विद्यालय वरपर मदिरा तथा सूर्तिजन्य पदार्थको बिक्री वितरण निषेध छ । तर, व्यवहारमा त्यसको विपरीत छ । विद्यालय क्षेत्र वरपर मदिरा र सूर्तिजन्य बस्तुहरुको निर्वाध बिक्रीले कलिला नानीबाबु्हरु कुलतमा फस्ने जोखिम बढेको छ । मदिरा सेवन गरी होहल्ला र झगडा गर्ने कृत्य पनि दिनहुँ भइरहेको छ । पछिल्लो समय किशोर किशोरीहरु कुलतमा फस्ने क्रम बढेको छ । हुक्का सेवनलाई सामाजिक प्रतिष्ठाको विषय बनाउन थालिएको छ । मानव स्वास्थ्यमा असर गर्ने यस्ता बस्तुहरु सेवन गर्नु हुँदैन भन्ने चेतना हुनेहरुले पनि लापवाही गरिरहेका छन् । विषाक्त मदिराकै कारण नेपालका वर्षेनी सयौंले ज्यान गुमाउँछन् । लाउँलाउँ–खाउँखाउँ उमेरका उनीहरुको मृत्युले एकपटक पुनः नेपालमा हुने निर्वाध मदिरा बिक्री र यसले निम्त्याएका व्यक्तिगत, सामाजिक क्षति, हिंसाको चर्चा चुलिएको छ ।
तथ्याङ्कलाई नै आधार मान्ने हो भने, विश्वमा मदिराकै कारण प्रत्येक १० सेकेण्डमा एकजना र हरेक वर्ष ३३ लाख मान्छेले ज्यान गुमाउँछन् । असाध्य रोग बोक्नेहरुको तथ्याङ्क त झन डरलाग्दो छ । मदिराकै कारण घट्ने अपराध, हिंसा एवं सामाजिक विसंगति रोक्न प्रहरी–प्रशासनलाई नै हम्मे परेको अवस्था छ । मदिरा कुनैपनि कोणबाट सही पेय पदार्थ हैन । मान्छेलाई अहंकारी बनाउने, एकैछिन मनोरञ्जन दिएजस्तो गर्ने मदिराको लतमा परेपछि छुटाउन गाह्रो हुन्छ । अन्ततः मान्छे मदिराको दाश बन्छ र मृत्युको प्यारो हुन्छ । तर, नेपालमा मदिराविरुद्धको अभियान प्रभावकारी छैन । नेपालमा धार्मिक र सांस्कृतिक परम्परामा मदिरा प्रयोग गरिन्छ । धर्म र संस्कृतिसँग जोेडिएकाले घरेलु मदिरालाई निषेध गर्न अप्ठेरो छ तर भएका प्रयासहरु पनि प्रभावहीन देखिएका छन् । यही परिपेक्ष्यमा पोखरा महानगरपालिकाले विद्यालय वरपर मदिरा र सूर्तिजन्य पदार्थको बिक्रीमा रोक लगाउने निर्णय सार्वजनिक गरेको छ । शैक्षिक क्षेत्र सुधार कार्यक्रममा यो बुँदा पनि समेटिएको हो ।
यहाँ अस्पतालको ढोकामै, औषधि पसलको बगलमै निर्वाध मदिरा किन्न सकिन्छ । मदिरा किनबेचको लागि लगाएको उमेर हद कागजमा मात्रै सीमित । यसले गर्दा जो कोहीले पनि मदिरा किन्न र सेवन राखिनु हुँदैन । मदिराका खास कुनै गुण नै छैनन् । मान्छेलाई बेहोस बनाउने मदिराकै कारण हिंसा, हत्या, बलात्कारका घटनाका अनगिन्तीश्रृंखला,मान्छेको स्वास्थ्यमा पार्ने प्रभाव नेपालमा साह्रै डरलाग्दो छ । मदिराबाट मुक्तिको लागि व्यक्ति आफै सचेत हुनु जरुरी छ । यसका लागि सरकारले सचेतनामूलक कार्यक्रमहरुमा विशेष जोड दिनुपर्छ । मदिराविरुद्ध निर्माण भएका कानूनहरुलाई व्यवहारमा लागु गरिनुपर्छ । हो, संसारभर निश्चित ठाउँमा मदिरा सेवन र बिक्री गर्न पाइन्छ । मदिराले राजश्वमा योगदान पनि गर्छ । लुकेर खानेभन्दा देखाएरै गुणस्तरीय मदिरा सेवन गर्दा कम क्षति पनि होला । तर, ती मापदण्डहरु कार्यान्वयनमा आउनैपर्छ । पैसा आउँछ भन्दैमा सबै कुरालाई छुट दिने भुल राज्यबाट गरिनु हुँदैन । मदिराविरुद्ध राज्य कठोर हुनुपर्छ । मदिरामाथि कडाइ गरिरहँदा गुणस्तरहीन मदिराको उत्पादन र बिक्रीमा चाहिँ राज्य अझ कठोर बन्नुपर्छ । त्यस्ता उत्पादक र बितरकलाई कारबाही गर्ने मामिलामा कुनै कञ्जुस्याइँ गर्नु हुँदैन । यसो भनिरहँदा, व्यक्ति स्वयंले पनि मदिरामा मन फुकाउनु हुँदैन ।
