गण्डकी प्रदेशका ११ वटै जिल्लामा संचालित ट्राफिक सप्ताहको आज समापन हुँदैछ । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको सहकार्यमा यो अभियान संचालनमा आएको हो । सडक अनुशासन एवं दुर्घटना न्यूनीकरणको लागि आयोजित सप्ताहव्यापी अभियानअन्तर्गत विविध गतिविधि भएका छन् । र, यही सप्ताहकै बीचमा पोखरामा जेब्राक्रसबाट सडक पार गर्न लागेकी एक महिलाको क्रेनको ठक्करबाट निधन भएको छ । जेब्राक्रस बटुवाको लागि हो । जेब्राक्रसमा बटुवालाई ठक्कर दिनु गम्भीर अपराध हो । चालक जिम्मेवार भएको भए, सायद त्यो दुर्घना हुने थिएन । सचेतनामूलक कार्यक्रमको प्रभावकारिता फरक कुरा हो तर सडक सुरक्षा र ट्राफिक नियमको पालना अनिवार्य सर्त हो ।
नेपालमा वर्षेनी सडक दुर्घटनामा परी हजारौँको निधन हुने गरेको छ । दुर्घटनामा अंगभंग हुनेहरुको संख्या त्यत्ति नै ठूलो छ । दुर्घटनाको मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु नै हो भन्ने पुष्टि भइसकेको छ । लेन मिच्नु, तीव्र गति,ट्राफिक संकेतको अपहेलना, मादक पदार्थ सेवन एवं लामो दूरीका चालकहरुको हकमा पर्याप्त आरामको अभावले पनि दुर्घटना हुने गरेका छन् । दुर्घटना कम गर्न सकिन्छ । यसको लागि ट्राफिक नियमको पालना जरुरी हुन्छ । नेपालमा पछिल्लो समय साना र निजी सवारी साधनको संख्या बढ्दै गएको छ । उनीहरुबाट बढी लापर्वाहीपूर्ण व्यवहार हुने गरेको छ । ट्राफिक नियम चालक स्वयंकै लागि हो । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालकसँग एक मिनेट,सडक सुरक्षाबारे सचेतना कार्यक्रम,दण्ड–जरिवाना,सडक सुधारलगायतका कार्यक्रम पनि गर्दै आएको छ । दण्ड जरिवानाले हैन, चालक स्वयंको विवेक र आत्म अनुशासनले दुर्घटनामा कमी आउने हो ।
दुर्घटनामा प्राविधिक कारण पनि हुन्छन् । अतः सवारी साधनलाई चुस्त दुरुस्त राखिनुपर्छ । अर्कोतर्फ, नेपालका सडकहरु सुरक्षित छैनन् । साँघुरा र कच्ची सडकमा दुर्घटनाको जोखिम बढी हुन्छ । खाल्डाखुल्डी र भत्केको सडकको मर्मत नहुनु, आवश्यक ट्राफिक चिन्हहरु नराखिनु,सडक बत्ति नहुनुले पनि जोखिम बढाएकै छ । सहरी क्षेत्रमा सवारी चापले दुर्घटना बढेको छ भने ग्रामीण सडकहरु झन ज्यानमारा बनेका छन् । प्राविधिकको सल्लाहविना आफूख्ुसी डोजर अगाडि लगाएर सडक बनाइएकाले यो समस्या आएको हो । सरकारले ग्रामीण क्षेत्रमा खनिएका त्यस्ता सडकमा अनुगमन बढाउनुपर्छ । ट्राफिक प्रहरी एक्लैले केही गर्न सक्दैन । यसको लागि नागरिक–ट्राफिक प्रहरी र सरकारबीच सहकार्य हुनैपर्छ ।
