२०३१ सालमा पृथ्वी राजमार्गको निर्माण सम्पन्न भएसँगै पोखरामा पृथ्वीनारायण शाहको शालिक स्थापना गरियो । नयाँ चोकको नाम नै सोही शालिकले जुरायो । चोकलाई पृथ्वीचोक भन्न थालियो । आज पर्यन्त सो ठाउँ यही नामले पुकारिन्छ । तर, २०६४ सालमा पृथ्वीनारायणको शालिक फुटाइयो माओवादी नेतृत्वको मजदुर संगठनले मजदुर दिवस मनाउने क्रममा शालिक तोडफोड गरेसँगै त्यहाँ नेपालका प्रथम शहीद लखन थापाको शालिक ठड्याइयो । पृथ्वीनारायणको शालिक पोखरा १८ जामुनबोटमा सारियो । त्यहाँसम्म ठिकै थियो । तर, पछि महानगरले चोकमा रहेका शालिक हटाउने निर्णय ग¥यो । सडक विस्तारको क्रममा लखन थापाको शालिक पनि हटाइयो ।
जनजातिहरुले सो शालिकसँग अपनत्व जोडिएको बताउँदै आन्दोलन छेंडे । महानगरले पुनः त्यहाँ लखनको शालिक राख्यो । त्यसमा अर्को समूहले असन्तुष्टि जनायो । शालिक नै राख्ने भए पृथ्वीकै राख्नुपर्ने उनीहरुको तर्क थियो । विवादकै बीच गएको पुस २७ गते त्यहाँ पृथ्वीको पनि प्रतिमा ठड्याइयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको नेतृत्व गरेको थियो । तर, २४ गते २९ औँ अन्तर्राष्ट्रिय जनजाति दिवस मनाउने क्रममा पृथ्वीको प्रतिमा फालियो । असन्तुष्टि बढ्यो । असन्तुष्टिको संवोधनको लागि महानगरले सबै शालिकहरु व्यवस्थापन गर्ने घोषणा गरे पनि त्यसले विवाद मत्थर भएन । बरु, नेपाली कांग्रेसले पनि सो निर्णयप्रति असहमति जनायो । सहरका अन्य चोकमा भएका कांग्रेसका नेताहरुको शालिकसँग साइनो जोडिएकाले कांग्रेस विपक्षमा उभिएको प्रष्ट छ । यता, यहीबीचमा समाज नै लखन र पृथ्वीनारायणको पक्षमा विभक्त हुनपुग्यो । त्यो विवाद मत्थर भएको छैन । जनजाति महासंघलगायतले त्यहाँ लखनकै शालिक हुनुपर्ने र राप्रपाले पृथ्वीको शालिकको माग गरिरहेका छन् ।
कतिपय नामहरु यस्ता हुन्छन्,जसलाई बिर्सन वा इतिहास निमिट्यान्न पार्न खोजे पनि सकिँदैन । पोखराको पृथ्वीचोक यस्तै नाममध्ये एक हो । पृथ्वीनारायण शाह राष्ट्र एकीकरणका नायक भएकोमा कुनै द्धिविधा छैन । इतिहासका विभिन्न कालखण्डका शासकहरुको आ–आफ्नै विशेषता र योगदान हुन्छ । उनीहरुबाट सम्पादित सबै काम राम्रा नै हुन्छन् भन्ने छैन तर असल कर्मकै कारण उनीहरु बाँचिरहन्छन् । पृथ्वीनारायण त्यस्तै पात्रमध्ये एक हुन् । उता, राज्यले प्रथम शहीदको दर्जा दिएको लखनलाई नजरअन्दान गर्ने ठाउँ छैन/मिल्दैन ।
शालिक आफैंमा निर्जीव हुन्छ । जसको शालिक हो,उसको आग्रह–पूर्वाग्रह रहने कुरै भएन । तर, शालिकलाई लिएर आग्रह र पूर्वाग्रह पालिँदा भने यहाँ द्वन्द्व निम्तिएको छ । सतहमा शालिक देखाएर घृणाको राजनीति गर्ने अनि स्वार्थको रोटी सेक्ने प्रवृृत्तिको पुनरावृत्ति हुन्छ कि भन्ने आशंका निम्तिएको छ । जुन दुर्भाग्यपूर्ण छ । यो विषयको सक्दो छिटो सुझबुझपूर्ण तरिकाले निरुपण गरिनुपर्छ । शालिकको व्यवस्थापन मेयर वा महानगरको मात्र सरोकार हैन र रहेन भन्ने प्रष्ट छ । अतः यो विषयमा नागरिक समाजले संयमपूर्ण हुँदै निकासको पहलकदमी लिनुपर्ने भएको छ । संलग्न पक्षहरु पनि त्यत्तिकै संयम हुन जरुरी छ ।
