नेपालले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । मंगलबार भएको एसीसी प्रिमियर लिगको फाइनलमा युएईलाई हराउँदै नेपाली क्रिकेट टोलीले एसिया कपमा क्रिकेटमा महारथी मानिएका भारत,पाकिस्तानलगायतका देशहरुसँगको भेट पक्का गरेको छ । एसिया कप हुने÷नहुनेबारे अन्यौल नै किन नहोस् ’ नेपाली खेलाडीहरुको आत्मविश्वास, मिहिनेत र खेलप्रतिको लगावकै कारण यो नतिजा सम्भव भएको हो । सीमित स्रोत र साधनका बाबजुद क्रिकेटमा जीवन अर्पण गरेका खेलाडीहरुलाई यो यो ऐतिहासिक उपलब्धीको श्रेय दिनैपर्छ ।
क्रिकेटमात्र हैन, समग्र खेलकुद क्षेत्र राज्यबाट हेपिएको छ । पूर्वाधार अभाव एकातिर छ भने खेलाडीहरुको भविष्य सुरक्षित छैन । खेलकै लागि जीवन अर्पेकाहरुको बुढेसकाल दुखद भएको पनि कसैबाट छिपेको छैन । खेलकुदले देश जोड्छ । देशलाई सम्मान दिलाउँछ, पहिचान बढाउँछ । नेपाली क्रिकेट टिम नै हेर्ने हो भने पनि यसले देशको सवै जातजाति र भेगको प्रतिनिधित्व गर्छ । नेपाली क्रिकेट टिम विविधतायुक्त नेपालको ऐना हो । एसीसी प्रिमियर लिगमा पाएको सफलतासँगै संसारभरका क्रिकेटप्रेमीहरुले नेपालको चर्चा गरेका छन् । करोडौं रुपैयाँ खर्चेर पनि यस्तो चर्चा सम्भव हुँदैन । क्रिक्रेटमा जे सफलता प्राप्त भएको छ, त्यसलाई कायम राख्ने चुनौती नेपालमाथि थपिएको छ । खेलाडीहरुको मिहिनेत स्तूत्य छ तर उनीहरुलाई राज्यले उचित सम्मान गर्नैपर्छ । खेल जितेसँगै
सरकारलेविजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ । पुरस्कृत गरिनु राम्रो हो तर एकपटकको पुरस्कारभन्दा पनि क्रिकेटप्रतिको आकर्षण कायम राख्नेतर्फ सोच्नुपर्छ । तल्लो स्तरसम्म क्रिकेटलाई पु¥याउन सकिएन भने नयाँ खेलाडी उत्पादन सम्भव हुँदैन भन्ने बुझ्नुपर्छ । नेपालमा घरेलु प्रतियोगिताहरु स्तरीय छैनन् । प्रतियोगिताहरुलाई नियमित र स्तरीय बनाउनुपर्छ । यसका साथै पूर्वाधार निर्माणतर्फ पनि उत्तिकै ध्यान दिनुपर्छ । रुखमा चढेर,खुला चौरमा बसेर क्रिकेट हेर्नुपर्ने बाध्यता अन्त्यको लागि स्तरीय रंगशाला निर्माण गरिनुपछृ । सरकारले आउँदो बजेटमा कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने घोषण गरेको छ । घोषणा हुने तर काम नहुने प्रवृत्ति अन्त्य गरिनुपर्छ । तबमात्र क्रिकेटमा थप सफलता सम्भव हुन्छ ।
