बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरालाई अब नबिगारौं

पोखरालाई अब नबिगारौं


  • Dhorpatan News
  • असार २१ २०८०, बिहिबार

हाम्रा सहरहरु सहरजस्ता छैनन् । आधुनिक सहरको लागि आवश्यक भाौतिक पूर्वाधारको अभाव र अव्यवस्थित सहरीकरण नेपाली सहरहरुका विशेषता हुन् । राजविराजपछि सबैभन्दा पहिला भौतिक विकासको योजना बनाएको पोखरा पनि यो मामिलामा पछाडि छ । २०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको अगुवाईमा इञ्जिनियर पदमबहादुर क्षेत्रीले पोखराको भौतिक विकासको योजना बनाएका थिए ।१८० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको तत्कालीन पोखरा नगरपञ्चायतमा बाटो कस्तो बनाउने, बस्ती कहाँ विकास गर्ने, आवश्यक पूर्वाधारहरु कस्तो बन्ने लगायतका योजना समेटिएका थिए । सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गसँग पोखराका बाटाहरु जोड्दै मुख्य पर्यटकीय क्षेत्र लेकसाइडका सबै घरका छतबाट ताल हेर्ने गरि योजना बनाइएको थियो ।

व्यक्तिको जग्गा लिएर त्यहाँ पूर्वाधार विकास गर्ने र त्यो जग्गाबापत् नागरिकलाई जग्गा नै फिर्ता दिने ‘ल्याण्ड पुलिब’ पनि यहाँ सुरु गरिएको थियो । ल्याण्ड पुलिब अवधारणाबाटै पोखराको न्यूरोड बनेको हो । भौतिक विकास योजना अनुरुप त्यो बेला धेरैजसो जग्गाहरु अधिग्रहण गरिए । अहिलेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि सरकारी कार्यालय भएको क्षेत्र, पोखरा बसपार्क,रंगशाला त्यहीबेला अधिग्रहण गरिएको थियो । रंगशालामा हाल आएर केही संरचना बनेको देखिएको छ । पोखरा क्षेत्रीय विमानस्थल निर्माणको क्रममा छ भने बसपार्कको लागि छुट्याइएको जग्गा अतिक्रमणको चपेटामा परेको छ । योजना अनुसार काम भएको भए साँच्चै पोखरा सुन्दर हुने थियो । शंकरराज पाठकपछि आएका अंचलाधीशर पोखरा नगरपञ्चायतले सो योजना कार्यान्व्यनमा ल्याउन सकेन । तत्कालीन योजना दराजमा थन्किएपछि पनि विभिन्न कालखण्डमा पोखराको बृहत्तर विकासको लागि योजना बन्ने क्रम जारी रह्यो ।

तर, ती योजनाहरु कार्यान्वयनमा आउन सकेनन् । सुन्दर पोखराबारे गरिएका अनुसन्धानतिर पनि कसैको ध्यान गएर । थाइल्याण्डको प्रसिद्ध एसियन इन्ष्टिच्यूट अफ टेक्लोलोजीमा ( एआइटी) मा मात्रै पोखराबारे गरिएका ७० भन्दा बढी थेसिसहरु थन्किएका छन् । त्यतातर्फ कसैको ध्यान गएको छैन ।पोखरालाई अन्तर्राष्ट्रिय सहर भनिन्छ । अन्तर्राष्ट्रिय सहरलाई चाहिने पूर्वाधार बन्न सकेका छैनन् । सार्वजनिक शौचालयसमेत नभएको सहरलाई अन्तर्राष्ट्रिय सहर कसरी भन्ने ?
यहाँका बाटाहरु साँघुरा भइसकेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, पुस्तकालय, नाचघर, कला संग्रहालयजस्ता अत्यावश्यक पूर्वाधार त परका कुरा हुन् । जथाभावि मापदण्ड मिचेर बनाइएका भौतिक संरचनाले सहरलाई कुरुप बनाइदिएको छ । पोखराको पर्याय मानिएको फेवाताल अतिक्रमण र प्रदुषणको चपेटमा परेको छ । त्यसलाई संरक्षण गर्ने दीर्घकालीन योजना पटकपटक बनेपनि कार्यान्वयमा आएको छैन । अर्को तिर पोखरालाई सुन्दर प्राकृतिक सहर बनाउने योजनामा धक्का लागिसकेको छ । धेरै कुरा बिग्रिएको छ । मानवीय सूचकांकमा अगाडि देखिएपनि पोखराले धेरै कुरा गुमाएको छ । धेरै कुरा बिग्रिएको छ तर बनाउने सम्भावना अझै बाँकी छ । मापदण्डमा कडाई गर्ने, भएका योजनाहरुलाई कार्यान्वन गर्ने र यसलाई साँच्चिकै अन्तर्राष्ट्रिय सहर बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->