निश्चित विचार तथा दर्शनमा बाँधिएको संगठन र सोही विचारबाट निर्देशित कार्यकर्ता राजनीतिक दलको विशेषता हो । राजनीतिक दलहरुसँग निश्चित विधान, कार्ययोजना तथा नीति नियमहरु हुने गर्छन् । कार्यकर्तालाई अनुशासनमा बाँध्नको लागि विभिन्न बन्धनात्मक व्यवस्थाहरु हुनु अस्वभाविक हैन । पार्टीका जिम्मेवार कार्यकर्ता पार्टी नीति नियमभन्दा बाहिर जाँदैनन र गए कारवाहीमा पर्छन् । नेपालका सबैजसो राजनीतिक दलहरुसँग कार्यकर्ताकै भरमा हतियार उठाउनेदेखि सत्तामा जनसेवासम्मका अभियान चलाएको अनुभव छ ।
राणा शाहीविरुद्ध लडेको पुरानो पार्टी नेपाली कांग्रेस, झापा विद्रोहको अनुभव बटुलेको एमाले तथा सशस्त्र विद्रोह गरेको एकिकृत माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, एकिकृत समाजवादी, संघीय समाजवादीजस्ता प्रमुख पार्टीहरुले पार्टीभित्र अनुशासनको महत्व कति छ भन्ने नबुझ्ने कुरै भएन । नेपाली कांग्रेसभन्दा पनि वामपन्थी पार्टीहरु अनुशासनको मामलामा अझ कडा थिए । पार्टी अनुशासन नमान्नेलाई ज्यान लिनेसम्मको कारवाही गरेको उदाहरण खोज्न टाढा जानु पर्दैन । भला, ज्यान लिनु आफैमा अपराध हो ।
पार्टीका कार्यकर्ता अनुशासनमा बाँधिएनन्भने अराजकता मात्र बढ्दैन, पार्टी तहसनहस हुन पुग्छ । पार्टी उदेश्यबाट विमुख हुनपुग्छ । यस मानेमा हरेक पार्टीले आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्नैपर्छ । देश र जनताप्रति जिम्मेवार बनाउनैपर्छ । तर, नेपालमा पछिल्लो समय पार्टी अनुशासन तोड्ने होडबाजी चलेजस्तो देखिएको छ । हरेक पार्टीभित्र राजनीतिक दर्शन र आदर्श क्षिण हुँदै गएको छ । पार्टीभित्र नोट हुने विचौलियाहरुको बोलबाला भएको छ । महत्वपूर्ण राजनीतिक नियुक्ति तथा भाडबण्डामा विचौलियाहरु हावी हुन थालेका छन् ।
कतिसम्म भने राजनीतिक दलभित्र रहेका विचौलियाहरुले महत्वूर्ण निर्णयहरुमा हस्तक्षेप गरिरहेका छन् । राजनीतिक दलहरु भित्र छिरेका यी ऐजेरुहरु वास्तवकै लोकतन्त्रका विरोधी हुन् । उनीहरुसँग न दर्शन, न आस्था र न दर्शन नै हुन्छ । उनीहरु आफ्नो स्वार्थ सिद्धिको लागि राजनीतिक पार्टीको बर्को ओड्छन् र आफूलाई प्रतिकूल हुनासाथ त्यो बर्को मिल्काउँछन् । यस्ता व्यक्तिहरुलाई पार्टीकै शीर्ष नेतृत्वले काखी च्याप्छन् । च्यापिरहेका छन् । जसले गर्दा राजनीतिक दलहरु जनताको नभएर अमूक व्यक्तिको हितको लागि काम गर्ने संस्था बनेका छन् ।
आफ्नो नीति विपरित काम गर्नेहरुलाई पार्टीहरुले कारवाही गर्न सकेका छैनन् ।
कार्यकर्ताहरु पार्टी निर्देशनको विपक्षमा उभिँदा देशैभर राजनीतिक दलहरुप्रति असन्तुष्तीका स्वरहरु चर्को भएको छ । राजनीतिक दलहरु कमजोर हुँदा लोकतन्त्र कमजोर हुने खतरा बढेको छ । मानिस विचारमा स्वतन्त्र हुन्छ । स्वतन्त्रता भनेको स्वच्छन्दता हैन । आफ्नो विचार पार्टी भित्र वा जनतामाझ स्थापित गर्न व्यक्ति स्वतन्त्र हुन्छ । यसको लागि उसले दल परिवर्तन वा स्वतन्त्र बस्न पाउँछ । तर, समाजको अहित हुने कार्यहरु कुनै पनि हालतमा क्षम्य हुँदैन । यस्ता गतिविधीहरुलाई विषम परिस्थितिको उपज मानेर कारवाही नगर्ने हो भने पार्टीहरु अराजकहरुको भीड मात्र बन्न सक्छ । राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई अनुशासनमा बाँध्ने कुनै कसर बाँकी राख्नु हुँदैन ।
