पोखरा/ जलविद्युत उत्पादनसँग गण्डकीको प्रदेशको दीगो विकासको लक्ष्य जोडिएकोमा एक कार्यक्रमका वक्ताहरु सहमत भएका छन् । उनीहरुले उर्जाको विकासले मात्र समृद्धि प्राप्त हुने भएकाले चालु आयोजनालाई समयमै सम्पन्न हुने वातावरण मिलाउन तथा थप आयोजना संचलान गर्न पनि उनीहरुले सुझाएका छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ( इप्पान) नेपाल र अन्तर्राष्ट्रिय वित्त आयोगको आयोजनामा बिहीबार पोखरामा आयोजित गण्डकी प्रदेशको दीगो विकासको लागि उर्जा विषयक अन्तरक्रियामा बोल्दै उनीहरुले सो धारणा राखेका हुन् ।
गण्डकीको उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, उद्योग, पर्यटन,वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापासहित सांसदहरु सहभागी कार्यक्रममा विज्ञ तथा व्यवसायीहरुले उर्जा उत्पादनमा देखिएका समस्याबारे विस्तृत चर्चा गरेका थिए । इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन इप्पान गण्डकीका संयोजक जगत पोखरेलले गरेका थिए ।





