भूपी शेरचनले उहिल्यै भनेका थिए–
यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छन्
यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो
एउटा चिसो एष्ट्रे जस्तो छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजधानी हो, काठमाडौं । धेरैले यसलाई सपनाको सहरको रुपमा अथ्र्याउँछन् । सामाजिक सञ्जाल र सूचना प्रविधिले संसारलाई जोड्दा काठमाडौंको विकल्प रोज्ने अधिकार नेपालका दूरदराजका नागरिकसँग पनि छ तर उनीहरु अभिषप्त छन् । उनीहरुको लागि काठमाडौं खाल्डो सबैथोक हो । त्यसैले काठमाडौंप्रतिको आकर्षण घटेको छैन । काठमाडौं स्वरुपमा हिजोको जस्तो छैन तर प्रवृत्ति उही देखाउँछ ।
बाहिरबाट सपना बोकेर आउनेहरुलाई अनागरिक मान्न पनि छाड्दैन, अरु त अरु, काँठतिरकालाई हेप्न पनि भ्याउँछ । पुरानो सत्ता र राज्य संरचना भत्किएर के भयो त ? काठमाडौंको सत्तामा बस्नेहरु आफूलाई त्यही पुरानो साम्राज्यको प्रतिनिधि सम्झन्छ । हिजो आफै आएको बाटो भुल्छ, संघर्षका कथाहरु सम्झँदैन र चिसो एष्टे«को चिसो मान्छे बनिदिन्छ । यसको उदाहरण खोज्न पर जानै पर्दैन । काठमाडौं खासमा त्यही खाल्डोभन्दा बाहिर संसार नै छैन र आफ्नो दायित्व नै छैन भन्ने सम्झन्छ । देश संघीयतामा गइसकेपछि पनि उसको मानशिकता बदलिएको छैन । त्यसैले ऊ प्रदेश र स्थानीय तहहरुलाई अधिकार दिन कञ्जुस्याइँ गरिरहेको छ । प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारसँग अधिकार माग्न थालेको ६ वर्ष पुगिसक्यो तर ऊ अधिकार दिन तयार छैन ।
प्रहरी ऐन र अन्य आवश्यक ऐनहरु बनेकै छैनन् । जसले गर्दा अहिले पनि प्रदेश सरकारहरु अधिकारविहीन बनिरहेका छन् । प्रधानमन्त्री प्रचण्डकै उपस्थितिमा केही समय अगाडि पोखरामा मुख्यमन्त्रीहरुको भेला भयो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताको खम्बा भनेकै प्रदेश भएकाले प्रदेशलाई बलियो बनाउने माग राखे । जग्गा प्राप्ति,निजामति कर्मचारीका समस्या सल्टाउन पनि उनले माग गरे । प्रधानमन्त्री प्रचण्डले प्रदेशको नामाकरणलाई उपलब्धीको रुपमा अथ्र्याए ।
उनले साझा लक्ष्य प्राप्तिको लागि तीनवटै तहका सरकारहरु मिलेर अगाडि बढ्नुको विकल्प नभएको पनि बताए । समस्याको गाँठो फुकाउँदै जाने उनको प्रतिवद्धता थियो । सम्मेलन सकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएको छ । तर, पर्याप्त कानून र अधिकार नहुँदा प्रदेश सरकारहरु खुम्चिएका छन् । काठमाडौं अधिकार बाँडफाटमा अनुदार भइरहेको उनीहरुले ठानेका छन् । खासमा काठमाडौंले समग्र देशको दुःख र पीडा देख्नुपर्छ,अभिभावकत्व ग्रहण गर्दै अधिकार बाँडफाटमा उदार बन्नुपर्छ । त्यसले मात्र संघीयता बलियो हुन्छ । संघीयता विरोधीहरुको आवाज मत्थर पार्न पनि प्रदेशको गति बढाउनै पर्छ । जबसम्म काठमाडौं स्वार्थी भइरहन्छ,त्यो बेलासम्म संघीयता पनि बलियो बन्दैन ।
