आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । सन् १८८६ मा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन,आठ घण्टा आराम’नारासहित सुरु भएको यो दिवस मूलतः मजदुरहरुको हक–हितसँग जोडिन्छ । सन् १८९० देखि अंग्रेजी पात्राको मे एकमा यो दिवस मनाइन्छ । नेपालमा विराटनगरको मजदुर आन्दोलनपछि यो दिवस मनाउन थालिएको हो । आफ्नो अधिकार सुनिश्चितताको लागि सरकार र रोजगारदातालाई दवाब दिने विभिन्न कार्यक्रमहरु आयोजना गर्दै मजदुरहरु यो दिवस मनाउँछन् ।
नेपालमा औपचारिक र अनौपचारिक क्षेत्रमा गरी लाखौंको संख्यामा श्रमिकहरु रहेका छन् । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा १० वर्षभन्दा माथिका २ करोड ३९ लाख ८६८ जनामध्ये १ करोड ४९ लाख ८३ हजार ३१० जनाले कुनै न कुनै काम गरेको देखिन्छ । ३७ं५ प्रतिशत नागरिकले आर्थिक उपार्जन हुने कुनै काम नै नगरको पनि प्रतिवेदनमा उल्लेख छ ।
तीमध्ये पनि १ करोड २ लाख ७० हजार ४७० जना अक्सर रोजगार रहेका छन् । कृषि, वन र माछापालन क्षेत्रमा ५७.३ प्रतिशत व्यक्तिले काम पाएका छन् । यसपछि क्रमशः थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरुमा १२.५ प्रतिशत, निर्माणमा ८.१ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापहरुमा ३.९ प्रतिशत, औद्योगिक उत्पादनमा ३.८ प्रतिशत जनसंख्या संलग्न रहेका छन् ।
३.६१ दश वर्ष वा सोभन्दा बढीे उमेरका आर्थिक काम गरेका कुल पुरुष जनसंख्या मध्ये कृषि, वन र माछापालन क्षेत्रमा ५०.६ प्रतिशत, थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरुमा १२.१ प्रतिशत, निर्माणमा १०.५ प्रतिशत, औद्योगिक उत्पादनमा ५.१ प्रतिशत, यातायात तथा भण्डारणमा ४.१ प्रतिशत संलग्न रहेका छन् । यी सबै मजदुरको परिभाषाभित्र अटाउनेहरु हुन् ।
मजदुरहरुको अधिकारको लागि नेपालमा श्रम ऐन २०७४ कार्यान्वयनमा छ । श्रम ऐनले मजदुरको हक–अधिकार तथा उनीहरुले पाउने सुविधाबारे किटान गरेको छ । संगठित क्षेत्रमा काम गर्नेहरुले त्यो अधिकार उपयोग गरेका पनि छन् । तर, अझै पनि अनौपचारिका क्षेत्रमा काम गर्ने मजदुरहरुले आफ्नो अधिकार पाएका छैनन् ।
अनौपचारिक श्रम बजारमा काम गर्नेहरुको हक हितको लागि सरकारले सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याएको छ तर अझै पनि मजदुरहरुले त्यो अधिकार उपयोग गर्न पाएका छैनन् । सस्तो श्रम बेच्न बाध्य तथा कार्यस्थलमा हुने अपमानबाट मजदुरहरुले मुक्ति पाएका छैनन् । श्रमिकहरु दास हैनन् । उनीहरु उत्पादनका साधन हुन् । मजदुरको श्रमबाटै उत्पादकत्व बढ्ने हो । रोजागारदाताले यो तथ्यलाई मनन गर्नु आवश्यक छ ।
मैले काम दिएको छु र उनीहरु मेरो कामदार हुन् भन्ने मानसिकताबाट माथि उठेर मजुदरलाई सम्मान गर्नु रोजगारदाताको कर्तव्य हो । मजदुरहरुले पनि आफ्नो कार्यावधिभित्र इमान्दारीपूर्वक कर्तव्य निभाउनुपर्छ ।
साहुको काम,कहिले जाला घाम भन्ने मानसिकताबाट ऊ मुक्त रहनुपर्छ । अधिकारको पैरवी गरिरहँदा आफ्नो जिम्मेवारी के हो भन्ने मनन गर्नु उसको कर्तव्य हो भने मजुदरको वर्तमान र भविष्यको सुनिश्चिता गराउनु रोजागारदाताको दायित्व हो ।
पछिल्लो समय श्रम क्षेत्र शान्त नै छ । विवादका विषयहरु बाहिर आएका छैनन् । यो खुसीको कुरा हो । रोजगारदाताबाट श्रमिकलाई अधिकार पनि दिने र काम पनि लिने हो भने विवाद आउँदैन । नेपालको श्रम क्षेत्र यही मान्यताबाट निर्देशित हुनुपर्छ ।
