‘वनै खायो डढेलोले,मनै खायो.. पापी मायाले !’ पर्वतसहित देशका विभिन्न भागमा बस्ने किसानको नियतिसँग यो गीतसँग ठ्याक्कै मिलेको छ । खडेरीले किसानले लगाएको मकै सुकेको छ । कोदो धानको ब्याड पट्पटी फुटेको छ । ढिलो गरी वर्षा सुरु हुनु एकातिर छ,क्षति अर्कोतिर छ । यो वर्षको हिउँदमा पानी परेन । हिउँदे वर्षा नहुँदा बालीमा क्षति पुग्यो । समयमा वर्षा नहुँदा खडेरीले मकै खायो । खडेरीले बाली खाँदा किसानको मन रुने नै भयो ।
नेपालको खेती प्रणाली प्रकृतिमा निर्भर छ । बाह्रै महिना सिंचाइ हुने फाँटहरु हामीसँग कम छन् । सिंचाइ सुविधा पुगेको छैन । जसले गर्दा आकासे पानीमा भर पर्नुपर्ने बाध्यता छ । कृषिका आधुनिक प्रणालीको अझै उपयोग हुन सकेको छैन । असिना–हावाहुरीलगायतका अन्य प्रकोपबाट बच्ने प्रविधि विकास हुँदा पनि हाम्रा किसानहरु प्रयोगमा पछि परेका छन् । जसले गर्दा उनीहरुले वर्षेनी ठूलो क्षति ब्यहोर्दै आएका छन् ।
बाली बिमालगायतका सुविधाहरु पनि सबै किसानकहाँ पुग्न सकेको छैन । किसानहरुलाई प्रोत्साहित नगरिँदा,उनीहरुको लगानीको सुरक्षण नहुँदा कृषि पेशा नै अनाकर्षक बनेको छ । हिउँदमा खडेरी र असिना अनि बर्खामा हुने बाढी–पहिरोको बितण्डाबाट पीडित किसानलाई राहत प्रदान गर्नु, उनीहरुलाई प्रोत्साहित गर्नु राज्यको दायित्व हो । राज्यले बाली बिमालगायतका सुविधाहरु किसानको घरदैलोमा पु¥याउनुपर्छ ।
समयमा मल–बीऊ उपलब्ध गराउँदै नगदे बालीको बजारीकरणमा पनि उत्तिकै ध्यान दिनुपर्छ । निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन किसानहरुलाई प्रोत्साहित नगरि धरै छैन । यो वर्ष हिउँदमा जे भएको छ, त्यसको क्षतिपूर्तिमात्र दिनसके किसानहरु निराश बन्ने थिएनन् । देशमा तीन तहका सरकार छन् । तीनवटै तहका सरकारले समन्वय गर्दै किसानमुखी नीति तय गर्नुपर्छ । किसानको मन मर्न दिनु हुँदैन ।
