बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जिम्मेवार दल बनोस्–रास्वपा

जिम्मेवार दल बनोस्–रास्वपा


  • Dhorpatan News
  • बैशाख १३ २०८०, बुधबार

जेठ १० गते सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)ले पाएको सफलताले मुख्य राजनीतिक दलहरुलाई झस्काएको छ । चितवन २ र तनहुँ १ मा रास्वपाका उम्मेदवारहरुलाई जनताले अपार माया गरिदिए । गोप्य मतदानमार्फत् जनताले प्रतिस्पर्धााम उत्रिएका उम्मेदवार र उनीहरु संलग्न पार्टीलाई गतिलै झापड लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानाजान गरेको गल्तीका कारण चितवन २ मा पुनः निर्वाचन भएको हो ।

तनहुँमा चाहिँ विजेता रामचन्द्र पौडेल राष्ट्रपति चुनिएपछि उपनिर्वाचन गरिएको हो । चितवनका जनताले रविकै कारण उपनिर्वाचन भएको कुरालाई खासै महत्व दिएनन् । यता, तनहुँमा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेमाथि विपक्षीले लगाएका आरोपहरुमा पनि उनीहरुले सत्यता देखेनन् । रास्वपाले समग्रमा उपनिर्वाचनमार्फत् संसदमा एक सिट बढाएको छ । २१ जना सांसद संख्या सानो हैन । सत्ताको गणितमा यो संख्याले विशेष महत्व राख्ने स्वभाविक हो तर एक सिट बढ्दैमा आकास खस्ने चाहिँ पक्कै हैन । उता, एक सिट गुमाउँदैमा कांग्रेसको पनि सबै बिग्रिहालेको छैन । तर, यो उपनिर्वाचनले ठूला भनाउँदा राजनीतिक दलहरुलाई भने ठूलै धक्का दिएको छ ।

नेपालको राजनीति जालझेलपूर्ण रहेकोमा दुईमत छैन । वर्षौंदेखि सत्तामा रहेकाहरुले आफ्ना वरपरकालाई पोसेका मात्रै छैनन्, समाजमै भ्रष्टहरुको एउटा वर्ग तयार पारिदिएका छन् । लोकतन्त्रमा सामान्य मूल्य र मान्यता बिर्सेर उनीहरुबाट भएका कृत्यहरुको जवाफ जनताले मतमार्फत् अभिव्यक्त गरेका छन् । अहिलेको परिणामलाई गम्भीरतापूर्वक नलिए आउँदो चुनाव झन कठीन हुने सन्देश प्रवाह गरेका छन् ।

पुराना दलहरुसँग सच्चिने समय छ । तर,जनताले भरोसा गरेको रास्वपामाथि झन बढी दायित्व थपिएको छ । रास्वपालाई सुशासन, सदाचार र सेवा प्रवाहको मामिलामा बहाना बनाउने छुट छैन । जुन मुद्दा उठाएर जनताको मन जितेको हो, ती मुद्दाहरु सदनमा उठाउने, सरकार वा सत्तालाई खबरदारी गर्ने दायित्व रास्वपाले पूरा गर्नैपर्छ । राजनीतिमा धैर्यता र शालीनता महत्वपूर्ण हुन्छ । रास्वपाका अध्यक्ष रवि लामिछानेसँग अपार जनसमर्थन छ तर उनलाई उत्तेजित हुने वा जनमतलाई दुरुपयोग गर्ने अधिकार छैन । कथनी र करनीमा फरक हुनासाथ पार्टीके स्वरुप ग्रहण गर्न लागेको रास्वपा बरवाद हुन्छ भन्ने उनले मनन गर्नुपर्छ । अर्कोतर्फ, आफ्नो लोकप्रियतामा अडेको रास्वपालाई उनले सामूहिक र पारदर्शी निर्णय प्रक्रिया अवलम्बन गर्ने पार्टीमा रुपान्तरण गर्न सक्नुपर्छ ।

राजनीतिक दर्शनले पार्टीहरु परिचालित हुने हुन् । लोकरिझ्याइँ र आक्रोशपूर्ण अभिव्यक्तिबाट पर रहनु जिम्मेवार राजनीतिक पार्टीको चरित्र हो । रविको दोस्रो संसद यात्रा यसमानेमा खुकुरीको धारमाथिको यात्रा हो । उनी यो यात्रामा खरो सावित हुनुपर्छ । वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता देखेका जनतालाई निराश बनाउँदा पार्टी तासको पत्ताका घरजस्तै गल्र्याम्म ढल्नसक्छ भन्ने बिर्सनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->