पर्वत / पर्वतको मोदी गाउँपालिका–७ राम्जाको वडा कार्यालयमा शुक्रवार राती अज्ञात समूहद्वारा तोडफोड भएको छ ।
वडाध्यक्ष दीपेन्द्र गौतमका अनुसार उक्त समूहले वडा कार्यालयका विभिन्न शाखाहरूका दराज तथा फर्निचरहरू तोडफोड गरी कागजपत्रहरू बाहिर निकालेर छरपस्ट पारेको छ । घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान सुरु गरिसकेको र सर्वपक्षीय बैठक राखेर खोजतलासको काम गर्न लागिएको पनि वडाध्यक्ष गौतमले बताए ।
शुक्रवार राती नै मोदी गाउँपालिका–६ रातमाटामा राखिएका दुई ओटा मोटरसाइकल चोरीको प्रयास गरेको स्थानीय शिक्षक जीवनाथ शर्माले बताए । शिक्षक शर्मा र अर्का एक स्थानीयको मोटरसाइकल घरबाट केही पर क्षतिग्रस्त अवस्थामा भेटिएका थिए ।
तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन तथा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ ।





