बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जापानमा रहेका गलकोटेप्रति नमन !

जापानमा रहेका गलकोटेप्रति नमन !


  • Dhorpatan News
  • साउन २ २०८०, मंगलबार

बागलुङ जिल्लाको गलकोट नगरपालिका क्षेत्रबाट सयौं युवाहरु कामको लागि जापान पुगेका छन् । जापान पुगेका उनीहरुले परिवारको मात्र नभएर गलकोट क्षेत्रकै भलो चिताएका छन् । नगर अस्पताल निर्माण,एम्बुलेन्स संचालन,असक्त–असहायको सेवामा उनीहरु हरदम तयार छन् । गलकोट समाज जापानको छाताभित्र संगठित रहेका सदस्यहरुबाट पछिल्लो १० वर्षमा गलकोटकै विकासको लागि २० करोडभन्दा बढी सहयोग प्राप्त भएको छ ।सहयोगको लागि समाजका २ सय युवाहरु हरदम तम्तयार अवस्थामा रहन्छन् ।

कतै आपत प¥यो,कसैले उपचार पाएन वा सामाजिक अनि भौतिक संरचनाको लागि रकमको जोहो गर्नुप¥यो भने उनीहरुले तत्काल अभियान संचालन गर्छन् । सदस्यहरुले गच्छे अनुसार प्रदान गरेको सहयोग रकम तत्काल सम्बन्धित क्षेत्रमा पठाउँछन् । आफ्नो खर्च कटाए उनीहरुले सामाजिक कार्यकै लागि कोषसमेत निर्माण गरेका छन् । स्थानीयको माग, आवश्यकता एवं अनुगमनपछि गलकोट समाज जापानले रकम पठाउने गरेको जनप्रतिनिधिहरुको भनाइ छ । स्कूले विद्यार्थीलाई छात्रवृत्ति,शैक्षिक सामग्री, पुरस्कारको लागि अक्षयकोष निर्माण,खेल गतिविधिहरुमा सहयोग गरेर उनीहरु मातृभूमिप्रति सच्चा प्रेम प्रदर्शन गरिरहेका छन् । यो चानचुने कुरो हैन । उनीहरुको गतिविधि प्रशंसा गर्नमात्र हैन,सम्मान गर्न लायक रहेको छ ।

अहिले लाखौं नेपालीहरु विदेशमा छन् । वैदेशिक रोजगारीमा रहर हैन बाध्यता हो । परिवार, आफन्त र जन्मथलो छाडेर बिरानो भूमिका कठोर श्रम गरिरहँदा पनि जन्मथलोप्रति माया देखाउनु महानता हो । परिवारको सुन्दर भविष्यको लागि विदेशिएकाहरुबाट आपत–विपद्को बेला देश र समाजको लागिप्राप्त अतुलनीय योगदानको सम्मान गर्नैंपर्छ । भूकम्पको बेला होस् कि कोभिड १९ को संक्रमण । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले गच्छे अनुसार सामाजिक क्षेत्रमा मन खोलेर सहयोग दिएको ÷जुटाएको तथ्यप्रति राज्य बेखबर बन्न मिल्दैन ।

उनीहरुबाट प्राप्त सहयोगले धेरैले उपचार पाएका छन्, कतिको घर बनेको छ । कयौं भौतिक संरचना निर्माण भएका छन् । यो तथ्यलाई मनन गर्दै राज्यले उनीहरुलाई विशेष प्रोत्साहन प्रदान गर्नुपर्छ । कम्तिमा त्यस्ता दानवीरलाई एयरपोर्टमा आउँदा हैरानी व्यहोर्न नपर्ने व्यवस्था गर्न कठीन पनि हुँदैन । राज्यबाटै सम्मान गर्ने वातवरण बन्यो भने ‘मनका धनी’बाट थप सहयोग अनि रचनात्मक कार्य हुनसक्छ भन्ने बिर्सनु हुँदैन । अर्कोतर्फ, विदेशी भूमिमा पसिना बगाएर गरेको सहयोगको सही सदुपयोग चाहिँ हुनैपर्छ ।

कतिपय अवस्थामा विदेशमा रहेका नेपालीहरुबाट प्राप्त सहयोग दुरुपयोग पनि भएको छ । गलकोट समाज जापानले चाहिँ सहयोगको सही सदुयोग भए÷नभएको हेर्ने गरेको छ । सहयोगको सदुपयोग हुनैपर्छ । मुख्य कुरा चाहिँ, जापानमा रहेका गलकोटेले जे गरेका छन्,त्यो अनुकरणीय र प्रशंसनीय छ । जापानमा रहेका गलकोटेहरुलाई साधुवाद !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->