राजा महेन्द्रको हिउँदे दरवारको रुपमा परिचित रत्नमन्दिर सर्वसाधारणको लागि खुला हुने भएको छ । राजतन्त्रको अन्त्यपछि नेपाल ट्रष्ट मातहत रहेको सो दरबार भव्य छैन तर राजतन्त्रको इतिहास जोडिएको छ ।
राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा फेवातालको किनारमा रहेको रत्नमन्दिर निर्माण गरेका हुन् । उनी हिउँदमा पोखरा आउँदा ताल किनारको त्यही दरबारमा बस्थे । ‘जनता’सँग संवाद गर्थे । कविता–गीत सुन्थे । विदेशी पाहुना र नेपालकै प्रधानमन्त्री बीपीलाई पनि उनले दरबारमा आतिथ्यता प्रदान गरेका थिए । त्यसलाई राजा वीरेन्द्रले पनि निरन्तरता दिए । तर, उनको वंश नाश भयो । वंश नाशसँगै उनकै भाइ ज्ञानेन्द्र सत्तामा आए । तर, उनी आफ्नै कारणले सत्ताबाट बाहिरिन बाध्य मात्र भएनन्, उनीको बहिर्गमनसँगै देशमा राजतन्त्रको अन्त्य भयो । राज परिवारले चर्चेको जग्गा त्यसपछि नेपाल सरकारमातहत आइपुग्यो । नेपाल ट्रष्टको नाममा आएको नारायणहिटीदेखि रत्नमन्दिरसम्म सर्वसाधारणको लागि खुल्ला गर्नुपर्ने आवाज उठ्यो ।
तर, नारायणहिटी खुल्न पनि समय लाग्यो । फेवा किनारमा रहेको रत्नमन्दिर पनि खुल्ला गर्नुपर्ने र एउटा पर्यटकीय गन्तव्य बढाउने आवाज उठ्यो । पर्यटन व्यवसायीहरुले पटक–पटक आवाज उठाए पनि कार्यान्वयन आउन समय लाग्यो । कतिसम्म भने दरबारलाई होटल बनाउनेसम्मका हल्ला बाहिर आए । स्थानीयले दवाब दिए । त्यो प्रकरण रोकियो । आउँदो जेठ १५ अर्थात् गणतन्त्र दिवसकै अवसरमा रत्नमन्दिर सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ । रत्नमन्दिर खुल्दा पोखरामा एउटा पर्यटकीय गन्तव्य बढ्छ ।
यसले पोखरामा पर्यटकको बसाइ लम्ब्याउँछ । अर्थतन्त्रमा थप योगदान दिन्छ । दरबार आफैंमा पर्यटकीय गन्तव्य हो । अहिले सेनाको सुरक्षामा रहेको दरबार खुल्ला गरिएपछि पनि त्यसको उचित संरक्षण गरिनैपर्छ । पर्यटकलाई भुलाउने, दरबारको कथा भन्नसक्ने सिटी टुर गाइडहरुमार्फत् ब्राण्डिङ गरिनुपर्छ । महत्वपूर्ण कुरा त्यसको व्यापारिकीकरण हुनुहुँदैन । यो विशुद्ध पर्यटकीय गन्तव्य नै रहनुपर्छ ।
