देशमा बाँदरले आतंक मच्चाएका छन् । बाँदर गाउँ पसेको छन् । किसानलाई बाली जोगाउन हम्मे परेको छ । बाँदरहरु हिंश्रक बनेका छन् । हिजो कुकुर भुक्नासाथ भाग्ने बाँदर आजकल यस्ता भएका छन् कि मान्छेलाई पनि टेर्दैनन् । महिला बालबालिका देखे भने आक्रमण नै गरिदिन्छन् । बादरबाट बाली जोगाउन कठीन बनेपछि किसानहरुले खेतिपाती नै छाडेका छन् । खेती लगाउने तर घरमा भित्र्याउन नै नपाउने, भित्रिएको अन्न पनि सुरक्षित नहुने समस्या देशैभर फैलिएको छ । चुनावको बेला त जनताले बाँदर आतंक साम्य पार्ने उम्मेदवारलाई भोट दिने बताएका थिए ।
नेताहरुले नै बाँदर धपाउने प्रतिवद्धता जनाएका थिए । अहिले बाँदर आतंकको विषय सदनसम्म पुगेको छ । बाँदर निर्यात गर्नुपर्ने तर्क उठेको छ । तर, टुंगोमा पुगेको छैन । बाँदरबाट आजित भएका जनताले समस्याबाट मुक्ति पाएका छैनन् । केही पालिकाहरुले बाँदर धपाउन लगाएका जुक्तिहरु पनि प्रभावकारी बन्न सकेको छैन । केही पालिकाले चाहिँ बाँदरबाट खेती जोगाउन कर्मचारी नै खटाएका छन् । पर्वतको कुश्मा नगरपालिका ९ मा स्थानीयले बाँदर धपाउने आलोपालो पद्धति कायम गराएका छन् । आलोपालोमा वडाध्यक्षले पनि बाँदर हेर्ने जिम्मेवारी लिएका छन् । त्यो कत्तिको प्रभावकारी हुन्छ ? हेर्न बाँकी छ ।
बाँदर आतंक बढ्नुमा जग्गा बाँझो राख्नु, जंगलमा खानेकुरा नपाउनु,घर वरपर नै जंगल बढ्नाले बाँदर आतंक बढेकोमा द्धिविधा छैन । बाँदर आतंकको दीगो व्यवस्थापन भएन भने यसले हाम्रो सामाजिक र आर्थिक व्यवस्था नै तहस–नहस हुने खतरा बढेको छ । बाँदरले दुःख दिएपछि मान्छेले गाउँ छाड्नेसम्मका घटना बढेका छन् । जग्गा बाँझो हुँदा उत्पादकत्व घटेको छ । अतः बाँदर आतंक कम गर्न वैज्ञानिक रुपले उचित व्यवस्थापनको उपाय सोच्नैपर्छ । जीवजन्तुको पनि अधिकार हुन्छ । उसको अधिकारको रक्षा गरिनैपर्छ ।तर, बाँदर नियन्त्रण नहुँदाको दुष्परिणामलाई नजरअन्दाज गरिनुहुँदैन । निर्यात गर्न मिल्ने भए त्यसबारे पनि सोचिनुपर्छ । वनमा फलफूल रोप्ने हो कि, बाँदरको बन्ध्याकरण नै गर्नुपर्ने हो कि भन्नेबारे सोचिनुपर्छ । बाँदर आतंकबाट नागरिकलाई जोगाउनुपर्छ ।
