुँको जामुनेसम्मको ४१ किलोमिटर पूर्वी खण्डको लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन र पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्मको जिम्मेवारी चीनकै यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रसनले प्राप्त गरेको छ ।
यी दुबै सडक खण्डको काम २०८१ साल वैशाख र भदौसम्म सक्ने गरी ठेक्का सम्झौता गरिएको हो । तर, हालसम्म पूर्वी खण्डको २० प्रतिशत र पश्चिम खण्डको ७ प्रतिशत काम पनि पूरा भएको छैन । सडक स्तरोन्नतिको काम भइरहँदा सो सडक धुलाम्मे भएको छ भने यात्रुहरु समयमा नै गन्तव्यमा पुग्न सकेका छैनन् । पृथ्वी राजमार्ग पोखरा र गण्डकी प्रदेशको ‘लाइफ लाइन’ हो । यो सडकले पोखरालाई संघीय राजधानी काठमाडौ ं र देशका अन्य सहरसँग जोड्छ । सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग दुबैमा स्तरोन्नतिको काम चलिरहँदा सडक यात्रा लम्बिएको छ, ढुवानीको लागत बढेको छ ।
सडककै अवस्थाका कारण पोखरा आउने पर्यटकहरु घटेका छन् । पोखराका पर्यटन व्यवसायीहरुले प्रधानमन्त्री, अर्थमन्त्री तथा पर्यटनमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । नेपालको निर्माण क्षेत्र साह्रै कमजोर छ । यहँ भनेको बेला निर्माण कार्य सकिँदैन । एउटै परियोजना सक्न वर्षौं लगाउने रोगबाट मुक्ति खोजे पनि सम्भव भएको छैन । कहिले ठेकेदार त कहिले नीतिगत झन्झटका कारण परियोजनाहरु समयमै नसकिएका हुन् । पृथ्वी राजमार्गमा पनि केही नीतिगत समस्या देखिएका छन् । सडकमा भएका बिजुलीका पोलहरु समयमा हटाउन नसक्नु, मुआब्जा वितरणमा ढिलो हुनु तथा निर्माणमा प्रयोग हुने गिट्टी–बालुवाको अभावजस्ता कारणले निर्माणले गति नलिएको ठेकेदार कम्पनीको जिकिर छ । यता, सरकारले भने समस्या समाधान भइसकेको भन्दै निर्माण कम्पनीलाई समयमा काम सक्न तोकेता गरिरहेको छ ।
एसियाली विकास बैंकको तर्फबाट १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र नेपाल सरकारको ५ अर्ब ९० करोडको लागतमा निर्माणाधीन सडक समयमै सम्पन्न गरिनुपर्छ । निर्माण कम्पनीलाई काममा सहजीकरण गर्दै समयमा सक्नको लागि दवाब सिर्जना हुनैपर्छ । समस्या सल्टाउनको लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत छन सोन,एसियाली विकास बैंकका प्रमुख,पालिका प्रमुख, सडक विभागका अधिकारीसहितको टोलीले सडकको निरीक्षण गरेको छ । सरोकारवाला पक्षसँग सम्वाद गरेको छ । यो संवाद उपलब्धीपूर्ण बनोस् । स्तरोन्नतिका कारण अस्तव्यस्त र अव्यवस्थित बनेको राजमार्गलाई सुरक्षित र सुन्दर बनाइयोस् ।
