बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शान्ति र सद्भाव कायम गरौं

शान्ति र सद्भाव कायम गरौं


  • Dhorpatan News
  • भाद्र १० २०८०, आइतबार

धरानमा देखिएको सामाजिक सद्भाव भड्काउने गतिविधिले चिन्ता बढाएको छ । धरानमा निषेधाज्ञा जारी गरिएको छ । हिन्दु धर्मसँग जोडिएका संघ÷संस्थाबाट शनिबारको लागि आह्वान गरिएको ¥याली इटहरीमै रोकिएको छ । डेंगी नियन्त्रणको लागि भन्दै जारी निषेधाज्ञाले तत्कालको संकट टारे पनि त्यसको पराकम्प तत्काल अन्त्य नहुने हो कि भन्ने चिन्ता थपिएको छ । धरानमा रहेका राजनीतिक पार्टीहरुले संयमता र सद्भावको सामूहिक आह्वान गरका छन् ।

मेयर हर्क साम्पाङ पनि यो अभियानमा सामेल भएका छन् । तर, जे कारणले विवाद चर्कियो, समुदायबीच मनोमालिन्य बढायो, त्यसको निराकरणतर्फ भने कसैबाट पनि पहल भएको छैन । हिन्दु धर्मावलम्बीको मन्दिर नजिकै चर्च बनाइएको घटनाबाट त्यहाँ धार्मिक विवाद उत्पन्न भयो । मेयर हर्क साम्पाङलाई गुहार्दा उनले यो विषयलाई गम्भीरतापूर्वक लिएनन् । सामाजिक सञ्जालमा लेखिरहने उनले एउटा समुदायको मन दुखाउने गरी अभिव्यक्ति दिए । त्यसको लगत्तै धरानमा गोरु काटेको आरोपमा दुईजना व्यक्ति पक्राउ परे । नेपालको कानूनले गौवध निषेध गरेको छ ।

कानूनलाई चुनौती दिँदै एउटा समूहलाई उत्तेजित बनाउनुलाई राम्रो मान्न सकिँदैन । कानून परिमार्जन गर्न आवश्यक छ भने परिमार्जनको पहल गर्न सकिन्छ । मध्यमार्गी बाटो त छँदै थियो । तर, यो विषयलाई पनि उचालियो । दुवै रिहा भएपछि पुनः गोवध गरेको जानकारीसहितका तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरियो । यसले पुनः द्वन्द्वको विजारोपण गरिदियो । त्यस्ता कृत्यले आफ्नो चित्त दुखाएको हिन्दु धर्मावलम्बीले गुनासो गरे । विवादको जड यत्ति नै हो । तर, यही विवादका बीच अतिवादीहरुले चलखेल गर्न थालेको महसुस हुन थालेको छ । विवादको तत्काल निरुपण भएन भने यसले नेपाली समाजको सद्भाव विथोलिने सम्भावना बढेर गएको छ ।

अतिवादलाई जसले प्रोत्साहन गरे पनि त्यसले समाजलाई भाँड्छ । हिंसालाई प्रोत्साहित गर्छ । अतः अतिवाद कुनै पनि कोणबाट क्षम्य हुँदैन । सामजिक सञ्जाल प्रयोग गरी निश्चित समूहको चित्त दुखाउनु जति अक्षम्य छ, अतिवाद पनि निन्दनीय नै छ । अहिले जे भएको छ, गलत भएको छ । धरानमा सद्भाव र सहिष्णुता फर्काउन अब सिंगो नागरिक समाज र राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने देखिएको छ । नेपाली कांग्रेसले शनिबार विज्ञप्तिमार्फत् धार्मिक सद्भाव भड्काउने गतिविधि नगर्न आग्रह गरेका छन् । स्थानीयस्तरमा राजनीतिक दलहरुबाट त्यस्तो आह्वान भइसकेको छ । यो विषम परिस्थितिमा अन्य राजनीतिक दलहरुले पनि सद्भाव कायम गराउने पहलको थालनी गर्नुपर्छ । संयमपूर्ण व्यवहारले मात्र सम्भावित संकटबाट मुक्ति पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->