बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष कुलबहादुर बिकलाई आजभोलि आलु भित्राउन भ्याईनभ्याई छ । उनी बिहानबेलुका बारीमा लगाएको आलु उकेर्छन्, दिनभरी वडा कार्यालयबाट जनताको काम गर्छन् ।
उनी जस्तै वडाका किसानले बारीमा लगाएको बर्खे आलुको फसल लिने बेला भएको छ । धम्जाका किसान आलुको व्यवसायीक खेती गर्छन् । यहाँको आलु स्थानीय र बाह्य बजारमा लोकप्रिय छ । हिउँदमा बारीमा आलु लगाउने र बर्खामा कोदो, मकै लगाउने किसानको परम्परा हो । तर आजभोली किसानको परम्परा फेरिएको छ ।
आलु निकालेपछि मकै र कोदोले भरिने बारी आजभोली नगदेबालीले भरिन्छन् । चिसो मौसम भएकाले यहाँ खाद्यान्न बाली ढिलो पाक्छ । दुई खेती उब्जाउन कठीन हुने बारीमा नगदेबाली खेती थालेपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।
‘पहिले बारीमा आलुपछि मकै लगाइन्थ्यो, अहिले त बन्दाका बिरुवा तयार भएका छन्, सिमीको बीउ किनेर राखिएको छ,’ वडाध्यक्ष कुलबहादुर बिकले भने ‘अहिले लगाएको बन्दा असोजमा तयार हुन्छ, बजार मूल्य राम्रो पाउँछ ।’ असोजमा बन्दा र सिमीको फसल लिएपछि पुनः आलु लगाउन बारी तयार हुने उनले बताए ।
यहाँका किसानले आलु साटेर खाद्यान्नको जोहो गर्थे । आजभोली आलुको बिक्रीबाट हुने आम्दानीने घर खर्च चल्छ । सिमी र बन्दा, काउलीको बिक्रीबाट हुने आम्दानीले खाद्यान्न पुग्छ । ‘हामीले नगदेबाली लगाउन थालेपछि आम्दानी हुन थालेको छ,’ किसान ज्ञानकुमार छन्त्यालले भने‘असिनाले बेला बेला सताउँछ तर मकै, कोदो लगाउँदाभन्दा नगदेबाली लगाउँदा लगानी र आम्दानीमा धेरै फरक परेको छ ।’
वडा कार्यालयले ‘एक घर एक टनेल’ कार्यक्रम सञ्चालन गरेको छ । टनेलमा गरिने खेतीले किसानलाई थप सहयोग गरिरहेको छन्त्याल बताउँछन् । वडाले हालसम्म १९७ टनेल अनुदानमा उपलव्ध गराएको छ । चालु आर्थिक बर्षमा मात्रै ८२ वटा टनेल वितरण गरिएको वडाध्यक्ष बिकले बताए ।
असिना प्रभावित क्षेत्र भएकाले धम्जामा ‘हाइटेक नेट जाली’को परीक्षण गर्न लागिएको उनले बताए । यो परीक्षण सफल भएमा किसानको बाली जोगाउन थप सहयोगी बन्ने छ । कृषि क्षेत्रमा आएको परिवर्तनबाट वडाध्यक्ष बिक प्रभावित छन् । उनी आफू पनि कृषि उत्पादनमा लागेका छन् भने वडाबासीलाई पनि कृषिमा प्रोत्साहन गर्ने गरेका छन् ।





