बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

राजनीतिक नेतृत्व नचुकोस् !

राजनीतिक नेतृत्व नचुकोस् !


  • Dhorpatan News
  • बैशाख २८ २०८०, बिहिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । बुधबार पक्राउ परेका खाँणलाई ४ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । आरोपबाट उनी दोषी भए/नभएको प्रमाणित होला तर खाँणको पक्राउले नेपालको राजनीतिक नेतृत्वको भ्रष्ट आचरणलाई भने सतहमा ल्याइदिएको छ । खाँण पक्राउ परे पनि अर्का उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अहिलेसम्म फरार छन् ।

आरोपी रायमाझी फरार भएसँगै एमालेले उनलाई निलम्बन गरेको छ । भुटानी शरणार्थी प्रकरणको लहरो तान्दै गर्दा पहरो अर्थात् उच्च राजनीतिक नेतृत्वसम्म पुग्ने आशंका गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी डा. आरजू राणाको नामसमेत यो प्रकरणसँग जोडिएको छ । प्रहरीले अनुसन्धान अगाडि बढाउँदै गर्दा पानी बाराबारको अवस्थामा रहेका शीर्ष नेतृत्वबीचको भेटघाट झाँगिएको छ । उनीहरुको भेटघाटबाट कतै यो प्रकरण यसै सामसुम पारिने त हैन भन्ने आशंकालाई वल मिलेको छ । सांसदहरुको दोषीलाई उन्मुक्ति दिन नहुने माग तगा नागरिकको तर्फबाट कारबाहीको माग गर्दै दवाब त सिर्जना गरिए पनि उन्मुक्तिका आशंकाहरु गाढा हुँदै गइरहेका छन् । भला,प्रधानमन्त्री र गृहमन्त्री एवं राजनीतिक दलका शीर्ष नेताहरुबाट यो प्रकरणमा हस्तक्षेप नहुने सार्वजनिक अभिव्यक्ति आएकै किन नहोस् !

भुटानी शरणार्थीहरुले शिविरमा लामो दुःख र हण्डर खाए । तेस्रो देश पुनस्र्थापनाको लागि भएको अन्तर्राष्ट्रिय सहयोगपछि धेरै भुटानी नागरिकहरु अर्को देशमा गइसकेका छन् । केही शरणार्थी छुटेका छन् भने केहीले नेपालमै बस्ने इच्छा जाहेर गरेका छन् । शरणार्थीलाई जसले पुनस्र्थापनामा सघाएका छन्, ती देशहरुको सदाशयताप्रति नेपाल सरकार अनुगृहित हुनुपथ्र्यो । शीर्ष नेतृत्वले छुटेका शरणार्थीहरुको उचित प्रबन्धबारे सोच्नुपथ्र्यो । तर, यहाँ त उल्टो भइदियो ।

अनागरिक बनेका भुटानीहरुको नाममा आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने जघन्य अपराधमा नेताहरु संलग्न भइदिए । बिचौलियासँग मोटो रकम लिएर उनीहरुले राज्यको कानूनको उलंघनमात्रै गरेनन्, अन्तर्राष्ट्रियस्तरमै नेपालको छवि धुमिल बनाइदिए । योभन्दा जघन्य अपराध के हुनुसक्छ ? यस्तालाई सामान्य सजायले मात्र पुग्दैन । राज्यविरुद्धको अपराध गरेकाहरुलाई यो वा त्यो बहानामा क्षमा दिन सकिँदैन र मिल्दैन । नेताहरुको कर्तुतका पर्दाहरु बिस्तारै खुल्दैछन् ।

राजनीतिक नेतृत्वले खराब व्यक्तिलाई संरक्षण नगरोस् । प्रहरीले अनुसन्धानमा खुट्टा नकमाओस् । यो प्रकरण अन्तर्राष्ट्रियकरण भइसकेको छ । शक्तिराष्ट्रहरुले चासो राखिरहेको विषयमा अनावश्यक हस्तक्षेप भयो भने अब नागरिक चुप लागेर बस्दैनन् । खराब व्यक्ति तेरो वा मेरो हुन सक्दैन । गल्ती जसले गरे पनि सजाय पाउनैपर्छ । राजनीतिक नेतृत्व यो प्रकरणमा नचुकोस् । दूधको दूध, पानीको पानी हुने वातावरण निर्माणमा सघाओस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->