बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

राजमार्ग स्तरोन्नतिको गति बढोस्

राजमार्ग स्तरोन्नतिको गति बढोस्


  • Dhorpatan News
  • असार २७ २०८०, बुधबार

पृथ्वी राजमार्गको मुग्लिन– पोखरा खण्डको स्तरोन्नति जारी छ । तर, गति भने असाध्यै सुस्त छ । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको राजमार्ग स्तरोन्नतिका कारण यात्रुहरुले सास्ति व्यहोरिरहेका छन् । समय र पैसाको नोक्सानी भइरहेको छ । राजमार्ग वरपरका बासिन्दाहरु धूलो र धुँवाबाट पीडित बनेका छन् ।

एसियाली विकास बैंकको सहयोगमा चार लेनको निर्माणाधीन सडक निर्माणको ठेकेदार चिनियाँ कम्पनी हुन् । मुग्लिन–आँबुखैरेनी,आबुँखैरेनी–दमौली, दमौली–विजयपुर खोला र विजयपुरबाट पृथ्वीचोक गरी ४ खण्डमा विभाजन गरिएको यो सडक २०८१ भदौभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने हो । तर, अहिलेसम्म पश्चिम खण्ड अर्थात् पोखरासँग जोडिएको क्षेत्रमा ७ प्रतिशतमात्र प्रगति भएको छ । काममा भएको ढिलाइले तोकिएको समयमा निर्माण नसकिने निश्चितजस्तै भएपछि दाता एसियाली विकास बैंकले नै चासो देखाएको छ । त्यो चासो संवोधनको लागि यसअघि नै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, चिनियाँ राजदूतसहितको टोलीले राजमार्गको अवलोकन गरेका थिए । उनीहरुले कामले गति लिन नसक्नुको कारणबारे जानकारी लिएका थिए ।

ठेकेदार कम्पनीले विद्युतका पोलहरु नसारिएको,केही पालिकाहरुले गिट्टी–ढुंगालगायतका निर्माण सामग्री उत्खननमा अवरोध गरेको तथा मुआब्जा दिन ढिलाइ हुँदा निर्माणले गति नलिएको प्रष्टीकरण दिएको थियो । हो, पृथ्वी राजमार्ग चक्ल्याउने क्रममा केही ठाउँमा विवाद देखिएको छ । पोखरा क्षेत्रकै कुरा गर्ने हो भने,१७० वटा घर विस्थापनमा पर्दैछन् तीमध्ये ११२ वटाको मुआब्जा वितरण गरिएको छ भने अन्यको प्रक्रियाा रहेको छ । राजमार्ग निर्माणमा ढिलाइ हुनु भनेको खर्च बढ्नुमात्रै हैन, पोखरा र समग्र गण्डकीले क्षति व्यहोर्नु हो । अतः राजमार्ग निर्माणको गति बढाउनैपर्छ । अवरोधहरु हटाउनैपर्छ । पोखरा महानगरले निर्माणलाई गति दिन आफ्नो क्षेत्रभित्रका संरचनाहरु हटाउन सुरु गरेको छ । सोलार लाइटका पोल हटाइसकेको महानगरले थालेको यो कदमलाई नागरिकको तर्फबाट पनि सहयोग गर्नुपर्छ । पृथ्वीमात्र नभएर मध्यपहाडीको गाँठो फुकाउन पनि नागरिक पहल हुनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->