एसइईको नतिजा सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयले कक्षा १२ सम्मलाई माध्यमिक तह नै मानेपछि एसइई हिजोको एसएलसीजस्तो ‘फलामे ढोका’रहेन । न त, एसएलसीपछि पोका पुन्तुरा बोकेर उच्च शिक्षाको लागि सहर धाउने बाध्यता नै अहिले छ । कक्षा १२ सम्मको अध्ययन घरमै बसेर गर्न सकिने अवस्था सिर्जना भएको छ ।
ग्रेड प्रणाली लागू भएपछि विद्यार्थीलाई सम्भावना खोज्न सजिलो भएको छ । कक्षा ११ र १२ मा रोजिने विषयले नै भविष्यमा कुन धारमा डोहो¥याउँछ भन्ने निक्र्यौल गर्ने हुनाले यी दुईवटा कक्षाको पढाइ र रोजाइ आफैंमा महत्वपूर्ण छ । एसइई सम्पन्न हुनासाथ विद्यालयहरुले भर्ना आह्वान गरेका छन् । प्रचारको जमाना न हो ! यी र यस्ता गुणले भरिपूर्ण भन्ने प्रचार सामग्रीहरु जोडतोडले बाहिर ल्याइएका छन् ।
तर, विद्यार्थीले भने एसइईपछि कुन विषय र कहाँ पढ्ने भन्ने निर्णय गर्दा विचार पु¥याउनु जरुरी छ । पहिलो त, विद्यार्थीले विषय र विद्यालय छनोट गर्दा आफ्नो क्षमता र रुचिलाई प्राथमिकतामा राख्नुपर्छ । के पढ्न सक्छु र मेरो रुचि के छ अनि भविष्यमा म यस्तो बाटो समात्छु भन्नेतर्फ ध्यान दिइएन भने त्यो निर्णय प्रत्यूत्पादक हुनसक्छ भन्ने ख्याल राख्नुपर्छ । साथीभाईको लहलहैमा वा आकर्षक विज्ञापनको पछि लागेर हैन,त्यो विद्यालयको वास्तविक शैक्षिक प्रगतिलाई केलाउनुपर्छ । अर्कोतर्फ, नानीबाबुहरुले मातापिताको सामथ्र्यलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । परिवारलाई आर्थिक भार पार्ने महँगा रोज्नुभन्दा पहिले उनीहरुले अभिभावकको कुरा सुन्नुपर्छ ।
रह्यो कुरा अभिभावकको । हाम्रो समाजमा प्रचालित भनाइ छ– पाँच वर्षसम्म छोराछोरीको लालन–पालनमा ध्यान दिनू । पाँचबाट १५ वर्षसम्म उसका आनीबानी ख्याल राख्नू अनि उसलाई असल मार्गमा लगाउनू । जब नानीबाबु १६ वर्ष पुग्छन् तब साथी सहर व्यवहार गर्नू । हो, कक्षा १० उत्र्तीण गरिसक्दा नानीबाबुमा हुने शारीरिक र मानशिक परिवर्तनका कारण उनीहरु स्वयं मनोवैज्ञानिक रुपले आफूलाई फरक ठान्ने भइसकेका हुन्छन् । त्यसैले एसइई उत्तीर्णपछिका नानीबाबुहरुलाई विषय र बाटो छान्ने छुट दिनुपर्छ ।
उनीहरुलाई सम्झाउने र यस्तो निर्णयबाट भविष्यमा यस्तो हुन्छ भन्ने ज्ञान अभिभावकले दिनुपर्छ । आफ्नो सामथ्र्य यस्तो छ र महँगा कलेज रोज्दा त्यसले कस्तो समस्या निम्त्याउँछ भन्ने पनि अभिभावकले खुलस्त तरिकाले भन्नुपर्छ । बाँकी रहेका उच्च माध्यमिक कक्षामा जाँदा तिमी नै आफूले चाहेको विषय छान्न स्वतन्त्र छौ भन्ने आत्मविश्वास जगाउनुपर्छ । कक्षा १० को नतिजाले म के विषयमा राम्रो छु भन्ने ज्ञान हुन्छ र भविष्यमा मैले कुन चाहिँ बाटो समात्ने भन्ने निर्णय स्वतन्त्रता उसले पाइसकेको हुन्छ । त्यसलाई अभिभावकले रचनात्मक तरिकाले समर्थन जनाउनुपर्छ । विषय छान्ने स्वतन्त्रता दिइरहँदा स्वच्छन्दतामाथि भने लगाम लगाउनुपर्छ ।
