नक्कली भुटानी शरणार्थी खडा गरेर बिदेश पठाउन लाखौं करोडौं रुपैयाँ भ्रष्टाचार गर्ने गिरोहका सदस्यहरु पुर्पक्षकालागि थुनामा पठाइएका छन् । नेपालको संविधान, कानून र नियमाबलीहरुले फौजदारी कसुरमा मुद्दा चलेर पुर्पक्षमा परेका जो कोहीको पनि सार्वजनिक पद भएमा निलम्बन हुने व्यवस्था छ । तर यो काण्डका आरोपित तथा पुर्पक्षमा गैसकेका कांग्रेस नेता बालकृष्ण खाँडलाई कांग्रेसले अहिले सम्म कुनै कारवाही गरेको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा निकट खाँड शक्तिशाली र प्रभावशाली मानिन्छन् । त्यसैले उनले चुनाव नलडी समानुपातिकमा बसेर आफ्नो मात्र नभइ पत्निको समेत सिट सुरक्षित बनाएका थिए । अहिले उनी कांग्रेसको समानुपातिक सूचिबाट प्रतिनिधिसभाका सदस्य छन् । दोषी ठहर हुने आधार तयार भैसक्न लागेको छ । त्यसैले उनी पुर्पक्षकालागि थुनामा पठाइएको छ । धरौटीमा छाड्ने आदेश समेत नभएको अबस्थामा उनी दोषी करार हुने लगभग पक्का भएको छ । भोलीका दिनमा सफाइ पाउन पनि सक्लान तर पुर्पक्ष गैसकेपछि अनिवार्य पद निलम्बन हुने व्यवस्था छ । तर कांग्रेसले आफ्ना नेतालाई कुनै कारवाही गर्न सकेको छैन । बरु सभापति देउवा सहितका नेता मौन छन् ।
खाँड थुनामा गएको दिन सभापति देउवा नेपालमा थिएनन् । कार्यवहाक सभापति पूर्णबहादुर खड्का छन् । तर उनले पनि कुनै कारवाहीको गुन्जायस गराएका छैनन् । त्यसो त उनी पक्राउ पर्नासाथ महामन्त्री गगन थापाले खाँडलाइ निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर सभापतिले यो बारेमा केही बोलेनन् । कांग्रेसमा सभापतिमा असिमित अधिकार छ । त्यसैले नेतालाई कस्तो प्रकारको कारवाही गर्ने भन्ने अधिकार सभापतिमा निहित छ । यद्यपी एजेण्डा भने जो कसैले लैजान पाउँछन् । आफ्नो गुटको झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य सहित सभापतिमा निर्वाचित भएका देउवाले फरक गुटबाट आएको टिप्पणी प्राय सुनेका छैनन् । आम नागरिकको चासोको बिषय, कानूनी शासनको बिषय र नैतिकताको प्रश्न भएपनि देउवा फरक गुटबाट आएको सुझाव सुन्न नचाहने, देउवा निकटका नेताहरुले देउवाको टिका टिप्पणी गर्न नचाहने र उचित सुझाव पनि दिन नसक्ने भएकोले कांग्रेसका अधिकांस बिषय अहिले सभापति केन्द्रीत भएका छन् ।
त्यसोत यस अघि पनि कांग्रेसले नेताहरुलाई निलम्बन गरेको थिएन । खुमबहादुर खड्का, गोबिन्दराज जोशी र चिरन्जिवी वाग्ले लगायतलाई भ्रष्टाचारको मुद्दा लाग्दा पनि कारवाही नगरेको कांग्रेसले जेलमै बसेका मोहमद अफ्ताव आलमलाई टिकट नै दिएर पठाएको थियो । गोबिन्दराज जोशीले तत्कालिन बरिष्ठ नेता रामचन्द्र पौडेल बिरुद्ध उमेदवारी नै दिएपछि मात्र पार्टी सदस्यताबाट हटाएको थियो । तर जोशीले आफ्नो उमेदवारी कायम नरहेपछि पौडेल हराउन भूमिका खेलेका थिए । गत स्थानीय निर्वाचनमा एमालेको समर्थनमा छोरालाई कांग्रेसका उमेदवार बिरुद्ध नगरप्रमुखको उमेदवारी दिलाएका थिए । हालै सम्पन्न उप निर्वाचनमा पनि कांग्रेसका आधिकारिक उमेदवार बिरुद्ध जोशीले भूमिका खेले । कांग्रेसले गोबिन्द भट्टराइ जिताउन जोशीको कारवाही फुकुवा ग¥यो तर त्यो पनि जोशीले वास्ता गरेनन् ।
यस्ता धेरै बिषय हिजो के भए भन्दा पनि अहिलेको गम्भिर भ्रष्टाचार र संगठित अपराधको बिषयमा समेत आफ्ना नेता र बहालवाला सांसद मुछिंदा पनि अझै कारवाही गर्न नसक्नु कांग्रेसको संस्थापन पक्षको गम्भिर त्रुटी हो । यसबारेमा कांग्रेसले कहिले समीक्षा गर्छ ?
