शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ड्रागन फेस्टिभल र नेपालको दायित्व

ड्रागन फेस्टिभल र नेपालको दायित्व


  • Dhorpatan News
  • असार १० २०८०, आइतबार

चीनको मुख्य भागमा मनाइने ड्रागन बोट फेस्टिभलको पोखरा संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । चिनियाँ पात्रो अनुसार पाँचौं महिनाको पाँचौ दिन सुरु हुने यो चीनको मुख्यमध्ये एक पर्व हो । मित्रराष्ट्र चीनले दक्षिण एसियामा नै पहिलोपटक पोखरामा ड्रागन बोट फेस्टिभल आयोजना गरेर नेपाल अनि पोखराप्रति सद्भाव देखाएको छ ।

कोभिड १९ को महामारीपछि थला परेको नेपालको पर्यटन बजार प्रवद्र्धनको लागि आयोजित ड्रागन बोट फेस्टिभलले ठूलै योगदान गर्ने पर्यटन व्यवसायीहरुको अपेक्षा रहेको छ । भ्रमणमा निस्कने चिनियाँहरुको संख्या वर्षेनी बढ्दै गइरहेको छ । त्यसको सानो हिस्सामात्रै नेपाल आइदिने हो भने यहाँको पर्यटन उद्योग कायापलट हुन्छ । कोभिड अघिसम्म नेपाल र पोखरामा पनि चिनियाँ पर्यटकहरु आएकै थिए । तर, कोभिड महामारीले अवरोध सिर्जना ग¥यो । कोभिडपछि चीन स्वयंले नेपाललाई भ्रमण निषेधित राष्ट्रको सूचीमा राख्यो । अहिले त्यो बन्देज हटेको छ । चिनियाँ पर्यटक आउने आशा पलाएको छ ।

चीन नेपालको पुरानो र असल छिमेकी हो । नेपालका विभिन्न परियोजनाहरुमा उसले सहयोग गरेकै छ । सहयोग दुईतर्फी नै हुन्छ र हुनुपर्छ । चीनको सदासयतालाई नेपालको तर्फबाट अवमूल्यन गरिनुहुँदैन । चीनले पोखरामा ड्रागन बोट फेस्टिभलको आयोजना गरी नेपाली सद्भाव बटुल्न खोजेकोमा कुनै द्धिविधा छैन । त्यसका अलावा चीनले संस्कृति र वैभव प्रदर्शन गर्दै प्रभाव विस्तारको चाहना पनि राखैकै छ । उसले ठूलो अपेक्षाभन्दा पनि नेपाली भूमि आफूविरुद्ध प्रयोग नहोस् भन्ने चाहन्छ । खासगरी तिब्बती शरणार्थी र उनीहरुकै आडमा पश्चिमा राष्ट्रहरुले गर्ने चलखेलप्रति चीन सचेत छ । नेपालले एक चीन नीतिको समर्थन गर्दै आइरहेको छ । पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धका बहुआयामिक पाटाहरुमध्ये सुरक्षा सबैभन्दा महत्वपूर्ण हो ।

त्यसका अलावा चीनले पछिल्ला दिनहरुमा नेपाल सहभागी बेल्ट एण्ड रोड (बीआरआई) परियोजना कार्यान्वयन होस् भन्ने चाहेको छ । बीआरआई कार्यान्वयनमा नेपालले देखाएको सुस्तताप्रति चीन चिन्तित रहेको बुझ्न कठीन छैन । सम्झौता गरिसकेपछिको आलटालले जसलाई पनि सशंकित बनाउँछ । नेपालले बीआरआईबारे आफ्नो धारणा प्रष्ट पार्नुपर्छ । चीनले ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसमेत बीआरआईकै हिस्सा भएको बताएको छ । उसको अभिव्यक्तिबाट भारत सशंकित बनेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएकै छैन । भारतले हवाई रुट नदिँदा उडान अनिश्चित भएको छ । चीन मुखरित हुँदाको अवस्थामा भारत सकारात्मक नबन्ने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन । हाम्रा दुबै छिमेकीको आर्थिक समृद्धिबाट नेपालले समुचित लाभ लिनैपर्छ । अहिलेको सन्दर्भमा पर्यटन प्रवद्र्धनमा अर्जुनदृष्टि लगाउनुपर्छ । ड्रागन फेस्टिभललाई वर्षेनी आयोजना गर्दै चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने रणनीति तयार पार्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->