१४ औं महाधिवेशन सम्पन्न भएको करिब एक वर्षपछि नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलायो । पार्टी सभापति शेरबहादुर देउवाले समयमै कांग्रेस विधान अनुरुप गर्नुपर्ने धेरै कामहरु गरेनन् ।
चौतर्फी दवाबपछि मात्र उनले केन्द्रीय समितिको बैठक डाके । उनले बैठकलाई फेसबुकबाट लाइभ गर्ने प्रबन्ध मिलाए । कांग्रेसले रणनीति तय गर्नुपर्ने बैठकको प्रत्यक्ष प्रशारण गरेर लोकतान्त्रिक चरित्र प्रदर्शन ग¥यो । कांग्रेसका नेताहरुको विचार कस्तो छ,उनीहरु के सोच्छन् र जनताका लागि के एजेण्डा छन् भन्ने कुरा जनताले घरै बसेर थाहा पाए । नेपाली कांग्रेस समग्रमा हेर्दा एउटा पार्टी भए पनि यहाँ विभिन्न गुटहरु रहेका छन् । गुट चलाउनेहरुले विचार समूह भने पनि वास्तवमा ती विचार समूह नभएर आफूलाई केन्द्रमा राखेर निर्माण गरिएका गुट नै हुन् । गुटहरुमध्ये संस्थापन सर्वथा बलियो हुन्छ । कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि त्यही देखियो । अधिकांश केन्द्रीय सदस्यहरुले संस्थापन वा नेतृत्वको बचाउमा समय खर्चिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबाट प्रस्तुत वैचारिक र रणनीतिक योजनाबारे कम र उनीहरुको आलोचना अनि नेतृत्वको गुणगान र व्यक्तिको मानमर्दनमा समय खर्चिने काम केन्द्रीय सदस्यहरुबाटै भयो । जे भए पनि सभापति शेरबहादुर देउवाले सबैको कुरा सुने,कुनैबेला झोक्किए पनि उनले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिए । आलोचनालाई स्वभाविक रुपमा लिएको बताएर उनले आफूलाई लोकतान्त्रिक दलको नेता भएको पु्ष्टि गरे ।
कांग्रेस बैठकले केही निर्णय पनि गरेको छ । हुनुपर्ने नीति अधिवेशनलाई पर सार्दै आउँदो मंसिरमा महासमिति बैठक घोषणा गरिएको छ । विचारको बहस कम भएको कांग्रेस केन्द्रीय समिति बैठक समग्रमा औपचारिकतामा सीमित भएको छ । सभापति पार्टीमा शक्तिशाली भएको पुुष्टि भएको छ भने चुनौती दिन तम्सिएका महामन्त्रीहरु रक्षात्मक देखिएका छन् । नेताहरुले नै ‘भारदारी सभा’को संज्ञा दिएको बैठक भ्रष्टाचारजस्तो गम्भीर विषयमा मौन बसेको छ । नेता बालकृष्ण खाँण भ्रष्टाचार मुद्दामा जेलमा छन् तर भ्रष्टाचारजस्तो गम्भीर अभियोग लागेका नेतालाई पार्टीले निलम्बन गरेको छैन । भ्रष्टाचारविरोधी अभियानलाई सघाउनुपर्ने सत्तारुढ कांग्रेसको गम्भीर मौनताले उसको शाख गिरेको छ ।
पछिल्लो समय कांग्रेसप्रति आम जनताको विश्वास खस्कँदै गएको छ । गएको उपनिर्वाचनले कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दिएको छ । तर, केन्द्रीय समितिको बैठक हेर्दा, कांग्रेस सुध्रिने बाटोमा अग्रसर भएको देखिँदैन । विचारको बहस नै नहुने, गतिला नीति र कार्यक्रम नल्याउने र व्यक्ति केन्द्रीत बहसमात्रै गर्ने हो भने कांग्रेस जनताबाट बिस्तारे टाढा हुने सम्भावना बढेर गएको छ । बैठक लाइभ गरेर आन्तरिक लोकतन्त्र भएको सन्देश दिइरहँदा पनि कांग्रेस लोकतान्त्रिक नभएको सन्देश दिन चाहिँ केन्द्रीय समितिको बैठक सफल भएको छ । युगचेत नभएको,सुध्रिन नचाहने र रुढ कर्मकाण्डीपनबाट बाहिर निस्कन नसक्ने पुरानो पार्टी नै देखिएको छ ।
