देशको जेठो त्रिभुवन विश्वविद्यालयले ५४ औं वार्षिकोसत्व मनाएको छ । शिक्षित र दक्ष जनशक्ति उत्पादनमा त्रिविले दिएको योगदान महत्वपूर्ण छ । बढी विद्यार्थी अध्ययन गर्ने तथा धेरै आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरु भएको विश्वविद्यालय पनि त्रिवि नै हो । त्रिवि आधुनिक शिक्षा प्रणालीको जग र मियो दुबै हो । त्रिविले बितेका वर्षहरुमा दिएको योगदानलाई नजरअन्दान गर्न मिल्दैन तर त्रिवि दोषरहित भने छैन ।
स्थापनाको ६४ वर्ष बित्दा पनि जुन उचाई प्राप्त गर्नुपर्ने हो त्यो प्राप्तिबाट विश्वविद्यालय चुकेको छ । धेरैपछि स्थापित विश्वविद्यालयहरुले आफूलाई अब्बल सावित गरिरहँदा त्रिवि विश्वका हजार उत्कृष्ट विश्वविद्यालयभित्र अटाउन सकेको छैन । त्रिविको पाठ्यक्रम, शैक्षिक क्यालेण्डर सबै लथालिङ्ग अवस्थामा छन् । विश्वविद्यालय राजनीतिक भर्तिकेन्द्र बनेको छ । राजनीतिक दलको झोला बोक्ने पदाधिकारी,प्राज्ञिक कर्म छाडेर राजनीति गर्ने प्राध्यापक तथा पढाइ छाडेर राजनीति गर्ने विद्यार्थीका कारण विश्वविद्यालय दक्ष जनशक्ति उत्पादन गर्ने दायित्वबाट विमुख हुँदै गएको छ । अनियमितताको त कुरै छाडौं ।
समयमा कोर्ष पूरा नहुने,परीक्षा र परीक्षाफल प्रकाशनमा हुने ढिलाइ,आर्थिक अनियमिततालगायतका अनेकौं रोगले विद्याको मन्दिर ध्वस्त भएको छ । विश्वविद्यालयमा राम्रा प्राध्यापक नभएका हैनन् तर राजनीतिक खिचातानी र विद्यार्थी संगठनबाट हुने मानमर्दनका कारण उनीहरुको तेजोबध भएको छ । गुरुलाई गुरुको व्यवहार नगर्ने शिष्य तथा राजनीतिक दलको गोटी बन्ने प्राध्यापक र पदाधिकारीकै कारण विश्वविद्यालयको गुणस्तर खस्केको हो । प्राज्ञिक थलोलाई राजनीतिबाट अलग राखिनुपर्छ । यसको पहिलो सर्त भनेको राजनीतिक नियुक्ति बन्द गरिनुपर्छ । योग्यलाई उचित ठाउँ दिनासाथ विश्वविद्यालय स्वतः सही मार्गमा आउँछ । यसका अलावा,प्राध्यापकहरुको सम्मान,आवश्यक बजेट विनियोजन तथा अनुसन्धानलाई बढावा दिनेगरी कार्यक्रम तय गरिनुपर्छ ।
विद्यार्थी संगठनहरुको अनुचित राजनीतिक गतिविधिलाई निरुत्साहित गर्नुपर्छ । मुख्य कुरा, विश्वविद्यालयले शैक्षिक पात्रो निर्माण गरी सोही अनुसारका गतिविधि संचालनमा ल्याउनुपर्छ । समयमा परीक्षा नहुने, परीक्ष भइहाले पनि नतिजा नआउने, एउटै तहको शिक्षा लिन वर्षौं लाग्ने रोग कायम भइञ्जेल विश्वविद्यालयको सुधार हुँदैन । प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक पात्रो कडाइका साथ लागू गर्न निर्देशन दिएका छन् । त्रिविको ६४ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले शैक्षिक पात्रो नहुँदा विद्यार्थी र अभिभावकले ठूलो क्षति व्यहोर्नुपरेको स्वीकारेका छन् । प्रधानमन्त्री त्रिविको कुलपति हुन् । उनले चाहेमा विश्वविद्यालयमा सुधार सम्भव हुन्छ तर त्यसको लागि प्रधानमन्त्री राजनीतिक स्वार्थभन्दा माथि उठनुपर्छ ।
