शाह वंशका अन्तिम राजा, ज्ञानेन्द्र शाह । उनको ‘सनक’मा सञ्चालित राज्य सत्ता । उनीद्वारा सञ्चालित राज्य सत्ताको अन्तिम क्षणका उत्कर्ष दिन । अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकबाट बञ्चित नागरिकका उकुसमुकुसबीच २ दशकअघि आजकै दिन ढोरपाटन दैनिक प्रकाशन भएको थियो । ढोरपाटन दैनिकले दुई दशकको यात्रा पूरा गरी आजबाट २१ औं वर्षमा प्रवेश गरेको छ । मोफसलमा रहेर निजी क्षेत्रबाट सञ्चालित व्यावसायिक सञ्चार संस्था अविचलित रुपमा २० वर्ष पार गर्नु आफंैमा एउटा उपलब्धि हो । अझ, जिल्लाहुँदै प्रदेश राजधानीबाट एकसाथ प्रकाशन हुने कुरा त्यति सजिलो पनि होइन् ।
यसको पछाडि ढोरपाटन राष्ट्रिय दैनिकसँग जोडिएर विभिन्न सयममा आफ्नो भूमिकामा रहनुभएका सवै सहकर्मी÷सञ्चालकको अथक प्रयत्न र कडा परिश्रमको महत्वपूर्ण हात छ । यसो भनिरहँदा, यो यात्रामा सघाउने समाज, व्यक्ति र संस्थाहरुको फराकिलो माया, साथ र सहयोग उत्तिकै स्तूत्य छ । यो अवसरमा महत्वपूर्ण योगदान पु¥याउने श्रद्धेय पाठक, लगनशील कर्मचारी, सिर्जनशील पत्रकार, उत्साही वितरक, सहयोगी विज्ञापनदाता र सवै शुभेच्छुकप्रति हार्दिक आभार प्रकट गर्दै शुभकामना व्यक्त गर्दछौ । निजी क्षेत्रबाट दीगो रुपमा सञ्चार उद्यम चलाउने र व्यावसायिक पत्रकारिताको संस्थागत जग बसाल्ने हाम्रो संकल्प सामूहिक सहकार्य र यहाँहरुको न्यानो मायाबाट मात्रै सम्भव भएको स्मरण गर्न चाहान्छौ ।
ढोरपाटन राष्ट्रिय दैनिकले लोकतन्त्र, गणतन्त्र र संघीयताको राष्ट्रिय प्रतिवद्धतामा आफूलाई एकाकार गराउदै यसलाई सवल र समृद्ध बनाउन आफ्ना सञ्चार सामग्रीमा विशेष जोड दिँदै आइरहेको छ । गणतन्त्र नै यस्तो व्यवस्था हो, जसले नागरिकलाई सर्वशक्तिमान बनाउँछ । यो व्यवस्थालाई मजबुत र बलियो बनाउने जिम्मेवारी पनि हाम्रो नै हो । गणतन्त्रका लहरा फैलाउन र यसलाई बलियो बनाउन हामी थाँक्रा बन्न तयार छौं । प्रतिकूलताको कालो बादलमा सधै ‘चाँदीका घेरा’ देख्ने, नियाल्ने र अगाडि बढ्ने हाम्रो विशेषता हो । गणतन्त्र प्राप्तिको लागि भएको दोस्रो जनआन्दोलन र नागरिक स्वायत्तताका संघर्षमा संचार जगतको अग्रणी भूमिका निर्वाह गर्न हामी पछि हटेनौं । संघीय अभ्यासलाई सबल तुल्याउने हेतुले प्रदेश राजधानीको यात्रा तय ग¥यौं । विश्वव्यापी फैलिएको कोभिड १९को महामारी र आर्थिक मन्दीलाई पनि सामना गर्दै अगाडि बढिरहेका छौं । प्रतिकुलताको कालो बादलमा पनि चाँदीका घेरा देख्ने, नियाल्ने र अगाडि बढ्ने हाम्रो विशेषता हो । एकतामा विश्वास गर्ने हाम्रो स्वभावले उज्यालो भविष्य नै देखिरहेको छ । विगत र विरासतले हामी जति समृद्ध छौ, भविष्य पनि त्यति नै सुन्दर र सवल बनाउनुपर्ने दायित्ववोध हामीले गरेका छांै ।
भ्रामक सूचना, मिथ्या समाचार र नियोजित प्रचारवाजीको जगमा राजनीति गर्ने परिपाटी हाम्रो लागि पनि चुनौती बनेर खडा भएको छ । यसको दुष्प्रभाव नेपाली राजनीतिमा पनि भित्रिएको छ । व्यक्ति÷संस्था विशेषको स्वार्थमा आधारित लगानीवाट संचालित ‘सीमित सामाजिक सञ्जाल’ले तथ्यमा आधारित सत्यलाई दिग्भ्रमित गरिरहेका छन् । यस्तो अवस्थामा व्यावसायिक संचारमाध्यम आफ्नो दायित्ववोध ‘विश्वासनीय समाचार र सर्वपक्षीय विचार’को कर्तव्यबाट पछि हट्नु हुँदैन भन्ने दृष्टिकोणमा हामी प्रष्ट छौं । पाठकलाई समाचार कुन हो र मिथ्या प्रचार कुन हो भन्ने भेउ दिलाउने दायित्व हाम्रै काँधमा आएको हामीले महसुस गरेका छौं । प्रविधिलाई आत्मसात गर्न हामी पछि पर्दैनौं । २१ वर्ष प्रवेशको अवसरमा, ढोरपाटन राष्ट्रिय दैनिकलाई वर्तमान डिजिटल युग सुहाउँदो परिवर्तन र सुधार गरेर प्रतिस्पर्धात्मक बजारमा अझ खरो र दरो रुपमा उभ्याउँदै अगाडि बढ्ने प्रण गर्दछौं ।
हरिनारायण गौतम
प्रधान सम्पादक
