विवादका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन गरे । विरोध मित्रराष्ट्रको आन्तरिक मामिला हो । संसद भवन निर्माणमा नेपालको सरोकार छैन र राख्नु हुँदैन । तर, भारतीय संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साले भने नेपालमात्र नभएर दक्षिण एसिया नै तरंगित बनेको छ । भारतले संसदमा राखेको नक्सामा नेपालसहित,बंगलादेश,पाकिस्तान, म्यान्मार र अफगानिस्तानका भू–भाग समेटिएका छन् । भारतीय नक्साप्रति बंगलादेशले कुटनीतिक तवरले नै असन्तुष्टि जाहेर गरिसकेको छ । पाकिस्तानले यसलाई भारतीय विस्तारवादी सोचको उपज मानेको छ । नेपालमा पनि भारतीय निर्णयको चर्को आलोचना भएको छ । भला, भारतले सो नक्सालाई भौगोलिक नभएर सांस्कृतिक नक्सा भएको र सम्राट अशोकको साम्राज्य देखाइएको रुपमा बुझ्न आग्रह गरेकै किन नहुन् !
काठमाडौंका मेयर बालेन्द्र साहले भारतीय प्रतिक्रियात्मक बन्दै आफ्नो कार्यकक्षमा ‘विशाल नेपाल’को नक्सा राखेका छन् । केही युवा नेताहरुले पनि बालेन पथ पच्छ्याएका छन् । नेपालमा भारत विरोधी भावना बिक्छ । कहिले भारत स्वयंका गतिविधिका कारण त कहिले बाह्य एवं आन्तरिक राजनीतिक स्वार्थले पनि यहाँ भारतलाई बेलाबेला दुस्मन करार गरिन्छ । तर,स्वार्थ मिल्नासाथ मुल राजनीतिक पार्टीहरु ती मुद्दाहरुबाट पछि हट्छन् । कहिले भारतीय सेनामा भर्ति,सिमा विवादमा राजनीतिक दलहरुले यही प्रवृत्ति देखाउँदै आएका छन् । अन्तर्यमा उनीहरु दक्षिण एसियाको प्रमुख शक्ति भारतसँग नजिकिँदै शक्ति आर्जनको ध्याउन्नमा हुन्छन् । यो मामिलामा प्रमुख दल नेपाली कांग्रेस नरम देखिन्छ भने वामपन्थी पार्टीहरु उग्र बन्छन् । सिमामा खुकुरी नचाउने एमालेदेखि माओवादीको सुरुङ युद्ध,विस्तारवादको विरोध सबै सत्ता हत्याउने हतियार बन्छन् । जसले गर्दा हाम्रो राष्ट्रवाद नै हावादारी बनिदिन्छ ।
हो, भारतसँग जोडिएका अनेकौं समस्याहरु छन् । सिमा समस्या भएको कुरा भारतीय प्रधानमन्त्री स्वयंले स्वीकारेका छन् । नेपालमा संविधान जारी भएसँगैको असन्तुष्टिबीच भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएकै हो । भूपरिबेष्ठीत राष्ट्रका अधिकार दिने मामिलामा नि भारत उदार छैन । श्रमदेखि व्यापारसम्मका मुद्दाहरुमा भारतले बलमिच्याइँ गरेको पनि छ । अहिले भारतले जुन नक्सा जारी गरेको छ, त्यसले राष्ट्रवादी नेपालीको मन दुखाएको छ । भारतले अर्काको जमिनमा आँखा लगाउन मिल्दैन । नेपालसँग भएका सिमा र अन्य विवादहरु सल्टाउन ठूलो छिमेकी भएकाले भारत नै उदार बन्नुपर्छ ।
त्यसो भनिरहँदा, नेपालले पनि कुटनीतिक रुपले नै समस्या समाधानको पहल गर्नुपर्छ । बंगलादेशकै बाटो अपनाएर असन्तुष्टि र प्रष्टीकरण मागिनुपर्छ । सडकमा टायर बालेर, प्रतिक्रियास्वरुप ग्रेटर नेपालको नक्सा कार्यकक्षमा टाँगेर समस्याको समाधान निस्कँदैन । बरु, यसले द्वन्द्व र अविश्वास बढाउँछ । सडकमा राष्ट्रवादको नारा लगाउने र आफूलाई सहज हुँदा रातारात भारतीय संस्थापन र गुप्तचरसँग गला मिलाउने प्रवृत्तिले राष्ट्रवाद बलियो हुँदैन । यो प्रवृत्ति त्याग्नैपर्छ । अहिले आएका प्रतिक्रियाहरु अतिवादकै नजिक देखिएका छन् । अतिवादलाई प्रोत्साहित गर्दा राष्ट्रवाद सवल बन्दैन । जनता उकास्ने अतिवादी सोचलाई मलजल गरिनुहुँदैन ।
