बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कुश्मा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगर घोषित

कुश्मा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगर घोषित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८०, शनिबार

पर्वत/ जिल्लाको कुश्मा नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगर’ घोषणा गरिएको छ ।
जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरूलाई विभिन्न रोगबाट बचाउन नौ प्रकारका खोपहरू लगाएको सुनिश्चित भएपछि नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर’ घोषणा गरिएको हो । शुक्रबार आयोजित घोषणा कार्यक्रममा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पूर्ण खोप सुनिश्चित सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् ।

घोषणापछि बोल्दै उनले कुश्मा नगरपालिकाभित्रका बालबालिकाहरू रोगबाट जोगिने अपेक्षा रहेको बताए । घोषणाले मात्रै सबै कुराको प्राप्ति नहुने भन्दै उनले आगामी दिनमा जन्मिने सबै बालबालिकालाई खोप लगाउन अभिभावकले ध्यान दिन अनुरोध गरे । नेपालको संविधानबाट नै आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरिएकोले लक्षित वर्गलाई खोपको सुनिश्चित गर्न जरुरी रहेको नगरप्रमुख जोशीको भनाई छ ।

‘जन्मेपछि १५ महिना उमेर पुगेका बालबालिकाहरूलाई विभिन्न १३ प्रकारका रोगहरूबाट बचाउन तथा सुरक्षित राख्न विभिन्न नौ प्रकारका खोपहरू लगाउनुपर्छ । हामीले नगरभित्र रहेका ती सबै बालबालिकाहरूलाई खोप लगाइसकेका छौँ’, उनले भने, ‘तर खोप लागाइहाल्दैमा उनीहरू पूर्ण रूपमा सुरक्षित छन् वा अब रोग नै लाग्दैन भनेको होइन । उनीहरूको स्वास्थ्य उत्तिकै ख्याल गर्नुपर्नेछ । तर, निर्धारित समयमा लक्षित बालबालिकाहरूले खोप पनि स्वास्थ्यको अधिकार हो । त्यो पूरा पनि भएको छ ।’

उपप्रमुख स्वस्थानी रिजालले खोप जीवनकै महत्त्वपूर्ण विषय रहेको बताइन् । कोभिडको त्रासलाई खोपका कारण समाधान गर्न सकिएको भन्दै उनले बालबालिकालाई लगाउने खोपले पनि सुरक्षा प्रदान गर्ने उल्लेख गरिन् । खोप सुनिश्चितताको लागि स्वास्थ्यकर्मीको भूमिकाको प्रशंसनीय रहेको उनको भनाई छ । सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीले बालबालिकाले खोप पाउनुपर्ने नैसर्गिक अधिकार भएकोले बालबालिकालाई खोजिखोजी खोप लगाउन स्वास्थ्यकर्मीहरूलाई अनुरोध गरे ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता घोषणा अभियानमा खटिएका स्वास्थ्यकर्मी र वडा खोप समन्वय समितिका अध्यक्ष एवं वडाध्यक्षलाई सम्मान पत्रले सम्मान गरिएको छ । कुश्मा नगरपालिकाका १४ ओटा वडाका ३६ वटा खोप केन्द्र र ३८ वटा खोप सेसनबाट प्रत्येक महिना खोप सेवा प्रदान हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->