बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतमा ८ हजार सवारीलाई कारबाही

पर्वतमा ८ हजार सवारीलाई कारबाही


  • संजय रेग्मी
  • बैशाख १४ २०८०, बिहिबार

पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले नौ महिनाको अवधिमा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झण्डै ६० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि चैत महिनासम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीहरुलाई गरिएको कारबाहीबाट उक्त राजश्व सङ्कलन भएको हो । बजार क्षेत्र, ग्रामिण क्षेत्र र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा गरिएक नियमित तथा छड्के अनुगमनका क्रममा सवारीको अवस्था ठीक नभएका, कागजात नमिलेका, ट्राफिक नियम उल्लङ्घन गरेका लगायतबाट ५९ लाख ९८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

नौ महिनामा सबैभन्दा बढी कारबाहीमा पर्ने सवारीहरु जीप तथा कार रहेका छन् । चार हजार एक सय छ ओटा कार तथा जीपलाई गरिएको कारबाहीबाट ३३ लाख ८० हजार रुपैयाँ सङ्कलन भएको छ । यस्तै एक हजार दुई सय ३६ वटा ट्रक र ट्रिपरमाथि गरिएको कारबाहीबाट आठ लाख १९ हजार पाँच सय, पाँच सय ९२ वटा बसबाट तीन लाख ७७ हजार पाँच सय, चार सय ४९ वटा ट्रयाक्टरबाट दुई लाख ८६ हजार, एक हजार पाँच सय १३ मोटरसाइकल तथा स्कुटरबाट ११ लाख ३१ हजार पाँच सय र अन्य चार ओटा कारबाहीबाट तीन हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ ।

महिनागत रुपमा हेर्दा गत चैत महिनामा सबैभन्दा धेरै सवारीहरु कारबाहीमा परेका छन् । यो महिनामा एक सय ६४ वटा ट्रक र ट्रिपर, ७२ बस, सात सय ५६ वटा कार तथा जीप, ८५ ओटा ट्रयाक्टर र दुई सय २१ ओटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । चैतमा मात्रै १२ लाख ८८ हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ । सबैभन्दा कम गत साउन महिनामा पाँच लाख १० हजार पाँच सय रुपैयाँ सङ्कलन भएको छ । यो महिनामा एक सय ४४ ट्रक तथा ट्रिपर, ५२ ओटा बस, तीन सय एक वटा कार तथा जीप, ३० ओटा ट्रयाक्टर र एक सय ४३ ओटा मोटरसाइकलमाथि कारबाही भएको छ ।

यस्तै भदौमा आठ सय ५० ओटा सवारीबाट पाँच लाख ९१ हजार, असोजमा एक हजार कारबाहीबाट छ लाख ९४ हजार पाँच सय, कात्र्तिकमा एक हजार कारबाहीबाट सात लाख ७० हजार, मंसिरमा छ सय कारबाहीबाट तीन लाख ८८ हजार पाँच सय, पुसमा नौ सय कारबाहीबाट छ लाख १९ हजार, माघमा आठ सय कारबाहीबाट पाँच लाख ५० हजार र फागुनमा सात सय ५० वटा कारबाहीबाट पाँच लाख ८६ हजार रुपैयाँ उठेको छ ।

पछिल्लो तीन वर्षको राजश्व सङ्कलनको अवस्थालाई हेर्ने हो भने सबैभन्दा बढी राजश्व सङ्कलन हुने आर्थिक वर्ष २०७९÷०८० नै बन्ने निश्चित भएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा नौ हजार नौ सय सवारीमाथि भएको कारबाहीबाट ६२ लाख ५४ हजार पाँच सय, २०७७÷०७८ मा पाँच हजार पाँच सय तीन सवारीमाथि गरिएको कारबाहीबाट ३५ लाख सात हजार र २०७६÷०७७ मा छ हजार तीन सात सवारीमाथि गरिएको कारबाहीबाट ३६ लाख ३९ हजार पाँच सय रुपैयाँ राजश्व उठेको थियो । गत आर्थिक वर्षको १२ महिनामा उठेको राजश्व भन्दा चालु आर्थिक वर्षको नौ महिनामा उठेको राजश्य दुई लाख रुपैयाँले मात्रै कम भएकोले १२ महिनामा अघिल्लो आर्थिक वर्षको भन्दा बढी राजश्व उठ्ने देखिएको छ ।

प्रहरी नायव निरीक्षक निउरेका अनुसार पर्वत ट्राफिकले पछिल्लो समयमा प्रयोजन विपरीत चल्ने सरकारी सवारी, रातो ‘नम्बर प्लेट’ लिएर पनि सार्वजनिक सवारीको जस्तै व्यापार गरिरहेका सवारी साधन, मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरु तथा बजार क्षेत्रमा ट्राफिक नियम माने पनि ग्रामिण क्षेत्रमा प्रवेश गरेपछि नियममा लापरबाही गर्ने सवारीहरुमाथि बढी निगरानी गरिएको छ ।

‘बिदाको दिनमा पनि सरकारी नम्बर प्लेटका सवारीहरू सञ्चालन अनुमति नलिइकन सञ्चालन गरेको पाइएमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबाही गरेर सम्बन्धित कार्यालयलाई जिम्मा दिने गरेका छौँ । रातो नम्बर प्लेटका निजी सवारी साधनहरूले प्रयोजन विपरीत सार्वजनिक यातायातको जस्तै भाडामा सवारी सञ्चालन गर्दै आएकाहरू पनि हाम्रो निगरानीमा छन् र त्यस्ता सवारी साधनलाई पनि नियमानुसार अधिकतम कारबाही गरेका छौँ । फलस्वरूप राजश्वमा समेत वृद्धि भएको छ’, ट्राफिक प्रहरी प्रमुख निउरे भन्छन्, ‘हामीले ग्रामीण क्षेत्रमा पनि छड्के अनुगम गरिरहेका छौँ । मध्यपहाडी लोकमार्गमा चल्ने तथा यही बाटो हुँदै पर्यटकीय क्षेत्र मुस्ताङ जानेहरूलाई पनि राम्रोसँग जाँच गर्ने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->