पर्वत/ जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीका नन्दलाल रेग्मी उमेरले ७९ वर्षका भए । शनिवार मध्यान्हको चर्को घाममा धारोको पानीले भए पनि सिंचाइ गर्न पाउने आशमा उनी बीउ राखेको ब्याडमा घुम्दै थिए । चर्को घाममा आँखाले हेर्न पनि कठीन भइरहेको बेलामा पसिना काढ्दै बीउ सिँचाइका लागि उनले गरेको मिहिनेतको एउटै उदेश्य थियो– अहिले बीउले पानी नपाए असारमा धान रोप्न ठप्प हुन्छ । नन्दलाल मात्रै होइन, धेरै ठाउँमा असारे रोपाइको बीउ राखिएका ब्याडहरु पट्पटी चिरिएका छन् । पानीको अभावमा न त बीउ राम्ररी बढ्न नसक्दा आउँदो वर्षमा खाद्यान्नको संकट हुनसक्ने चिन्तामा कृषकहरू छन् ।
‘धाराको पानी हालेर कति बीउ पो भिज्ला र खै ? फेरि यो तिरतिरे धाराको बगेको पानी पाउन पनि गाउँलेहरूको लाइन छ । धान कोदोको बीउ सबै डढ्न लागिसक्यो । पानी नपरेर गर्मी उस्तै छ’, नन्दलाल भन्छन्, ‘यस्तै चाल भए रोपाइ नै हुँदैन । पछि फालेको बीउ त अलिअलि हरियो छ, पहिले छरेको बीउ त सुक्यो । बढेकै छैन । किसानलाई केही गरी सुख छैन ।’
मनसुन भित्रिन ढिलाइ हुँदा गर्मी अत्यधिक बढेको छ । बजार क्षेत्रमा त कठी छ नै हरियाली रहेको गाउँमा समेत गर्मीले घर बाहिर निस्केर काम गर्ने अवस्था छैन । गर्मीकै कारण खेतबारीका कान्लामा रहेको घाँस सुक्दा चौपायालाई समेत समस्या भइरहेको कृषकहरू बताउँछन् । पानीको अभावमा मकैका बोटले खाना तयार गर्न नपाउँदा पसाउने बेलाका बोटहरू यसै ठिम्रिएका देखिन्छन् । बिहान बेलुकाको समयमा सामान्य अवस्थामा देखिने मकैका बोट, रोप्नलाई तयारी अवस्थामा रहेको कोदो, उम्रिएको धानको बीउलगायतका बोटबिरुवा सुकेका छन् ।
‘सुरुमा छरेको मकै त कामै नलाग्ने जस्तो भइसक्यो । अब वर्षा हुनासाथ रोपाइको माचो सुरु हुन्छ । समयमा वर्षा नहुँदा मकै बल्ल पसाउन लागेका जस्ता छन् । मकै पकाउन खेत नरोप्ने कि खेत रोप्नका लागि पसाउन लागेको मकै फाल्ने ?,’ बागलुङ नगरपालिका–१४ कैयाका गोविन्द ढकाल भन्छन्, ‘घाम र पानीको सन्तुलन नभइ खेतीलाई हुँदैन । पछिल्लो समयमा जलवायू परिवर्तनले पो हो कि सन्तुलन भएको देख्न पाईँदैन् ।’
सामान्यतः जेठ महिनामा कोदो रोपेर सकेपछि असारमा धान रोपाइ सुरु हुने गरेको छ । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा कृषकहरूले धेरथोरै कोदो खेती गर्दै आएका छन् । बारीमा लगाइएका मकै गोड्ने र कोदो रोप्ने काम एकैपटक हुन्छ । पहिलो पटक मकै गोडेका कृषकहरूले वर्षा नहुँदा मकै गोड्न नै नपाएको बताउँछन् । फलेवास नगरपालिकाका कृषक लालप्रसाद तिवारीले खडेरीका कारण खेतका मकै सुकेको बेलामा गोड्न नपाएकै कारण बारीका मकै सप्रिन नपाएको बताउँछन् । ‘बारीको मकै दोहो¥याउने (दोस्रो पटक गोड्ने) बेलामा पानी पर्नुपर्ने हो । खेतमा धानको बीउ बढ्दै गरेको बेलामा बारीमा कोदो रोप्ने हो । पानी परेपछि मकै दोहो¥याउने र त्यही माटोमा कोदो रोप्ने हो’, उनले भने, ‘अब खेत रोप्ने बेला आउँदा समेत बारीको मकै दोहो¥याउन पाइएको छैन । अब कहिले कोदो रोप्नु ? कहिले मकै मकै पाक्नु ? अनि कहिले धान रोप्नु ?’
खोल्सा वा पानीको नियमितता भइरहेको ठाउँमा लगाइएको धानको बीउले सिँचाई पाएको भए पनि गर्मीका कारण मकै बाली तयार नहुँदा रोपाइ समेत अनिश्चित भएको छ । जिल्लाका उच्च ठाउँ तथा पानीको सुविधा भएको ठाउँमा असारको सुरुमै रोपाइ हुने गरेको छ भने बेंसीमा साउनसम्म पनि रोपाइ हुने गरेको छ । बेसी क्षेत्रमा रहेका कृषकले सामान्यतः ढिलो रोपाइ गर्ने भएकाले मनसुन भित्रिएपछि हुने वर्षाका कारण उनीहरूलाई धान खेतीमा त्यति धेरै क्षति हुँदैन । तर लेकाली क्षेत्रमा असारको सुरुमै रोपाइ हुनका लागि जेठको अन्तिमसम्ममा धानको बीउ तयार भएको हुनुपर्छ । धानको बीउ तयार हुनु पूर्व कोदो रोपिसकिएको हुनुपर्छ । तर ती क्षेत्रमा अहिलेसम्म पनि कोदो रोप्न सुरु नै हुन पाएको छैन । पर्याप्त वर्षा नभइ ब्याडबाट निकालिएको बीउ मर्छ भने गोडाइका कारण मकैका बोट पनि सुक्न थाल्छन् ।
जिल्लाका अधिकांश क्षेत्रमा वर्षाको भरमा नै खेतीपाती हुँदै आएको छ । हिउँदको समयमा सुक्ने पानीका स्रोतहरू वर्षासँगै ब्यूँतिन्छन् । खोल्सामा बग्ने पानीमा वृद्धि भएपछि गाउँ गाउँमा लगिएका पाइप र कुलोमा पानी बग्न थाल्छ । यो बेलामा पानी कसरी तर्काउने भन्ने चिन्तामा हुने कृषकहरू कुलो र नहरमा कमिला हिँडिरहेको देख्न बाध्य छन् । झन्डै सात हजार हेक्टर जमिनमा सिंचाइको सुविधा भए पनि खोलानाला नै सुकेकाले समस्या भएको कृषकको भनाइ छ । पर्वतमा नौ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ भने झन्डै सात हजार हेक्टरमा कोदो र मकै खेती हुने गरेको छ । मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ ।
कृषि ज्ञान केन्द्र पर्वतले लामो समयदेखि वर्षा नहुँदा पर्वतमा रोपाइँ गर्न समस्या भएको बताएको छ । वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले यो महिनाको अन्त्य वा असार महिनाको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा भने असर नगर्ने बताउँछिन् । उनले रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान, कोदो उत्पादन राम्रो हुने उनको भनाइ छ ।





