देशको ७६ जिल्लामा लम्की स्किनको महामारी फैलिसकेको छ । मनाङ रमुस्ताङबाहेकका जिल्लामा फैलिएको महामारीले ६ लाख ८ हजारभन्दा बढी पशु संक्रमित भएको र करिब २२ हजारको मृत्यु भएको कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुषालले नै जानकारी दिएका छन् । लम्की स्किनका कारण करोडौंको क्षति भएको छ ।
किसानहरुले नोक्सानी ब्यहोरेका छन् । दूध उत्पादनमा ह्रास आएको छ भने प्रकोप नियन्त्रण नभए यसले दूरगामी प्रभाव पार्ने निश्चित भएको छ । तर,यस्तो गम्भीर विषयमा सररकार र सांसदहरु उदासिन देखिएका छ्न । कानून निर्माणको अलावा जनताका समस्याको उठान र समाधान खोज्ने थलो हो– संसद । सांसदहरुले जनताका समस्याहरु संसदमा उठाउनुपर्छ । उनीहरु राजनीतिक खिचातानी र हल्काफुल्का मुद्दाहरुमै केन्द्रीत छन् । जनताका समस्या संसदमा उठाउने तथा सरकारलाई दबाब दिनबाट चुकेका छन् । मन्त्री भुषालले रोग नियन्त्रणका लागि खोपको व्यवस्था भइरहेको र सिड भाइरस ल्याएर खोप उत्पादन गर्ने सोच रहेको पनि जानकारी गराए पनि त्यो कहिले हुन्छ भन्ने प्रष्ट छैन ।
सरकारले कृषि र पशुपालनलाई प्राथमिकतामा राख्दै आएको छ । तर, समयमा मल र बीऊ उपलब्ध नहुने, औषधि नपाइने रोगको निदान हुन सकेको छैन । फैलँदो लम्की स्किन नियन्त्रणमा पनि प्रभावकारी कदम चालिएको छैन । सचेतनामूलक कार्यक्रम संंचालन गरिएको छैन । सन् १९२९ मा अफ्रिकामा देखिएको लम्की स्किन संसारभर फैलिएको छ । यो रोग लागेपछि गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ ।
संक्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने विज्ञहरुले बताएका छन् । यो रोग निदानको लागि प्रभावकारी उपचार विधि छैन तर खोप भने उपलब्ध छ । रोग लागेपछि रोग प्रतिरोधात्मक औषधि खुवाउनुपर्छ । पशु सेवा विभागले रोग नियन्त्रणको लागि प्रयास त गरिरहेको छ तर सरकारले विभागलाई थप सहयोग गर्नुपर्ने देखिएको छ । खोप र औषधिको लागि आवश्यक परे बजेट व्यवस्था गर्न तथा नियन्त्रणका सबै उपाय अबलम्बन गर्न ढिला गर्न नहुने देखिएको छ ।
