शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित होस् 

नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित होस् 


  • Dhorpatan News
  • असार ७ २०८०, बिहिबार

उद्घाटन भएको ६ महिनापछि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय भएको पुष्टि भएको छ । चीनको छेन्दुबाट १२० जना यात्रु बोकेर आएको सिचुवान एयरलायन्सको विमानले विमानस्थलबाट सफल अवतरण गरेको हो । विमानस्थलको चालु अंग्रेजी वर्षको जनवरी १ मा उद्घाटन गरिएको थियो । चिनियाँ ऋण सहयोगमा निर्मित विमानस्थल संचालनमा आए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा यसको औचित्यमाथि प्रश्न उठ्दै आइरहेको छ । पोखरामा भएको यो उडान नियमित भने हैन । चार्टर्ड उडान भरेको सिचुवान एयरलायन्सले नियमित उडान भर्ने/नभर्ने टुंगो छैन ।

भारतले थप हवाइ रुट एवं उडान अनुमति नदिँदा भारत उडानको लागि तयार भएका विमान कम्पनीहरु पनि चुप लागेर बसेका छन् । २८ अर्ब रुपैयाँ ऋणमा बनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कुरेर बसेका पोखरेली नागरिकहरु निराश बनेको अवस्थामा भएको चार्टर्ड उडानले आशा त जगाएको छ तर निश्चिन्त बन्न सकिने अवस्था छैन । बरु विमानस्थल नचल्दा नेपाल ऋणको चंगुलमा मात्र फस्ने सम्भावना बढ्दो छ । यस्तो अवस्थामा चीनले एयरपोर्ट संचालनमा  देखाएको  चासोलाई सकारात्मक मान्नुपर्छ । नेपालको तर्फबाट मित्रराष्ट्र चीनलाई नियमित उडानको लागि मनाउनुपर्छ । चीनतर्फ नियमित उडान हुने हो भने त्यसले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिकासमेत खेल्नेछ ।

पोखरा विमानस्थलको दीगो संचालनको लािग सजिलो हवाइ नाका तथा भारत एवं अन्य देशसँगको उडान अपरिहार्य छ । भारत उडानको लागि नेपालले विश्वास जित्नुपर्छ । चीनले अहिले पनि यो विमानस्थल आफ्नो महत्वाकांक्षी परियोजना बीआरआईअन्तर्गत निर्माण भएको दाबी गरिरहेको छ । जसले भारतलाई झस्काएको छ ।
विमानस्थलमार्फत चीनले नेपालमा प्रभाव बिस्तार गर्ने र कालान्तरमा त्यसले भारतलाई असर पुग्ने भारतीय ठम्याइ छ । जसका कारण ऊ विमानस्थल संचालनमा सकारात्मक छैन । नेपाल आफैंमा स्वतन्त्र मुलुक हो । देशलाई शक्तिराष्ट्रहरुको खेल मैदान हुनबाट बचाउन र दुबै छिमेकीलाई विश्वासमा लिने काम नेपालकै हो । कहिले उत्तर र कहिले दक्षिण ढल्कने प्रवृत्तिले देशको भलो गर्दैन् । नेपालले आफ्नो हितमा मात्र ध्यान दिनुपर्छ । कम्तिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको लागि परिपक्व कुटनीतिक क्षमता प्रदर्शन गर्नुपर्छ । एयरपोर्टको दीगो संचालन र अन्तर्राष्ट्रिय उडान हाम्रो आवश्यकता हो । नियमित अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता हुनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->