राजश्व अनुसन्धान विभागले साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएको सय किलो सुन बरामद ग¥यो । सुराकीको आधारमा चेकजाँच पार गरिसकेको अवस्थामा सुन भेटिएसँगै विमानस्थलबाट निर्वाध सुन तस्करी भइरहेका नयाँ सूचनाहरु बाहिर आएका छन् । यो प्रकरणमा संलग्न १० जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले तस्करीको विस्तृत अनुसन्धान गर्न एउटा छुट्टै समिति बनाएको छ ।
त्रिभुवन विमानस्थलबाट यसअघि पनि अवैध सुन बरामद हुँदै आएको थियो । तर, पछिल्लो समय बरामद गरिएको परिणाम अहिलेसम्मकै सबैभन्दा धेरै हो । रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु)भित्र लुकाएर ल्याइएको सुन बरामद भएपछि विमानस्थल सुरक्षामाथि प्रश्न उठेको छ । राजनीतिक संलग्नताको आशंका पनि गरिएको छ । भन्सारमा सामान्य नागरिक आउँदा पनि कडा चेकजाँच हुन्छ । त्यहाँ रहेको मेटल डिटेक्टरले अवैध सामान पहिचान गर्छ ।
तर, यति ठूलो परिणामको सुन ल्याउँदा त्यहाँको मेसिन के भएको थियो भन्ने प्रश्न यतिबेला आम जनताले उठाइरहेका छन् । जुन जायज पनि छ । कर्मचारीको मिलेमतो बिना तस्करी हुनै नसक्ने तर्कलाई नजरअन्दाज गर्ने अवस्था छैन । पटक–पटक सुन बरामद हुने, भरिया समातिने तर वास्तविक मालिकले उन्मुक्ति पाउने गरेका दृष्टान्तको पनि स्मरण गरिएको छ । यो पटक पनि समातिएकाहरुले सहजै उन्मुक्ति पाउने हुन् कि भन्ने आशंकालाई सरकारले आशंकामै सीमित राख्नुपर्छ । राजनीतिक नेतृत्व नै संलग्न छ भने पनि उनीहरुले उन्मुक्ति पाउनु हुँदैन । अनुसन्धान फिलतो हुनुहुँदैन ।
अर्कोतर्फ,व्यवसायीहरुले बजारमा सुन अभाव रहेको बताउँदै आएका छन् । सुनचाँदीको कारोबार गर्नेहरुको भनाइ मान्ने हो भने केही समयअघि एक तोला अर्थात् १० ग्राममा ६ हजारसम्म बढी मूल्य तिर्नुपरेको र त्यो अहिले ३ हजारमा झरेको जानकारी दिएका छन् । ठूलो मात्रामा अवैध मार्गबाट सुन भित्रिएकाले यो अवस्था आएको उनीहरुको तर्क छ । पर्याप्त आयात छुट नदिँदा यो अवस्था आएको पनि उनीहरुको भनाइ छ । त्यस्तो हो भने, आवश्यकता अनुसारको सुन आयातको व्यवस्था चाहिँ मिलाउनुपर्छ । तस्करहरुलाई प्रश्रय दिने काम बन्द गरिनुपर्छ ।
