हरेक दिन २ हजारको हाराहारीमा युवाहरु विदेशिन्छन् ।सन्तानलाई बिदाइ गर्नुपर्दाको पीडा आमाबाबुलाई मात्र थाहा हुन्छ । विदेशमा सबै राम्रो भइहाल्छ भन्ने पनि छैन । स्वदेशमा अवसरहरु खुम्चिँदा विदेशिनु बाध्यता बनेको छ । देशको सार्वजनिक प्रशासन र सेवा निकम्मा हुने खतरा बढेको छ । यहाँ त्यस्तो कुनै संरचना र संस्था बाँकी छैन, जहाँ राजनीतिक दलहरुले आँखा नलगाएका हुन् ! अदालतदेखि प्रशासनसम्मको बेथितिको चाङ आक्रोश बढाउन पर्याप्त छ ।
मुख्य कुरा, पछिल्ला केही वर्षमा हामीले न सार्वजनिक प्रशासनमा रोजगारी बढाउन सकेका छौँ न त निजी क्षेत्र नै सवल एवं सक्षम बनेको छ । जसले गर्दा वर्षेनी रोजगार बजारमा आउने ५ लाखमध्ये अधिकांश विदेश जान बाध्य छन् । जति छन्, उनीहरु पीडा संगालेर बसेका छन् । अझ भनौं, हामी यतिबेला आक्रोश र कुष्ठामात्र बोकेर बाँच्न अभिषप्त बनेका छौं । अझ डरलाग्दो त के भने, लोकरिझ्याइँको राजनीति गर्नेहरु त जनतामा व्याप्त निराशालाई भ¥याङ बनाइरहेका छन् । देश खत्तम भयो, बनाउने हामीले मात्र हो भन्ने भाष्य निर्माण गर्दा उत्पन्न आक्रोश ‘भष्मासुर’को कथा हुन्छ भन्ने उनीहरुले पनि बुझ्न चाहेका छैनन् । जुन दिनमा बुझ्ने छन्, त्यो बेलासम्म ढिला भइसकेको हुनसक्नेछ ।
असल संस्कार र सफलताका प्रेरणादायी कथाहरु बोकेर हिँड्दा र त्यसको प्रचार गर्दा फरक पर्दैन बरु समाजमा व्याप्त निराशा कम गराउँछ । मान्छेमा उत्प्रेरणा थप्छ । आखिर समाजमा कोही त त्यस्ता व्यक्ति छन्, जसले आशाको खेती गरिरहेका छन्÷प्रेरणापुञ्ज बनेका छन् । त्यस्तै केहीमध्ये बागलुङ-७ भीरलाकुरीकी प्रतीक्षा गौतम पनि देखिएकी छन् । सामान्य चियापसल संचालन गरी जीविकोपार्जन गर्ने मातापिताकी सन्तान उनले आफूलाई पढाइमा अब्बल सावित गरेकी छन् । त्रिभुवन विश्वविद्यालयले लिएको बीबीएको परीक्षामा उनी देशकै उत्कृष्ट बनेकी छन् । आमाबुबालाई सघाउँदै, घरको कामधन्दा नछाडी उनले पाएको सफलता आफैंमा प्रशंसनीय छ । सरकारी कोटा नहुँदा पनि निजी स्रोतमा प्राध्यापक राखेर बीबीए कक्षा संचालन गर्ने धौलागिरि बहुमुखी क्याम्पस पनि मेधावी विद्यार्थीसँगै बधाईको पात्र बनेको छ ।
विश्वविद्यालयले नै शिक्षक उपलब्ध नगराएको ठाउँमा कक्षा संचालन गर्नु फलामको च्यूरा चपाउनुसरह नै थियो । तर, क्याम्पस प्रशासनले हिम्मत ग¥यो । विद्यार्थीहरुलाई घरकै खाना खाएर पढ्ने वातावरण सिर्जना गरिदियो । अनि, प्रतीक्षाजस्ता विद्यार्थीहरुले सफलता हातपार्ने अवसर पाए । हेर्दा सानो तर नेपालको शैक्षिक सुृधारको लागि प्रतीक्षा र धौलागिरि क्याम्पस उदाहरण हुन् । यी उदाहरणबाट नीति निर्माताहरुले सिक्नुपर्छ । शिक्षा नीति बनाउनेहरुको आँखा दूरदराजका उदाहरणीय काममा पुग्नुपर्छ । नेताको दैलो चहार्ने तर शैक्षिक क्षेत्र लथालिङ्ग पार्दा आक्रोशमात्र जन्मन्छ, हामीलाई सुखद अनि प्रेरणादायी समाचारहरु चाहिएको छ । अहिले प्रतीक्षा र धौलागिरि क्याम्पसले त्यही समाचार पस्केको छ । यसलाई मनन गरौं । कम्तिमा शिक्षा क्षेत्र त सुधारौं ।
