जमाना सामाजिक सञ्जालको छ । हरेक व्यक्ति मनमा लागेका कुरा अभिव्यक्त गर्न स्वतन्त्र छ र उसलाई अभिव्यक्तिको अनेकौं माध्यम उपलब्ध छन् । बहस सिर्जना गराउने र जनमत बुझ्ने अवसर पनि सामाजिक सञ्जालले उपलब्ध गराएको छ । सामाजिक सञ्जाल जीवनको अपरिहार्य अंग बनिरहँदा सदुपयोग र दुरुपयोग दुबै भइरहेको छ ।
सामाजिक सञ्जालकै माध्यमबाट कतिपय रचनात्मक काम भएका छन् भने कहिलेकाहिँ यसले समस्या निम्त्याएको छ । समाज विभाजित बनाउने र गलत हल्ला फैलाउने काम भएको छ । प्रविधिबाट मान्छेलाई अलग्याउन सकिँदैन । प्रविधिको भरपुर उपयोग गरिनुपर्छ तर दुरुपयोगलाई भने निरुत्साहित र नियमन गरिनुपर्छ ।
सामाजिक सञ्जालले दिएको अवसरले जीवन लयबद्द बनाइदिएको छ । सूचनाले दैनन्दिन जीवनलाइृ सहज बनाउँछ । विचार निर्माणमा सघाउँछ अनि असल र खराब पर्गेल्ने क्षमताको विकास गराउँछ । आफन्तसँगको दूरी छोट्याउँदै सम्बन्ध बिस्तार सहज बनाउने यो माध्यमलाई दुरुपयोग भने गरिनु हुँदैन । तर, पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले समस्या बढाउँदै गएको छ ।
अपरिचित व्यक्तिसँग सम्बन्ध कायम गर्ने, सञ्जालको प्रयोगमार्फत् आपराधिक क्रियाकलाप गर्ने एवं किशोरी र महिलाहरुमाथि यौनजन्य कुकर्म गर्नेजस्ता घटनाहरुमा बढोत्तरी हुँदै गएको छ । सामाजिक सञ्जाल ‘लत’ बनिदिँदा व्यक्तिको जीवन नै यान्त्रिक बनेको छ । पारिवारीक सद्भाव र स्नेह हराउँदै गएको छ । परिवारमा आत्मियता हराउनु भनेको बिखण्डन निम्त्याउनु हो । गलत संस्कारको दास बनाएको छ । गलत कुरा पटक–पटक हेरिरहँदा त्यही सत्य हो भन्ने मान्यता स्थापित गराइदिएको छ ।
भ्रामक समाचारहरु डढेलो जसरी फैलिँदाको दुष्परिणाम झन डरलाग्दो छ । सोसल मिडियाको दुरुपयोग गर्दै आफ्नो दुनो सोझ्याउनेहरुले समाजलाई गलत दिशामा लैजाने प्रयत्न गरिरहेका छन् । यी र यावत प्रवृत्तिका बाबजुद पनि सोसल मिडियाहरुको महत्व बढ्दो छ । दुरुपयोगमात्रै रोक्न सकियो भने यसले प्रचुर फाइदा दिएको छ । नागरिकहरुलाई मुखरित बनाएको छ । मुखरित हुनु भनेको ज्ञान प्राप्तिको बाटो अबलम्बन गर्नु हो । ज्ञान प्राप्तिले असल र खराब छुट्टयाउँदै जीवन सहज बनाउन सघाउँछ । सामाजिक सञ्जालमा मुखरित पुस्ताले यसको महत्व बुझ्नुपर्छ । दुरुपयोग गर्नेहरुसँग सावधान रहँदै रचनात्मक प्रयोग गर्नेतर्फ अग्रसर बन्नुपर्छ ।
