कास्की/ पोखरा ३३ का स्थानीयको अवरोधपछि पोखराका मुख्य सहरी क्षेत्रमा फोहरको डंगुर लागेको छ । महानगरले अस्थायी ल्यान्डफिल साइटको रुपमा प्रयोग गर्दै आएको पोखरा ३३ लामेआहालमा फोहोर बोक्ने सवारी साधनले बाटोमै फोहोर खसालेपछि स्थानीयले विरोध सुरु गरेका हुन् । पोखरा महानगरपालिकाले ६ महिनाको लागिमात्रै भनेर लामेआहालमा फोहोर फाल्ने सम्झौता गरेको थियो । तर, ६ महिना बित्दा पनि महानगरले वैकल्पिक व्यवस्था गर्न सकेन । सोही ठाउँमा लगातार फोहर फालिरह्यो । बस्तीको नजिक फालिएको फोहरले दुर्गन्ध बढाएपछि स्थानीयले पटक–पटक विरोध गर्दै आइरहेका छन् फोहोर फाल्ने कार्य रोक्न अदालतसमेत गुहारेका छन् ।
स्थानीय मेघराज पौडेलले सम्झौता अनुसारका काम नभएपछि अवरोध भएको बताए । स्थानीयबाट फोहोर व्यवस्थापनको विरोध नभएर समाधानको प्रयासग गरिएको पनि उनको जिकिर छ । पोखरा महानगरपालिकासँग भएको १६ बुँदे सम्झौता अनुसार महानगरपालिकाले फोहोर फाल्नेबाहेक अन्य कुनै पनि बुँदा कार्यान्वयन नगरेको उनले सुनाए । ‘अस्थायी रुपमा यहाँ फोहोर फाल्न भनि सम्झौता भयो ।
महानगरसँग १६ बँुदे सम्झौता भएको थियो । ती १६ बुँदामा महानगरले १५ बुदाँ छाडेर खालि एक बँुदा मात्रै पूरा गरेको छ, त्यो हो फोहोर फाल्न,े’ उनले भने । उनका अनुसार फोहोरको व्यवस्थापन उचित तवरले नहुँदा ३ किलोमिटर वरपरको क्षेत्रमा दुर्गन्ध फैलिइरहेको छ । स्थानीयको स्वास्थ्य बिग्रेको छ भने नदीमा केमिकल मिसिएको छ । ‘समस्या समाधानको लागिड जिल्ला अदालतमा रिट दर्ता गरेका छौं । सेती नदीमा रसायनसहितको पानी बगिरहेको छ । मानवीय संवेदनाप्रति कसैको ध्यान छैन । हिजो (शुक्रबार) आँट गर्नुभएन मुद्दा चलाउन (अदालतले) । मुद्दा चल्ने स्थितिमा छ,’ उनले थपे, ‘हामीले फोहोर व्यवस्थापन गर्न नदिएको आज चौथो दिन भएको छ । यही ४ गते महानगरपालिकालाई अल्टिमेटम पनि दिएका थियौँ । तीन दिनभित्र काम सम्पन्न भएन भने मेयर साब आफैले बन्द गर्नू भन्नुभएको हो । हामीले मेयर साबको निर्देशन पालना मात्रै गरेका हौं । तीन दिनभित्र माग पूरा नभए बन्द गरिदिनुन् भन्नुभयो सोही अनुसार आज हामीले बन्द गरेका हौं ।’
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले चाहिँ स्थानीय युवाहरुको विरोधका कारण महानगरको फोहोर उठ्न नसकेको बताए । उनले अदालतमा निवेदन परेको र अदालतले निवेदन अनुसार आदेश नगरी २१ गतेलाई दुवै पक्षलाई छलफलमा डाकेको बताए । ‘मुद्दा परेको त केही छैन् ।स् वास्थ्यमा प्रतिकूल असर परेको हुनाले महानगरपालिकाले यो ठाउँमा फोहोर विसर्जन नगर्ने आदेश होस् भन्नुभएको छ । त्यो चाहिँ त्यस्तो आदेश अदालतले गरेन । छलफलका लागि दुवै पक्षलाई बोलाएको छ,’ मेयरले भने, ‘स्थानीय युवाहरुले फोहोर नफाल्नुस भन्नुभएको छ । छलफल भइरहेको छ । छिट्टै उठ्छ । सानो टुक्रा खसेको छ त्यो विषयलाई दुई टिम बसेर सुल्झाउने प्रयास भइरहेको छ ।’ मेयरका अनुसार स्थानीयसँग वार्ता नमिलेसम्म पोखराको फोहोर उठ्ने छैन् । फोहोर कहिले उठ्ने भन्ने यकीन नभएको उनले बताए । ‘ठ्याक्कै कहिले उठ्छ भनेर त भन्न सकिन्न । छलफल नसकिएसम्म फोहोर उठ्दैन्,’ मेयर आचार्यले भने । पोखरा महानगरपालिकाका सरसफाइ शाखा प्रमुख कल्पना बरालले स्थानीयको विरोधका कारण फोहोर व्यवस्थापन हुन नसकेको जानकारी दिइन् । उनले अपेक्षाअनुसार व्यवस्थापन नभएको कारण स्थानीयबाट विरोध भएको बताइन् ।
‘फोहोरको गाडी हिँड्ने क्रममा थोरै फोहोर बाटोमा खस्यो रे । ल्याण्डफिल साइट जाने बाटोमा । सानो फोहोर खसेको र उठाऊ भन्दा नउठाएको रहेछ,’ उनले भनिन्, ‘स्थानीयको माग त बढ्छ नै । उहाँहरुको अपेक्षा अनुसारको व्यवस्थापन भएन भन्ने हो । बिहीबारबाट फोहर उठेको छैन । व्यवस्थापन गर्न खोजेको हो तर बर्खाको समयमा माटो हाले पनि बगाउनेलगायत समस्याहरु छन् ।’ अहिले पोखरा महानगरपालिकाको मुख्य बजार क्षेत्रका सडक पेटी फोहोरले भरिन थालेका छन् ।
मेयर आचार्यले डम्पिङसाइट नबनाई फोहोर प्रशोधन केन्द्र बनाउने बताउँदै आइरहेका छन् । फोहोर प्रशोधन केन्द्र बस्तीकै बीचमा बनाए पनि फरक नपर्ने दाबी उनको छ । महानगरले परिकल्पना गरेको फोहोर प्रशोधन केन्द्रलाई महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्ने उनको उद्घोष छ ।
पोखराबाट दैनिक २ सय टन हाराहारी फोहर निस्कन्छ । फोहर व्यवस्थापनको लागि महानगरले यसअघि पोखरा १६ र २० को बीचमा पर्ने पस्मराङमा ल्याण्डफिल साइट बनाउने भनियो । स्थानीयले बिरोध गरे । मेयर धनराज आचार्य स्वयं ल्याण्डफिलको लागि जग्गा खोज्न हिँडे । आफ्नै वडा अर्थात् वडा नम्बर ३३ को टिमुरपाटामा ल्याण्डफिल साइट निर्माणको लागि अघिल्लो वर्ष नै १० करोड विनियोजन गरियो । तर, स्थानीयले विरोध गरे । अहिले पोखरा ३३ कै पुँडीटारमा ल्याण्डफिल साइट बनाउने योजना अघि बढेको छ । तर,काम अगाडि बढेको छैन ।
वालिङबाट सिकौं
एक अध्ययन अनुसार पोखरामा दैनिक २ सय टनको हाराहारी फोहर उत्पादन हुन्छ । उत्पादित फोहरमध्ये करिब २० प्रतिशत कवाडीजन्य सामग्री हुन्छ । त्यसलाई प्रशोधन गरी आम्दानीको स्रोत बनाउन सकिन्छ । त्यस्तै प्लाष्टिकजन्य फोहर पुनः प्रयोग गर्न सकिने खालका हुन्छन् भने कुहिने फोहरबाट बायोग्यास उत्पादन गर्न सकिन्छ । राम्रोसँग व्यवस्थापन गर्न सकियो भने फोहरलाई मोहरमा बदल्न सकिन्छ । हेटौंडाले निजी क्षेत्रसँगको सहकार्यमा तथा गण्डकीकै वालिङले अपनाएको मोडलाई फोहर व्यवस्थापनको सफल मोडल मानिन्छ । पोखराले वालिङबाट सिक्नसक्छ । वालिङ नगरले फोहर संकलनको लागि नक्सा बनाएको छ ।
नगरपालिकाले वेस्ट म्यापिङ गरेको छ भने वेस्ट एप्स तथा फोहर बोक्ने गाडीहरुलाई जीपीएसमा जोडेको छ । त्यही एप्समार्फत् नागरिकले कुहिने, नकुहिने तथा दिसाजन्य फोहोरहरु बोक्ने गाडीको अवस्था पत्ता लगाउँछन् । दैनिक तालिका बुझ्छन् र फोहर फाल्ने समय मिलाउँछन् । कुहिने फोहर फाल्ने दिनमा कुहिने र नकुहिने फोहर फाल्ने दिनमा नकुहिने फोहर गाडीमा हाल्छन् । कसैले गलत गरे जरिवाना तिर्नुपर्छ ।
दिसाजन्य फोहरबाट बायो ग्यास र कम्पोष्ट मल उत्पादन गरेको छ । एन्फो संस्थाको प्राविधिक डिजाइन सहयोग, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा वडा नंबर १ मजुवामा प्लाण्ट बनेको छ ।
प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्यास निकाल्ने र पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने व्यवस्था छ ।१४ वटै वडाका सेफ्टीट्याङ्की भरिएपछि दिसाजन्य फोहर ल्याइन्छ । सेफ्टीट्याङ्की सफा गर्न नगरपालिकाले ६ हजार ५ सय शुल्क लिन्छ । यसो गर्दा पानीका स्रोतहरु दूषित हुनबाट जोगिएको छ । नागरिकले सस्तोमा सेवा पाएका छन् ।
सिकाइ केन्द्र पनि
।वालिङ नगरपालिकाका बजार क्षेत्रका वडाहरुमा गठन गरिएको सरसफाई उपसमितिले आ–आफ्नो टोलमा कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाइ कर्मीहरु नियुक्ति गरि सरसफाइ कार्य अगाडि बढाइएको छ । वालिङ नगरपालिका र दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाबीच फोहोरमैला ब्यवस्थापनको सम्झौता भएको छ । नगरपालिकाले फोहोर मैलाका क्षेत्रमा अगाडि बढाएको वालिङ मोडेल भनेको कुहिने÷नकुहिने÷सिसाजन्य फोहोर सङ्कलन गरी ‘इण्डष्ट्रियल वेस’ मा लैजाने र कुहिनेबाट कम्पोष्ट मल बनाउनु,सेवामा आधारित हुनु र अधिकतम प्रविधिको प्रयोग गरी पुनः प्रयोग गर्नुले नै हो । नगरपालिकाले भने फोहोरमैलाको व्यवस्थापनबाट वार्षिक २४ लाखभन्दा बढी आम्दानी गर्दै आएको छ ।





