बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

२०२५ सालको एसएलसीको सम्झना गर्दै विद्यालयमा अक्षयकोष

२०२५ सालको एसएलसीको सम्झना गर्दै विद्यालयमा अक्षयकोष


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८०, बुधबार

पर्वत/ पर्वत सदरमुकाम कुश्मा बजारका एक जना समाजसेवी पुरुषोत्तम गिरीले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा कुश्माकै एक विद्यालयमा दुई लाख बढीको अक्षयकोष स्थापना गरेका छन् ।

२०२५ सालमा विद्यालयले एस.एल.सी.को पहिलो ‘ब्याच’ निस्किएको र त्यो ‘ब्याच’ को सदस्य आफू पनि रहेको सम्झनामा बुबा लक्षुमन गिरीको नाममा पुरुषोत्तमले दुई लाख २१ हजार राशिको अक्षयकोष स्थापना गरेका हुन् । आफू शिक्षा क्षेत्रको विषयमा सधैँ चिन्तित रहने गरेको र आर्थिक समस्यामा रहेका बालबालिकाहरूले भोग्ने समस्याका बारेमा जानकार रहेकाले विद्यालयमा नै अक्षयकोष स्थापना गरेको उनको पुरुषोत्तमले बताए ।

अध्ययनमा जेहेन्दार हुँदा हुँदै पनि गरिबी, असक्तता वा अन्य कारणले समस्या भइरहेका बिद्यार्थीहरुको अध्ययनमा सघाउने गरी ‘लक्षुमन स्मृति कोष’ स्थापना गरेर अक्षयकोष निर्माण गरेको उनको भनाई छ । ‘५५ वर्ष पहिले सोही विद्यालयबाट एस.एल.सी.को पहिलो ब्याचको रूपमा परीक्षा पास गरेर निस्किएको हो । शिक्षा क्षेत्रको धेरै माया लाग्छ । त्यसमा पनि त्यो जमानामा एस.एल.सी. पास आउट गराएको विद्यालयका माया नलाग्ने त कुरै भएन’, गिरीले भने, ‘सामाजिक सहयोगका लागि अन्य शीर्षकहरू नभएका पनि होइनन् । तर शिक्षा क्षेत्रमा गरेको सहयोगबाट मिल्ने पुण्य अरू सहयोगबाट मिल्दैन। एउटा विद्यार्थीले थोरै मात्रै सहयोग पाउँदा उसको अध्ययनले भविष्य नै उज्यालो बनाउँछ ।’

आफूले गरेको सहयोगले धेरै बिद्यार्थीहरुलाई एकै पटक सहयोग गर्न मिल्ने भएकाले स्वर्गीय बुबाको दिवङ्गत आत्माले शान्ति पाउने गिरीको भनाई छ । आफूले जीवनमा भूमि सुधारमा केही समय अस्थायी जागिर खाएको भए पनि विद्यार्थीलाई सघाउन मन लागेकाले अक्षयकोष स्थापना गरेको उनले बताए ।

विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलका अनुसार कक्षा १२ सम्म सञ्चालित विद्यालयको जुनसुकै कक्षामा अध्ययन गर्ने विद्यार्थीले अक्षयकोषबाट पुरस्कार वा आर्थिक सहायता प्राप्त गर्ने छन् । कोष सञ्चालनका लागि कार्यविधि निर्माण गरेर मापदण्ड तयार पारिने र त्यसमा छनोट हुन आउने विद्यार्थीलाई सहयोग गरिने उनको भनाई छ । गरिब, असाह्य र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वा आर्थिक सहयोग गर्ने गरी दाताले सहयोग गरेकोले सोही अनुसारको कार्यविधि बनाइने पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->