राष्ट्रिय जनणणना २०७८ अनुसार बागलुङको कुल जनसंख्या २ लाख ५० हजार ५५४ रहेकोमा ६ हजार ३१७ महिलासहित ३४ हजार २५१ जना विदेशमा रहेका छन् ।
त्यसो त, २४ लाख ५७ हजार ४८४ जनसंख्या रहेको गण्डकीबाट ३ लाख २२ हजार ७६२ जना विदेश छन् । जनगणनापछि यो संख्या अझ बढेको अनुमान गर्न सकिन्छ । किनकि, यो वर्ष सबैभन्दा धेरै नागरिकले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगारले देशलाई विप्रेषण दिएको छ । विप्रेषण ( रेमिट्यान्स) कै कारण नेपालीको जीवनस्तर उकासिएको छ । अर्थतन्त्र बिग्रनबाट बँचेको छ । तर, वैदेशिक रोजगारकै कारण निम्तिएका समस्याहरु बिस्तारै सतहमा आउँदैछन् ।
रोजगारको लागि विदेश गएकाहरुमध्ये कयौंले ज्यान गुमाएका छन्, कति अंगभंग भएका छन् र कतिपय बेपत्ता छन् । अक्सर नेपालीहरु अदक्ष कामदारको रुपमा विदेशिएका छन् । चर्को शारीरिक श्रम र असुरक्षित कार्य गर्न उनीहरु अभिषप्त छन् । श्रमको लागि विदेश जानु नेपालीको रहर नभएर बाध्यता बनेको छ । सीपविहीन हुँदा नेपालीहरुले दुःख पाएका छन् । अर्थतन्त्रको मुख्य खम्बा बनेको रेमिट्यान्स भित्र्याउने नागरिकलाई सीपयुक्त बनाउने प्रयास भने प्रभावकारी हुन सकेको छैन । सीटीइभीटीलगायतका सीप प्रदायक संस्थाहरुले पनि आवश्यकता हेरेर सीप सिकाउन सकेका छैनन् । विदेशी भूमिमा के गर्ने भन्ने ज्ञानबिनै नेपाली विदेश भासिन बाध्य छन् । सीप र दक्षतासहित विदेश जाने हो भने राम्रो काम पाइन्छ । कमाइ धेरै हुन्छ । यसको लागि उनीहरुलाई सीपयुक्त र दक्ष बनाउनु जरुरी छ ।
ढिला भइसकेको छ तर गण्डकीको गलकोट नगरपालिकाले देशमै पहिलोपटक यो अभियान सुरु गरेको छ । पालिकाले स्थानीय पाठ्यक्रममा वैदेशिक रोजगारीको विषय समावेश गरेको छ । चालु शैक्षिक सत्रबाट आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरेको नगरपालिकाले कक्षा ६ को पाठ्यपुस्तकमा वैदेशिक रोजगारी र त्यसको सामाजिक प्रभावको विषय समावेश गरेको हो ।
सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले वैदेशिक रोजगारीका विषयमा बालबालिकालाई ज्ञान दिन आवश्यक ठानेको मेयरको भनाइ छ । गलकोट वैदेशिक रोजगार रोज्नेहरुको ठाउँ भनेर परिचित छ । बागलुङ जिल्लाको जनसंख्या २ लाख ५० हजार ५५४ छ भने गलकोटमा ७ हजार ३१४ घर परिवार ३० हजार ५०३ जनसंख्या रहेको छ । तीमध्ये अधिकांश घरका कोही न कोही विदेश गएको छन् । पालिकाले तयार पारेको पाठ्यक्रममा वैदेशिक रोजगारी जाँदा अपनाउनुपर्ने सावधानीदेखि तयारी र सीपसम्मका विषयहरु समेटिएको छ । सुरक्षित आप्रवासन परियोजनाको सहयोगमा तयार पारिएको पाठ्यपुस्तकले कम्तिमा नागरिकलाई सुरक्षित राख्ने र वैदेशिक रोजगारीमा जाँदा सहज हुने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारी बाध्यता बनेको बेला गलकोटले जे गरेको छ, राम्रो गरेको छ । देशभरका पालिकाहरुले गलकोटलाई पच्छ्याउनुपर्ने देखिएको छ ।
