बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

राँगा उपहार र हाम्रा नेताको चेतनास्तर

राँगा उपहार र हाम्रा नेताको चेतनास्तर


  • Dhorpatan News
  • जेष्ठ २४ २०८०, बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा भारतले मुर्रा जातका १५ वटा राँगा दिने घोषणा ग¥यो । राँगा दिने घोषणाले नेपाल हल्लियो । संसदमा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भ्रमणको उपलब्धी राँगामात्र भएको अभिव्यक्ति दिए । अन्य विपक्षी सांसदहरुले पनि बोलीमा लोली मिलाए । प्रधानमन्त्री प्रचण्डलाई सामाजिक सञ्जालमा खिसीट्युरी गरियो ।

भारतले घोषणा गरेका राँगाहरु सामान्य खालका थिएनन् । ती लामो आनुबांशिक अनुसन्धानपछि तयार पारिएका उच्च नश्लका राँगा थिए । ती राँगाहरु नेपालको दुग्ध उत्पादन बढाउन र रैथाने भैंसीको नश्ल सुधारका लागि बरदान थिए । नेपालले लामो समयदेखि मुर्रा जातका राँगाहरुको माग गर्दै आएको थियो । तर, भारतले आनाकानी गरिरहेको थियो । लामो अनुसन्धानपछि प्राप्त उपलब्धी यत्तिकै अर्कालाई दिइन्न । मूल्य तिर्दा पनि उपलब्ध हुँदैन । भारतले मूल्य तिर्छु भन्दा पनि उपलब्ध नगराएको राँगा प्राप्तिमा खुसी मनाइनुपथ्र्यो तर उल्टो भयो । नश्ल सुधारपछि भारतमा पालिने मुर्राहरुले वार्षिक ४२ सय लिटरसम्म दूध दिन्छन् । नेपालको दुग्ध उत्पादन क्षमता कमजोर छ । हाम्रोमा कृषि क्षेत्रमा छुट्टिने बजेट नै कम छ भने अनुसन्धानको लागि त साह्रै थोरै रकम छुट्टयाइन्छ ।

स्थानीय जातका लिमे, पारकोटे र गड्डीलगायतका भैंसीहरुको नश्ल सुधार नगर्दासम्म नेपालको दुग्ध उत्पादन क्षमता बढ्दैन । नश्ल सुधारको लागि बाहिरबाट बीर्य वा राँगा ल्याउनै पथ्र्यो । नेपालले यसअघि विभिन्न देशबाट साढे र बीर्य ल्याएकै थियो । भारतले सहृदयतापूर्वक दिएको उपहारप्रति कृतज्ञता जाहेर गर्न छाडेर संसद र सडकमा जे गरियो, त्यो शोभनीय थिएन । लघुताभाष र विरोधका लागि विरोध गर्ने मनोवृत्तिबाट प्रेरित थियो ।

अहिले पशुमा कृतिम गर्भाधान गराउन सकिन्छ । नेपालले पनि त्यसको प्रयोग गर्दै आएको छ । नेपालका पोखरा, लाहान र नेपालगञ्जमा रहेका पशु प्रजनन केन्द्रले वार्षिक ८ लाख ५० हजारको हाराहारीमा सिमेन उत्पादन गर्दै आइरहेका छन् । बताए । उनका अनुसार पोखरामा ५ लाख, लाहानमा ३ लाख नेपालगञ्जले ५० हजार सिमेन उत्पादन गर्छ । नेपालमा गाई ७२ लाख गाई र ५२ लाखको हाराहारीमा भैंसीपालन भइरहेको आँकडा छ ।

ती सबै उन्नत जातका छैनन् । भएका पशुलाई उन्नत जातको बीर्य प्रयोग गरी नश्ल सुधार गर्नैपर्छ। नश्ल सुधार गर्न र प्रजननमा उच्चकोटीका भाले प्रयोग गरिनुपर्छ । जे आफूसँग छैन, त्यो आयात गर्नैपर्छ । प्राप्त राँगा उपहारले हाम्रा केही नेताको चेतनास्तर कति रहेछ भन्ने प्रष्ट बनाइदिएको छ । भारतले खुला हृदयले दिएको उपहारलाई आउँदा दिनमा सही सदुपयोग गर्नुपर्छ । नेपालका भैंसीहरुको नश्ल सुधार गर्दै आनुबांशिक सुधारमा फड्को मार्ने योजना बुन्नुपर्छ । हल्लाको भरमा दौडने र आलोचनामात्रै गरिरहने प्रवृत्ति राजनीतिक नेतृत्वले त्याग्नुपर्छ । राँगा काण्डले त्यही सन्देश प्रवाह गरेको छ । विज्ञहरुले भारतबाट आउने भनिएका राँगाको मूल्य नहुने र लामो अनुसन्धानबाट उत्पादित भएकाले किनेर नपाइने बताइरहेका छन् । कम्तिमा नेताहरुले बोल्नुभन्दा पहिले विज्ञहरुको मत बुझ्नु जरुरी हुन्छ । हावादारी गफ गर्दा आफ्नै कद घट्छ भन्ने चेतना दिमागमा भरिनुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->