बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

फोहर व्यवस्थापनमा नागरिकको दायित्व

फोहर व्यवस्थापनमा नागरिकको दायित्व


  • Dhorpatan News
  • साउन १४ २०८०, आइतबार

सहरीकरण बढ्दो छ । बढ्दो सहरीकरणले समस्याहरु निम्त्याएका छन् । र, तीमध्ये सबैभन्दा चुनौतीपूर्ण समस्या चाहिँ फोहर व्यवस्थापन बनेको छ । सहरी क्षेत्रबाट निस्कने फोहरले जल र जमिन प्रदूषित भएको छ भने नागरिकहरुको स्वास्थ्यमा नकारात्मक असर पारेको छ ।

पोखराकै कुरा गर्ने हो भने अहिले सहरका मुख्य चोकहरुमा फोहरको डंगुर लागेको छ । पोखरा ३२ को लामेआहालका स्थानीयले फोहर विसर्जनमा अवरोध गरेपछि सहरमा फोहर थुप्रिएको हो । फोहर थुप्रिँदा वातावरण प्रदूषितमात्र भएको छैन, रोग फैलिने खतरा पनि बढेको छ ।

पोखरा महागनरले लामो समयसम्म पोखरा १४ को बाच्छेबुडुवामा फोहर विसर्जन ग¥यो । आयू सकिए पनि त्यहाँ फोहर फाल्न छाडिएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै त्यहाँ फोहर फाल्न नमिल्ने भयो । फोहरका कारण आउने गिद्धसहितका पंक्षीहरुले उडानमा अवरोध गर्ने भएकै कारण महानगरले बाध्य भएर ल्याण्डफिल साइटमा फोहर विसर्जन रोक्यो । वैकल्पिक ल्याण्डफिल साइटको सम्भाव्यता अध्ययन गरिए पनि स्थानीयको विरोधका कारण नयाँ साइट निर्माण सम्भव भएन । महानगरले फोहरलाई मोहर बनाउने भन्दै विभिन्न अध्ययनहरु ग¥यो ।

नेपालमै फोहर व्यवस्थापनमा सफल मानिएका धरानदेखि वालिङका मोडलदेखि भारतमा गएर पनि अवलोकन गरियो । महानगरले अब बन्ने ल्याण्डफिल साइट फोहर प्रशोधन केन्द्र हुने र त्यसले स्थानीयलाई कुनै असर नगर्ने जानकारी पनि गरायो । तर, जहाँ बनाउँछु भन्यो,त्यही अवरोध आउने क्रम रोकिएन । पोखरा १४ को बाच्छेबुडुवा, काठमाडौंको सिसडोर र बञ्चरेडाँडाको विजोग देखेका नागरिकहरु तर्सिए । जसका कारण पोखरामा ल्याण्डफिल साइट निर्माणमा ढिलाइ भएको छ । अस्थायी रुपले फोहर फाल्ने ठाउँमा सम्झौता अनुसार काम नभएको भन्दै स्थानीय आन्दोलित भएका छन् । जसले गर्दा महानगरमाथि चुनौती थपिएको छ ।

आफू नजिक फोहर विसर्जनको सबै ठाउँका स्थानीयवासीको टाउको दुखाइ बन्छ । देशका अन्य भागमाजस्तै पोखरामा पनि त्यो समस्या देखिएको थियो÷देखिएको छ । यो अस्वभाविक हैन । स्थानीयको माग संवोधन नगरिए ल्याण्डफिल साइट निर्माण सम्भव छैन । आफ्नो वरपर फोहर विसर्जनलाई नागरिकहरुले रुचाउँदैनन् । उनीहरुलाई विश्वासमा लिनको लागि महानगरले विशेष प्याकेजको व्यवस्था गर्नुपर्छ । गण्डकीकै वालिङ नगरपालिकाले फोहर व्यवस्थापनमा नमूना प्रस्तुत गरेको छ । वालिङले फोहर व्यवस्थापनमा नागरिकहरुलाई परिचालित मात्रै गरेको छैन, फोहरको बर्गीकरण गर्दै त्यसलाई आय आर्जनको माध्यम बनाएको छ । नागरिकले कुहिने, नकुहिने तथा दिसाजन्य फोहोरहरु वर्गीकरण गरेर नगरपालिकालाई सघाएका छन् ।

वालिङले दिसाजन्य फोहरबाट बायो ग्यास र कम्पोष्ट मल उत्पादन गरेको छ । वालिङले जे गरेको छ,त्यसबाट अन्य सहरहरुले सिक्नुपर्छ । वालिङको जस्तै वा त्योभन्दा अत्याधुनिक प्लान्ट निर्माण गरिने र नागरिकको स्वास्थ्यलाई असर नहुने प्रतिवद्धता जनाउनुपर्छ । फोहर अभिषाप हैन,आम्दानीको स्रोत हो भन्ने बुझाउनुपर्छ । अर्कोतर्फ, आफ्नो सहर सफा राख्ने दायित्वबाट नागरिक विमुख हुन मिल्दैन । अहिले ट्यांकरहले फोहर उठाएक छैनन् । विसर्जन गर्ने ठाउँ नभेटेपछि उत्पन्न विषमतालाई मनन गर्दै नागरिकले सडकमा फोहर फाल्ने हैन कि,केही दिन घर–कम्पाउण्डभित्र राख्ने प्रबन्ध गर्नुपर्छ । संकटको बेला नागरिकले निर्वाह गर्नुपर्नै कर्तव्यबाट कोही च्यूत हुन मिल्दैन । पोखरेलीले अहिले जसरी सडकमा फोहर थुपारेका छन्, त्यसलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->