बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुरक्षाकर्मीलाई उद्दार प्रशिक्षण

सुरक्षाकर्मीलाई उद्दार प्रशिक्षण


  • संजय रेग्मी
  • जेष्ठ २६ २०८०, शुक्रबार

पर्वत / बर्खा यामको समयमा हुन सक्ने विभिन्न विपद् र उद्धारलाई मध्यनजर गरी गण्डकी प्रदेश सरकारको आयोजनामा सुरक्षाकर्मीहरूलाई समुदाय खोज तथा उद्दार प्रशिक्षण दिइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङले पर्वतको कुस्मा नगरपालिका–४ गुम्बामा जेठ २२ गते २४ गतेसम्म प्रशिक्षणको आयोजना गरेको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहभागी भएको प्रशिक्षणमा सामुदायिक खोज र उद्दारको बारेमा प्रशिक्षण दिइएको हो ।

खोलामा आउने बाढीमा फसेका व्यक्तिको उद्दार, प्राथमिक उपचार र स्वास्थ्य संस्थासम्म लैजाने तथा पहिरोका कारण दलदलमा फसेका, भिरमा अड्किएका वा घरभित्र थुनिएकाहरू लगायतलाई कसरी यथासक्य सकुशल उद्धार गर्ने भन्ने बारेमा सिकाइएको छ । प्रशिक्षार्थीहरुले भूकम्प, आगलागी तथा खाेंचमा खसेका घाइते तथा मृतकहरूको खोज तथा उद्दार सम्बन्धी पनि अभ्यास गरेका छन् ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थको उपस्थितिमा आयोजना गरिएको प्रशिक्षणको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले आफूहरूले सिकेको उद्धार अभ्यासको ‘सिमुलेशन’ प्रदर्शनी पनि गरेका छन् । वर्षाको समयमा बाढी पहिरोलगायत अन्य प्रकारका विपद्मा परी खोंचमा फस्ने घटनाहरू धेरै हुने गरेकाले सुरक्षाकर्मी अभ्यास महत्त्वपूर्ण रहेको प्रमुख सचिव पन्थले बताए । ‘खोंच तथा भिरको नजिक पुग्नु यो समयमा बढी खतरा हुन्छ । त्यस्तै घर तथा पसलहरूमा ग्याँस तथा इलेक्ट्रिक सर्टबाट हुने आगलागीजन्य विपद्का घटनाहरू पनि दिनानुदिन बढ्दै गइरहेका छन’, उनले भने, ‘बर्खा याममा बाढी, पहिरो, चट्याङ लगायतका घट्नामा धेरैको ज्यान जाने गरेको छ । कहीँ विपद् आइहालेको अवस्थामा प्रशिक्षित सुरक्षाकर्मी समयमा नै पुग्न सके भने विपद्मा फसेकाहरुलाई बचाउन सकिन्छ ।’

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले कार्यक्रम सफल बनाउन खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्दै विपद् जुनसुकै बेला आउन सक्ने भएकोले प्रहरी कर्मचारी २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

कार्यक्रममा नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दीपक बानिया, गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव बद्रीनाथ अधिकारी, पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्य, नं .२३ बाहिनी अड्डा सेराडिल बागलुङका बाहिनीपति सहायक रथी रोशन खड्का, सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवाजीलगायत पनि सहभागी भई उद्धार अभ्यासको ‘सिमुलेसन’ अवलोकन गरेका थिए । आम नागरिकहरूले त्यस्ता विपद्को समयमा के गर्ने, विपद्को समयमा सम्बन्धित निकायबीच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->