बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुशासन र समृद्धिको कारक बनोस् लोकतन्त्र

सुशासन र समृद्धिको कारक बनोस् लोकतन्त्र


  • Dhorpatan News
  • बैशाख १२ २०८०, मंगलबार

१७ औं लोकतन्त्र दिवसको स्मरण भइरहँदा नागरिकको ध्यान देशका तीनवटा निर्वाचन क्षेत्रमा सम्पन्न उपनिर्वाचनको परिणाममाथि सोहोरिएको छ । तनहुँ क्षेत्र नम्बर १ तथा बारा र चितवन क्षेत्र नम्बर २ को मत परिणामले संसदीय अंकगणितमा खासै प्रभाव पार्दैन ।तर, ती निर्वाचन क्षेत्रको मत परिणामको रुझानले आम नागरिकको आकांक्षा भने प्रतिबिम्बित गर्छ । १७ वर्षअघि १९ दिने लामो आन्दोलनले लोकतन्त्रको स्थापना गरेको थियो । बन्दुकसँग लडेर जनताले राजालाई झुकाएका थिए र आफ्नै मर्जीले चल्ने लोकतन्त्र पुनःस्थापित गरेका थिए । जनता आफ्नै मर्जीले चल्न खोज्छन् । ज्यादति र दमनले केही समय उनीहरुलाई रोक्न सकिन्छ, मुख टाल्न सकिन्छ तर अनन्तकालसम्म जनता चुप लागेर बस्दैनन् भन्ने सन्देश २०६३ को वैशाख ११ ले दिएको थियो ।

राजाको हातबाट सत्ता खोस्न त्यो बेला मुल धारका भनिएका राजनीतिक दल तथा सशस्त्र युद्ध गरिरहेको माओवादी एउटै कित्तामा उभिएका थिए । नागरिकहरुले उनीहरुको मिलनलाई रुचाएका थिए । दलहरुका गतिविधिबाट त्यो बेला पनि जनता निराश थिए तर उनीहरुले नागरिक समाजसामु सुध्रिने बाचा गरेका थिए । जनताकै अभिमत अनुसार समुन्नत समाज निर्माण गर्ने उनीहरुको बाचालाई जनताले पत्याइदिए । दलहरुको आन्दोलनलाई साथ दिए र प्राणको आहूति दिए ।

त्यसकै वलमा लोकतन्त्र र पछि गणतन्त्र स्थापित भयो । जनताले आफूलाई जनार्दन ठाने पनि राजनीतिक दलका नेताहरुबाट भने विपरीत व्यवहार भयो । नेताहरुले आफूलाई नै सर्वेसर्वा ठाने । बितेका १७ वर्षमा उनीहरु सुध्रिएनन् । बरु, एकपछि अर्को गल्ति गर्दै गए । जसका कारण नागरिकहरुले सोचेजस्तो लोकतन्त्र आउनै सकेन । देशले समृद्धिको मार्ग पहिल्याउनु त परको कुरा विधिको शासनको मामिलामा पनि दलहरु निकब्मा सावित भए । नाममात्रको लोकतन्त्रले जनआकांक्षा पूरा गर्न नसक्नुमा सबैभन्दा बढी नेताहरु नै दोषी देखिए ।

व्यवस्था फेरिएकै थियो, लामो सशस्त्र द्वन्द्वको अन्त्य भएकै थियो,देशले संविधानसभामार्फत् संविधान पनि पाएपछिका दिनहरुलाई आर्थिक समृद्धिमै लगाइनुपथ्र्यो । जनताको दैनन्दिन जीवनमा परिवर्तनका उज्याला किरणले चियाउनुपथ्र्यो । तर, त्यसो भएन, सीमित व्यक्तिले लाभ लिने प्रवृत्ति हाबी हुँदा जनता निराश बने । विदेशिनुको बाध्यतामा रहेका नागरिकहरु असाध्यै निराश देखिएका छन् । जनता निराश हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । लोकतन्त्र प्राप्तिपछिको १७ वर्ष पुग्दा देखिएको यही निराशा जनताले गएको संसदीय निर्वाचन र यो उपनिर्वाचनमार्फत् अभिव्यक्त गरिरहेका छन् । लोकतन्त्रको विकल्प छैन । १७ औं लोकतन्त्र दिवस मनाइरहँदा सुशासन र भुइँमान्छेले अनुभूत हुने गरी आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नुको विकल्प छैन । नेता नसच्चिए जनताले विकल्प खोज्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->