बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पदयात्रा पर्यटन जोगाऔं

पदयात्रा पर्यटन जोगाऔं


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०८०, मंगलबार

मञ्जुश्री, जापानी भिक्षु इकाइ कावागुची, टोनी हागनले दिएको योगदानलाई स्मरण गरिरहँदा नेपालको पर्यटनको इतिहास लामो छैन । राणाकालीन समयमा पनि विदेशी पर्यटक नेपाल नआएका हैनन् तर नियन्त्रित क्षेत्र भएकाले सामान्य पर्यटकले भने त्यो बेला प्रवेश पाएनन् । सन् १९५० को जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस ल्याचनलले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको सफल आरोहण गरे ।

विश्वकै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहास रचेका मौरिस हर्जोगले अन्नपूर्ण भन्ने पुस्तक नै लेखे । सो पुस्तक विश्वविख्यात बन्दा फाइदा नेपाललाई भयो । त्यसको तीन वर्षपछि सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथको सफल आरोहण गरेका थिए ।

सगरमाथाको आरोहणपछि नेपालको चर्चा अझ बढ्यो । अर्कोतर्फ त्यो बेला बिटल्स गायक जोन लेनन र जर्ज ह्यारिसन असाध्यै चर्चित थिए । उनलाई युवाहरु देवता नै मान्थे । उनै लेनन र ह्यारिसन भारतीय महान संगीतकार रविशंकरका चेला बने । जसका कारण बिटल्स पच्छ्याउने हिप्पीहरु अफगानिस्तान हुँदै भारतसम्म आइपुगे । भारत आएकाहरु चिसो र गाँजा खोज्दै नेपाल पसे । नेपालमा त्यो बेलासम्म गाँजा वैधानिक नै थियो ।

मोक्षको खोजीमा रहेका हिप्पीहरुका कारण एकातिर नेपाल पर्यटकीय केन्द्र बन्यो भने, अर्कोतर्फ ८ हजार मिटरभन्दा अग्ला हिमालका कारण यो आरोहण चाहनेहरुको केन्द्र बन्न पुग्यो । त्यही उपक्रममा बोरिस लिसानोभिचले नेपालमा रोयल होटल खोले र उनले पर्यटकलाई प्याकेज बेच्न थाले । यो १९५७ तिरको कुरा हो । जिम एडवर्डको टाइगर टप्स होटलको स्थापनासँगै बेच्न थालिएको जंगल सफारी तथा जिम कोमम्यानले संचालनमा ल्याएको हन्टिङ प्याकेजले पनि नेपालको पर्यटन उद्योगलाई विशेष योगदान दियो ।

सन् १९५५ मा नेपालको पहिलो गुरुयोजना बन्यो । त्यसमा पर्यटन उद्योगको सम्भावनाबारे उल्लेख गरिएको थियो । १९५७ मा पर्यटन विकास बोर्ड र १९५९ मा पर्यटन विभाग बनाएको नेपालले त्यसको एक वर्षअघि तत्कालीन शाही नेपाल वायु ुसेवा निगमको स्थापना गरेको थियो । पर्यटन ऐन भने सन् १९७८ मा मात्र बनाइएको थियो । त्यसअघि नेपालमा पदयात्रा पर्यटन सुरु भइसकेको थियो । नेपालमा आएका कुटनीतिक कर्मचारी तथा विदेशीहरुले खोलेका ट्राभल कम्पनीहरुले नेपालको पदयात्रा प्याकेज बेच्न थालिसकेका थिए ।

सन् १९७७ मा अन्नपूर्ण पदयात्रा मार्ग खुला गरियो । त्यसले गण्डकी क्षेत्रलाई संसारमै चिनाउने काम ग¥यो । अन्नपूर्ण पदयात्रा मार्ग अहिले पनि विश्वको चर्चित र उत्कृष्ट पदयात्रामा गनिन्छ । तर,मोटर बाटोको निर्माणले यसको दूरी खुम्चिएको छ । वैकल्पिक पदयात्रा मार्ग बनाउन नसक्दा घुम्न आउनेहरु निराश हुने गरेका छन् । एक पटक हैन, पटक–पटक आउनेहरुले गुनासो गर्दा पनि हामीले सुनको अण्डा दिने पदयात्रा मार्ग जोगाउनेतर्फ रत्ति काम गर्न सकेका छैनौँ । जसले गर्दा नेपालको पदयात्रा पर्यटन नै जोखिममा पर्ने सम्भावना छ । देशमा तीन तहका सरकार छन् । पदयात्रा पर्यटन नेपालको पहाडी–हिमाली पर्यटनको मेरुदण्ड हो । यसको संरक्षण गर्न ढिला भइसकेको छ । बेलैमा होस पु¥याऔं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->