नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहका नाइकेहरुले यो प्रकरणमा शीर्ष राजनीतिक नेतृत्वको संलग्नताको जिकिर गरेका छन् । जसले गर्दा यो प्रकरणको जालो ‘माथि’सम्मै छ भन्ने सर्वसाधारणको अनुमानमा बल पुगेको छ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीसहितका नेताहरु पक्राउ परेका छन् । भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालदेखि उच्च पदस्थ सरकारी कर्मचारीसमेतको संलग्नतमा नागरिकलाई अनागरिक बनाउने प्रपञ्चमा मुछिएका छन् ।
उनीहरुमध्ये केहीले संलग्नता स्वीकारेका छन् भने केहीले इन्कार गरेका छन् । उनीहरुले प्रहरीलाई दिएको बयानलाई आधार मान्दा यो प्रकरणमा शीर्ष नेतृत्वको संलग्नताबारे मिहिन अनुसन्धान जरुरी रहेको पुष्टि भएको छ । अनुसन्धान गर्ने निकायका प्रम्ुखले नै एक करोड लिएको बयान आउँदा औंला उनीप्रति सोझिएको मात्र छैन, हाम्रा संवैधानिक आयोगहरु कति मक्किसकेछन् भन्दै औंला टोक्नुपर्ने अवस्था आएको छ ।
नेपाली नागरिकलाई अनागरिक बनाउने धन्दा गैरकानूनीमात्र हैन, राज्यविरुद्धको अपराध हो । यो प्रकरणले विदेशमा बस्ने नेपालीको शिर निहुरिएको छ । राष्ट्रको बदनाम भएको छ । आपराधिक मनोवृत्तिको घाँटी राजनीतिक नेतृत्वसँग कसरी जोडिँदो रहेछ र पैसाको लागि हाम्रा नेताहरु कतिसम्म तल गिर्न सक्दा रहेछन् भन्ने छर्लङ्ग भएको छ । अभियुक्तहरुको बयान आइरहेको छ । उनीहरुको बयानले यो प्रकरणलाई सामान्य रुपमा लिन नहुने प्रष्ट छ । अनुसन्धानमा जुटेको प्रहरीले अभियुक्तको बयानकै आधारमा अब संलग्नहरुको उपल्लो जालोसम्म पुग्ने हिम्मत देखाउनुपर्छ ।
डामिएका नेताहरुलाई जोगाउने प्रपञ्च हुनुहुँदैन । पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीका निजी सचिवहरु आफैंले रकम लिने हिम्मत गर्दैनन् । आफ्ना ख्वामितले टाउको नहल्याउँदासम्म उनीहरुले पैसा लिनै सक्दैनन् । यो सत्यलाई प्रहरीले मनन गर्नैपर्छ । ठूला माछा जोगाउने र सानालाई दण्ड दिएर उम्काउने प्रपञ्च गरिनुहुँदैन । भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलै हिम्मत देखाएका छन् । उनीहरुले अव खुट्टा कमाउन मिल्दैन ।
जनताबाट वाहवाही बटुलेका नेताहरुले यो वा त्यो बहानामा अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च रच्नु हुँदैन । बाह्र हातको टाँगोले पनि नछुने गरी सेटिङ मिलाउने प्रपञ्चको अन्त्य गर्ने यो सुअवसरलाई हातबाट फुस्काइयो भने देश डरलाग्दो भ्रष्टाचारको भँडखालोमा भासिन्छ । त्यो बेला उत्पन्न हुने जनआक्रोशलाई थाम्न सकिँदैन । जनआक्रोशको हावाले कसैलाई बाँकी राख्दैन । प्रधानमन्त्रीले यो हेक्का राख्नैपर्छ । समयले नायक बन्ने अवसर प्रदान गरेको छ । प्रधानमन्त्रीले मनन गर्नैपर्छ ।
