बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विपद्को पूर्वतयारी होस्

विपद्को पूर्वतयारी होस्


  • Dhorpatan News
  • जेष्ठ २८ २०८०, आइतबार

खडेरी र गर्मीले देशभरको जनजीवन प्रभावित भएको छ । लामो समय पानी नपर्दा तापमानले नयाँ रेकर्ड कायम गरेको छ । गर्मीसँगै मधेशमा सर्पदंश र विभिन्न रोगहरु फैलिएका छन् । सरकारले गर्मीबाट बँच्न र दिउसको उखर्माउलोमा बाहिर ननिस्कन आग्रह गरेको छ । गर्मीले गरिखाने वर्गलाई सबैभन्दा बढी प्रताडना दिएको छ । जलवायू परिवर्तनका कारण मौषम बदलिएको हो । मनसुन सुरु हुन केही दिन लाग्ने मौषम पूर्वानुमान शाखाले जनाएको छ । मनसुन सुरु भएपछि तापमान घट्ला नै । तर, त्यसले मच्चाउने वितण्डाको त्रास उस्तै छ ।

हरेक वर्षको बर्खामा आउने बाढीपहिरोले हजारौँ नागरिक बेघरबार बन्ने गरेका छन् । बाढीपहिरोबाट हुने धनजनको क्षतिको लेखाजोखा गर्दा त्यो करोडौं रुपैयाँ बराबरको हुने गरेको छ । बर्खा लाग्नासाथ जोखिममा रहेका बस्तीका नागरिकहरु त्राहीमाम हुने अवस्था छ । हरेक बर्खाले सिंगो देशमा कतिबेला कहाँ के हुने हो र अशुभ समाचार सुन्नुपर्ने हो भन्ने त्रास निम्त्याउँछ । बाढीपहिरो एक्लै आउँदैन, यसले रोग र भोक पनि ल्याउँछ । अत: निम्तनसक्ने सम्भावित महामारी र भोकमरीबाट जोगाउनेतर्फ पनि तत्काल ध्यान पुग्नैपर्छ । उद्दार र पुनस्र्थापनाका पूर्वतयारीहरु फितलो हुनुको दोष निश्चित रुपले सरकारकै टाउकोमा जान्छ । सरकार यो दोषबाट बच्नेतर्फ लाग्नैपर्छ ।

बाढीपहिरो नेपालको भूबनौट तथा मौषमबाट सृजित विपत्ति हो । अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि नेपालको नियति हो । पहाडमा वर्षा हुनासाथ खहरेहरु गड्गडाउने, पहिरो निम्त्याउने र तराइ डुवानमा पर्ने समस्या नौलो हैन । हरेक वर्ष नेपाल यो समस्याबाट आक्रान्त हुँदै आएको छ । प्राकृतिक विपत्तिलाई टार्न सकिँदैन तर न्यूनीकरण गर्न सकिन्छ । पूर्वसावधानी अपनाएर क्षति कम गर्न सकिन्छ । अझ, प्रकृतिको लय नभत्काएर पनि विपत्तिबाट बच्न सकिन्छ । पछिल्लो समय प्रकृतिको अतिदोहनका कारण बाढीपहिरोको समस्या बढ्दै गएको छ । जथाभावी बनाएका भौतिक संरचना, नदी र पहाडहरुको अत्यधिक दोहन,जंगल फडानीले नेपालको पर्यावरण बिग्रेको छ ।

पर्यावरण बिग्रँदाको असर सबै क्षेत्रमा परेको छ । हिजो पनि पानी पथ्र्यो, बाढी आउँथ्यो तर पानीले आफ्नो यात्रा आफै तय गथ्र्यो । नदीहरु अतिक्रमणमा परेका थिएनन् । नदीको बाटो रोकिएको थिएन । पहाड हराभरा थिए । रुखका जराहरुले जमिन समातेकाले पहिरोको जोड चल्दैनथ्यो । पानीढलोहरु मासिएका थिएनन् । पानीढलो नमासिँदा पानी छिरल्लिएर बग्थ्यो । छिरल्लिएको पानी जमिनले सोस्थ्यो । एकत्रित नहुँदा यसले बाढीको रुप लिन पाउँदैनथ्यो । तर, अहिले त्यस्तो छैन । बस्ती नै नदीमा बसालिएको छ । पहाडहरुको अत्यधिक दोहन भएको छ । बाटो बनाउने नाममा पहाडहरु जथाभावि खन्दा पहिरोको जोखिम बढेको छ । पछिल्लो समय पहाडमा गएका पहिरोहरुको कारण जथाभावि खनिएका बाटाहरु भएको प्रमाणित भएको छ । वातावरणीय मूल्याङ्कन बिना डोजर चलाउने प्रवृत्ति नरोकिने हो भने आउँदा वर्ष झन त्रासदीपूर्ण हुनेमा कुनै शंका छैन । पहाडमा पानी नरोकिँदा र पहिरो चल्दा यसले तराईलाई पनि असर गरेको छ । अर्कोतर्फ, असुरक्षित बस्ती निर्माणमा रोक नलगाउँदा पनि समस्या चर्केको छ ।

विपत्तिको बेला तर्कको अर्थ रहँदैन । तर, प्रकृतिलाई देखाएर कमजोरी ढाकछोप गर्न मिल्दैन । प्रकृतिको दोहन रोक्नेतर्फ अब सरकार कठोर बन्नुपर्छ । त्यतिमात्रै नभएर असुरक्षित बस्तीहरुको स्थान्तरण, तटबन्ध निर्माण र विपत्बाट बच्नको लागि गरिने पूर्वतयारीलाई चुस्त र दुरुस्त बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत गर्नुपर्छ । हरेक वर्ष बाढीपहिरो आउँदा जाग्ने र वर्षैभर सुत्ने छुट सरकारलाई छैन र हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->