बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

राजमार्गहरु सुचारु रहून्

राजमार्गहरु सुचारु रहून्


  • Dhorpatan News
  • साउन २९ २०८०, सोमबार

गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको पृथ्वी राजमार्ग स्तरोन्नतिका कारण अस्तव्यस्त छ । आउँदो वर्ष सक्नुपर्ने परियोजनाको काम असाध्यै धीमा गतिमा अगाडि बढेको छ । जसले गर्दा देशको संघीय राजधानी काठमाडौं र पोखराबीचको यात्रा कठीन भएको छ । करिब ६ घण्टाको यात्रा १२ घण्टामा उक्लिएको छ । लागत बढेको छ । स्तरोन्नतिको गति बढाउन पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि उपलब्धि भएको छैन । यता, बर्खा लागेसँगै गण्डकीसहित देशैभरका राजमार्गहरुमा अवरोध उत्पन्न भएको छ । सहायक राजमार्गहरुको अवस्था त झन बिजोग छ । हिमाल पारिको जिल्ला मनाङ जाने सडकमा ३५ ठाउँमा पहिरो गएको छ । जसले गर्दा मनाङ सडक सञ्जालबाट विच्छेद बनेको छ । मध्यपहाडी र सिद्धार्थ राजमार्ग, मालढुंगा–बेनी सडक खण्डको हालतले पनि यात्रुलाई सकस दिइरहेको छ ।

बर्खामा सडक बिग्रने नयाँ रोग हैन । हरेक वर्षको बर्खायाममा बाढी–पहिरोले राजमार्ग र सहायक मार्गहरुमा अरबौंको क्षति पु¥याउँछ । हिउँदमा ध्यान नदिने तर बर्खा लागेपछि मर्मतका निम्ति तात्ने रोगका कारण पनि राजमार्गहरु धरापमा परिणत हुँदै आएका छन् । यो रोगको दीर्घकालीन निदान अत्यावश्यक छ । यसको लागि भौतिक पूर्वाधार मन्त्रालय, सडक डिभिजन कार्यालयसहितका सरोकारवाला निकायहरुले विशेष योजनासहित काम थाल्नैपर्छ ।

असुरक्षित सडकहरुलाई कसरी सुरक्षित बनाउने, बाढी र पहिरोबाट कसरी जोगाउने भन्नेबारे गम्भीर हुन नसके अर्को वर्ष पनि यही नियति दोहोरिन्छ । बर्खा सकिएको छैन । बर्खाको भेल र पहिरोले कहाँ कति क्षति पु¥याउने हो भन्ने यकीन छैन । तर, सचेतता चाहिँ जरुरी छ । राजमार्गमा आउने सम्भावित पहिरो र बाढीलाई मध्यनजर राख्दै तत्काल अवरोध पन्छ्याउने संयन्त्र तम्तयार पार्नेमात्र हैन, आवश्यक परेको बेला उद्धार र राहतको टोली पनि खटाउनुपर्छ ।

गण्डकी प्रदेश सरकारले बाढी र पहिरोबाट निम्तनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सचेत हुन आग्रह त गरेको छ तर यति नै काफी छैन । प्रदेश सरकार विपत् व्यवस्थापनमा पनि उत्तिकै सक्रिय हुनुपर्छ । विपत् व्यवस्थापन कोषमा राखिएको रकमबाट समस्याको दीर्घकालीन समाधान खोज्ने तथा तत्काल आइपर्ने समस्या समाधान गर्ने परम्पराको विकास हुनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->